१५ जेष्ठ २०८१, मंगलबार

संसदीय उपसमितिद्वारा खरिपाटीको आइसोलेसन र थिमिको अस्पताल अनुगमन


संसदीय उपसमिति

भक्तपुर, २६ भदौ । सङ्घीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिद्वारा गठित उपसमितिले भक्तपुरको खरिपाटीस्थित कोरोना सङ्क्रमितलाई राखेको आइसोलेसन सेन्टर र मध्यपुरथिमिको नेपाल कोरिया नगरपालिका मैत्री अस्पतालको अनुगमन गरेको छ ।

उपसमितिका संयोजक जीवनराम श्रेष्ठको नेतृत्वमा आएको टोलीले चाँगुनारायण नगरपालिका–७ स्थित विद्युत प्राधिकरणमा रहेको आइसोलेसनको बिहिबार अनुगमन गरेको हो । कोभिड–१९ को सम्बन्धमा सरकारले गरेका कामको प्रभावकारिता अनुगमन गर्न गठित उपसमितिले भक्तपुरको खरिपाटीस्थित आइसोलेसनको अनुगमन गर्दै यहाँ रहेका कोरोना सङ्क्रमितको अवस्था, खानपान, सरसफाइ र उपचारबारे जानकारी लिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनुभयो ।

खरिपाटीको आइसोलेसनमा बिरामीको हेरचाह तथा सेवा सरकारले तोकेको मापदण्ड अनुरूपनै भइरहेको पाइएको अनुगमन उपसमितिका संयोजक श्रेष्ठले बताउनुभयो । अनुगमन टोलीलाई शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका प्रमुख डा प्रेमराज ज्ञवालीले कोरोना ‘हब’को रूपमा भक्तपुर अस्पताल सञ्चालन भइरहेको जानकारी गराउँदै अस्पताललाई पिसीआर मेसिन उपलब्ध गराइदिन अनुरोध गर्नुभयो ।

अनुगमन टोलीलाई भक्तपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा सुमित्रा गौतमले यहाँको आइसोलेसनमा भइरहेको गतिविधि र व्यवस्थापनबारे जानकारी दिनुभएको थियो । उहाँले खरिपाटीमा आइसोलेसन सेन्टरको उचित व्यवस्थापन भए पनि कोरोना भाइरस परीक्षणका लागि पिसीआर मेसिन नहुँदा नतिजाका लागि धेरै कुर्नु पर्ने भएकाले उक्त मेसिनको व्यवस्था गरिदिन टोलीलाई आग्रह गर्नुभयो ।

टोलीले मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले तयार पारेको आइसोलेसन, भेन्टिलेटरसहितको आइसियु र पिसीआर परीक्षण गर्ने ल्याबको अनुगमन गरेको थियो । टोलीलाई नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले कोरोना सङ्क्रमण रोक्न र सङ्क्रमितको उपचारका लागि नगरपालिकाले गरेको तयारीका बारेमा जानकारी गराउनुभएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !