६ बैशाख २०८१, बिहिबार

भरतपुर अस्पतालका सेवा शुरु


भरतपुर अस्पताल

चितवन, ५ भदौ । चिकित्सक, स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएपछि प्रभावित भएको भरतपुर अस्पतालको सेवा सञ्चालनमा आएको छ । अस्पतालका ५ चिकित्सक, २ स्वास्थ्यकर्मी र १ जना सहयोगीमा कोरोना सङ्क्रमण भएपछि पाँच दिनदेखि प्रभावित सेवा बिहीबार साँझदेखि सञ्चालनमा आएको हो ।

अस्पतालले आकस्मिक सेवा मात्र दिँदा बिरामी प्रभावित भएका थिए । अस्पतालका सेवा सञ्चालन भएसँगै बिरामी आउन थालेको अस्पतालका स्त्री तथा प्रसुतिरोग विशेषज्ञ डा. रामप्रसाद सापकोटाले बताउनुभयो । गएराति मात्र ३ प्रसुतीका बिरामीमा समस्या आएपछि अस्पतालबाट सेवा उपलब्ध गराएको उहाँको भनाइ छ । निजी अस्पतालले नहेरेका र आर्थिक कारणले अन्य अस्पताल जान नसकेका बिरामी सरकारी अस्पताल आउने थालेको उहाँले बताउनुभयो । सापकोटाले भन्नुभयो, “हाम्रो विभागको विभागीय प्रमुख बाहेक सबैको कोरोना नेगेटिभ देखिए पछि हामी उपचारमा जुटेका छाँै ।”

बिरामीमा सङ्क्रमण भएमा राख्नका लागि ठाउँ व्यवस्थित गर्नुपर्ने उहाँको भनाइ छ । अस्पतालका अधिकांश चिकित्सक कर्मचारीको कोरोना परीक्षण नेगेटिभ आएको सूचना अधिकारी लिलाधर पौडेलले बताउनुभयो । केहिको मात्र रिपोर्ट आउन बाँकी रहेको र भोलि सम्ममा नतिजा आउने उहाँको भनाइ छ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले अस्पतालका अधिकांश सेवा शुरु भएको बताउनुभयो । सघन उपचार कक्षमा शुरु भैनसके पनि निर्मलीकरण भै सकेकाले सब सञ्चालान गर्न सकीने उहाँले बताउनुभयो ।

हाल जिल्लाका अधिकांश निजी अस्पताल र मेडिकल कलेजमा पनि कोरोना सङ्क्रमीत उपचार गर्न थालिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशिका पूर्ण पालना गरेर सङ्क्रमितको सरकारी अस्पतालमा उपचार भएकाले बिरामीले डराउनुपर्ने अवस्था नरहेको अधिकारीको भनाइ छ । भरतपुर अस्पतालमा चितवन सहीत १९ जिल्लाका बिरामी उपचारका लागि आउँछन् । यो अस्पताल प्रसुतीका लागि अग्रणी मानिन्छ । वार्षिक १३ हजार हाराहारी प्रसुतीका लागि आउने गरेको तथ्याङ्क छ । बीमाको सुबिधासमेत यहाँ भएकाले अस्पतालबन्द हुदाँ बिरामी प्रभावित भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !