२२ बैशाख २०८१, शनिबार

झापामा आजदेखि हात्तीपाइले रोगविरुद्धको अभियान शुरु


हात्तीपाइले रोग Elephantiasis in flat cartoon, vector

बनियानी । झापामा आजदेखि हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान शुरु भएको छ । आजदेखि सुरु भएको अभियान एक सातासम्म चल्ने छ । यस वर्ष झापामा साढे आठ लाखलाई हात्तीपाइलेविरुद्धको औषधि सेवन गराइँदै छ ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईंले जिल्लामा नौ लाख ३५ जनामध्ये आठ लाख ४३ हजारलाई औषधि सेवन गराइने जानकारी दिए । प्रदेश नं १ मा झापा र मोरङमा मात्र यो अभियान सुरु भएको छ । झापामा दुई प्रकारका र मोरङमा तीन प्रकारका औषधि सेवन गराइने फोकल पर्सन चम्लागाईंले बताए ।

अभियानअन्तर्गत स्वास्थ्यकर्मी र स्वयम्सेवक ६/६ सय परिचालन गरिएको छ भने उनीहरुमार्फत हात्तीपाइले रोगविरुद्धको औषधि (डीइसी) २० लाख ७२ हजार १४ डोज र एल्बेन्डाजोल नौ लाख २० हजार ८९५ डोज वितरण गरिनेछ ।

औषधि खुवाउने बेलामा छुटेका तथा रोगी व्यक्ति रोग निको भएपछि सम्बन्धित स्वास्थ्य संस्थामा गई औषधि सेवन गर्न सक्नेछन् । स्वास्थ्य कार्यालय झापाका प्रमुख योगराज घिमिरेले सरकारले हात्तीपाइले रोग निवारणका लागि बर्सेनि ठूलो धनराशि खर्चिदै आएको बताए ।

झापामा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन दर पनि बढ्दै गएको छ । सन् २०१२ देखि हात्तीपाइले रोगविरुद्धको अभियान सुरु भएयता औषधि सेवन दर बढ्नुका साथै रोगीको सङ्ख्यामा पनि कमी आएको छ । झापामा २०१२ मा जिल्लामा ५५.५९ प्रतिशतले औषधि सेवन गरेका थिए भने २०२१ मा ८५ प्रतिशतले औषधि सेवन गरेको स्वास्थ्य कार्यालय झापाको तथ्याङ्क छ ।

स्वास्थ्य कार्यालय झापाले औषधि सेवनलाई शतप्रतिशतमा पुर्याउन लक्ष्य लिएको छ । चालु आर्थिक वर्ष २०७८/०७९ मा २९२ मा हात्तीपाइलेका नयाँ रोगी फेला परेका छन् । जसमा हाइड्रोसिल १४६, खुट्टा सुन्निएका १४० र हात र स्तन सुन्निएका छ जना रहेका छन् ।

गत आव २०७६/०७७ मा जिल्लामा ३५१ मा हात्तीपाइले देखिएको छ । झापामा २४ प्रतिशत सङ्क्रमण दर रहेकोमा अहिले घटेर २.३३ जनामा झरेको छ । हात्तीपाइले लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । यसले हातखुट्टा सुनिने, अण्डकोष सुनिने गर्दछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !