२० बैशाख २०८१, बिहिबार

क्याल्सियम कमी हुँदा देखिन्छन् यस्ता लक्षण


cyalciam

कडा र स्वस्थ हड्डी बनाउन क्याल्सियमको महत्वपूर्ण भूमिका हुन्छ। हरिया सागसब्जी, दूध, दही, बदाम, चिज लगायतका खानेकुराबाट हामीले क्याल्सियम पाउँछौँ । बढ्दो उमेरका किशोर–किशोरीलाई क्याल्सियमको बढी आवश्यकता पर्छ । तर, क्याल्सियम पाउने खानेकुरामा ध्यान नदिँदा विशेषगरी १४ देखि २० वर्ष उमेरका किशोर–किशोरीमा विभिन्न समस्यामा देखिने गर्छ । शरीरमा क्यल्सियमको अभावका केही लक्षण यस्ता छन्ः

  • मांशपेशीको दुखाइ

शरीरमा पर्याप्त मात्रमा हेमोग्लोबिन हुँदा र प्रशस्त पानी खाँदा पनि बारम्बार मांशपेशी दुख्ने समस्या छ भने शरीरमा क्याल्सियमको मात्रा कम भएको बुझ्नुपर्छ । तिघ्रा र पाखुराको मांशपेशी नचल्नु न्यून क्याल्सियमको संंकेत हो । तसर्थ शरीर बारम्बार दुख्छ भने क्याल्सियमको अभाव हुन सक्ने भएकाले तत्कालै चिकित्सकको परामर्श लिनुपर्छ ।

  • हड्डी कसिलो नहुनु

कहिलेकाहीँ कुनै हड्डी (विशेषगरी घुँडा र कुइनोको तल्लो हड्डी) हल्लिने तथा घुम्ने गर्छ । यो क्याल्सियमको अभावले हुन सक्छ । मानिस बृद्ध भए पनि हड्डीलाई बलियो बनाउन क्याल्सियमको आवश्यकता पर्छ । शरीरको धातुलाई खनिज पर्दाथमा परिवर्तन गर्नका लागि क्याल्सियमको भूमिका हुन्छ । तसर्थ, न्यून क्याल्सियमले हड्डी र मासुलाई एकअर्कामा कसिलो बनाउने प्रक्रियामा असर पुग्छ । यस्तोमा हड्डीका तन्तुहरु नास हुनुका साथै हड्डी भाँचिन सक्छ ।

  • नङ भाँचिनु/कमजोर हुनु

हड्डीलाई जस्तै नङलाई बलियो बनाउन पनि क्याल्सियम चाहिन्छ । क्याल्सियमको अभावमा नङ अत्यधिक कमजोर भई भाँच्चिन थाल्छ । नङ निकै कमजोर वा बारम्बार आफैँ भाँचिन्छ भने शरीरमा क्यल्सियमको आवश्यकता छ भन्ने बुझ्नुपर्छ ।

  • दाँत दुख्नु

शरीरमा रहेको क्याल्सियममध्ये ९९ प्रतिशत क्याल्सियम दाँत र हड्डीमा हुन्छ । क्याल्सियम तह न्यून भएमा दाँत दुख्ने, किराले खाने हुन्छ । दाँत दुख्नुको अतिरिक्त दाँतको इनामेल हराउनु, दाँत वरपरका हड्डी कुहिनु र गिजासम्बन्धी अन्य रोग लाग्नु (पेरिडोन्टल डिजिज) क्याल्सियम अभावका लक्षण हुन् । दाँत सिरिङ्ग हुने वा सबै बंगारा एकैपटक दुख्ने लगायतका समस्या पनि क्याल्सियमकै अभावले हुन सक्छ । यस्तो लक्षण देखिएमा क्याल्सियमयुक्त खानेकुरा प्रसस्त खानुपर्छ। त्यस्तै बालबालिकामा समयमै दाँत नपलाउने, पलाएका पनि निकै कमजोर हुने लक्षण देखिए क्याल्सियमको अभाव भनेर बुझ्न सकिन्छ ।

  • महिनावारीमा पीडा

महिनावारी भएको समयमा अत्यधिक शरीर तथा मांशपेशी दुख्छ भने त्यो क्याल्सियमको अभाव लक्षण हुन सक्छ । कुन क्याल्सियम दिँदा यस्तो पीडा रोक्न सकिन्छ भन्नेबारे मेडिकल साइन्समा अझै स्पष्ट भने भएको छैन । अनिमिति रुपमा महिनाबारी र अत्यधिक रक्तस्राब हुनु पनि क्याल्सियम कमीको लक्षणभित्र पर्दछ । भ्रुण रहने स्थानको सामान्य विकास र अण्डाशयको हर्मनको नियमित विकासका लागि पनि क्याल्सियम नभई नहुने खनिज पदार्थ हो ।

  • बारम्बार भाइरस र ब्याक्टेरियाजन्य रोगले समात्नु

शरीरलाई स्वस्थ राख्न र रोग प्रतिरोधात्मक प्रणालीका लागि पनि क्याल्सियम चाहिन्छ । बारम्बार स्वासप्रस्वाससँग सम्बन्धी समस्या आउनु र आन्द्रामा संक्रमण देखिनु पनि क्याल्सियमकै अभावले हुन सक्छ । क्याल्सियमको अभाव हुने मानिसलाई भाइरस, ब्याक्टेरिया र अन्य परिजीवीले चाँडै आक्रमण गर्छ । तसर्थ, बारम्बार भाइरस, ब्याक्टेरियाजन्य रोगको संक्रमणबाट पीडित हुनेले क्याल्सियमको अभाव हो कि भनेर चासो दिनुपर्छ ।

  • कमजोरी

हड्डी र मांशपेशीको पीडाले क्याल्सियम अभाव भएका मानिसलाई सामान्यतया कमजोर बनाउँछ । डर, त्रास, पीडा जस्ता मानसिक कमजोरी र मानसिक अस्वस्थता पनि क्याल्सिमयसँग सम्बन्धित छ । क्याल्सियमको अभावमा यस्ता समस्या आउन सक्छन् । अनुहार पहेँलो र थकित देखिनु तथा जतिखेर पनि अल्छी महसुस हुनुको कारण पनि क्याल्सियम अभाव हुन सक्छ । बच्चा जन्मिएपछि महिलामा क्याल्सियमको अभाव हुने गर्छ, जसका कारण उनीहरुले कमजोर र थकित महसुस गर्छन् । क्याल्सिमयकै अभावमा सुत्केरी महिलाको दूध नआउने, एकाग्र भएर सोच्न नसक्ने र अत्यधिक थकित समसुस हुने गर्छन् । गर्भवती महिलालाई एक सय देखि एक सय २० एमजी क्याल्सियम दैनिक खुवाउनुपर्छ ।एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !