२० बैशाख २०८१, बिहिबार

बाँकेमा एचआइभी सङ्क्रमित बढ्दै


HIV

१३ कात्तिक, बाँके । बाँकेमा एचआइभी एड्सका बिरामी वर्षेनी बढ्दै गएका छन् । नयाँ तथ्याङ्कअनुसार जिल्लामा एक हजार १२ व्यक्ति एचआइभी सङ्क्रमित छन् ।

आर्थिक वर्ष २०७३/०७४ को असार मसान्तसम्म बाँकेमा ९६२ जना एचआइभी सङ्क्रमित रहेका थिए । त्यसकै कारण अहिलेसम्म बाँकेमा १२८ जनाको मृत्यु भएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका हरि तिवारीले जानकारी दिनुभयो ।

कार्यालयका अनुसार आव २०७४/०७५ मा ५६५ पुरुष, ४३४ महिला र १३ जना तेस्रो लिङ्गी गरी जम्मा एक हजार १२ जना एचआइभी सङ्क्रमित रहेका छन् । एआरटी खानेको सङ्ख्या ४६० जना रहेको उहाँले बताउनुभयो । गत वर्ष जिल्लामा १३ तेस्रो लिङ्गी, ५३५ पुरुष र ४१४ महिलालाई एचआइभी सङ्क्रमण भएको थियो । बाँकेमा २६ बालबालिकामा समेत सङ्क्रमण भएको तथ्याङ्कले देखाएको छ । असुरक्षित यौनसम्पर्क र सुई, सिरिञ्जबाट लागुऔषध प्रयोगकर्ता एचआइभीको उच्च जोखिममा रहेका छन् । कामका लागि विदेश गएकाबाट रोग सरेको भेटिएको छ । समाजबाट अपहेलित हुने डरका कारण खुल्न नसकेका कतिपय सङ्क्रमित एआरटी सेवाबाट वञ्चित भइरहेको बताइएको छ ।

एक पटक एआरटी सेवा लिएपछि जीवनभर लिइरहनुपर्ने भएकाले केही सङ्क्रमितले सेवा लिन नमानेको तिवारीको भनाइ छ । एआरटी र पिएमटीसिटी सेवा लिन छुटेका सङ्क्रमितलाई समेट्न सरकारले विशेष नीति अवलम्बन गरेको बताउँदै सरकारले ९०–९०–९० नीतिलाई अगाडि बढाएको छ । सन् २०२० सम्म उपचारबाट वञ्चित ९० प्रतिशतलाई सेवा प्रदान गर्ने, ९० प्रतिशत सर्वसाधारणको एचआइभी जाँच गर्ने र ९० प्रतिशतलाई सङ्क्रमणको बारेमा जानकारी दिने नीति सरकारले अघि सारेको छ । भेरी अञ्चल अस्पतालले एचआइभी सङ्क्रमितलाई निःशुल्क उपचार सेवा दिएको छ ।

विशेषगरी भारतबाट काम गरेर फर्किने नेपालीमा धेरै एचआइभी सङ्क्रमण देखिएकाले सिमानामा सचेतना फैलाउने अभियान सञ्चालन गरिएको र विभिन्न गैरसरकारी संस्थामार्फत लागुऔषध प्रयोगकर्तालाई पनि सचेत पार्ने तथा औषधि नियमित सेवन गराउने अभियान चलाइएको साविकको जनस्वास्थ्य कार्यालय बाँकेले बताएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !