२४ बैशाख २०८१, सोमबार

हिजो छुटेका बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै


भिटामिन ‘ए’

काठमाडौँ । सरकारले हिजो छुटेका बालबालिकालाई आज पनि देशभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । बालबालिकालाई हिजोदेखि देशभर शुरु भएको भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने कार्यक्रम आज पनि हुने भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो छुटेका बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन निर्देशन दिएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय भिटामिन कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकाकालाई जुकाको औषधि खुवाउदै छ ।

भिटामिन ‘ए’ क्याप्सुल २७ लाख बालबालिका तथा जुकाको औषधि २४ लाख बालबालिकालाई खुवाइने परिवार कल्याण महाशाखा, पोषण शाखा प्रमुख लिलाविक्रम थापाले जानकारी दिए ।

भिटामिन ‘ए’ क्याप्सुल सन् १९९३ देखि र भिटामिन ‘ए’सँगै जुकाको औषधि सन् २००१ देखि खुवाउन थालिएको हो । उनका अनुसार भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिने छ । उक्त कार्यक्रमका लागि रु ६ करोड ७२ लाख बजेट बिनियोजन गरिएको उनले बताए ।

वर्षमा दुई पटक पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिन्छ । मन्त्रालयले नजिकैको वितरण केन्द्रमा गई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकलाई आग्रह गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !