काठमाडौँ । सरकार र अनशनरत डा. गोविन्द केसीबीच छ बुँदे सहमति भएको छ । सहमतिसँगै गएराति डा केसीले आफ्नो २५औँ सत्याग्रह अन्त्य गरेका छन् ।
पटकपटकको छलफलपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गएराति त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर डा. केसीसँग सहमति गरी अनशन तोडाएका हुन् ।
डा. केसीको अनशन तोडिएसँगै मन्त्री पोखरेलले अब यो नै डा. केसीको अन्तिम अनशन रहेको बताए । उनले भने, “यो डा केसीको अन्तिम अनशन हो । उनीसँग भएका सहमतिअनुसार कार्यान्वयन प्रक्रिया अघि बढ्छन् ।”
डा. केसी र सरकारबीच भएको सहमतिमा डा. केसी, मन्त्री पोखरेल, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा डा. जगदीश अग्रवाल, सांसद पुकार बम र नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा बद्री रिजालले हस्ताक्षर गरेका छन् ।











