१४ बैशाख २०८१, शुक्रबार

सात वर्षसम्म अस्पताल भवन अधुरैः सेवा प्रवाहमा समस्या


अस्पताल

गलकोट, २ भदौ । धौलागिरि अस्पताल बागलुङको ‘सी’ ब्लक निर्माण शुरु गरेको सात वर्ष बित्दासमेत सम्पन्न हुन सकेको छैन ।

विसं २०७० असारमा तीन वर्षमा निर्माण सक्ने गरी शुरु भएको ४० कोठे अस्पताल भवन दुई पटक म्याद थप्दासमेत सम्पन्न नहुँदा अस्पताललाई गुणस्तरीय सेवा दिन असहज भएको छ ।

तत्कालीन शहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङले २०६४ सालमा धौलागिरि अस्पतालमा सुविधा सम्पन्न भवन निर्माण गर्नका लागि ‘ए’, ‘बी’ र ‘सी’ खण्डमा विभाजन गरी छुट्टाछुट्टै मितिमा छुट्टाछुट्टै ठेक्का सम्झौता गरिएको थियो । विसं २०६४ मा शुरु भएको ‘ए’ ब्लक र विसं २०६६ मा शुरु भएको ‘बी’ निर्माण सम्पन्न भएर हस्तान्तरण भई सेवा प्रदान गरे पनि ‘सी’ ब्लक भने निर्माण शुरु भएको सात वर्ष बित्दासमेत सम्पन्न भएको छैन । अस्पतालको ‘ए’ ब्लक समयमै निर्माण सम्पन्न भए पनि ‘बी’ ब्लक भने दश वर्षमा मात्रै निर्माण सम्पन्न भएको थियो ।

ठेकेदार कम्पनीको उदासिनताका कारण अस्पताल भवनमा ढिलाइ भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरले बताउनुभयो । उहाँले तत्कालै ‘सी’ ब्लक भवन निर्माण सम्पन्न गरी सेवा प्रदान गर्नका लागि आवश्यक पहल भए पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो । हाल १०० श्यया क्षमताको अस्पताललाई गण्डकी प्रदेश सरकारले २०० श्यया क्षमताको उपप्रादेशिक अस्पताल बनाउने घोषणा गरे पनि अस्पतलामा अझै भौतिक संरचनाको अभाव रहेको छ ।

विसं २०७० असार ३ मा तीन वर्षमा निर्माण सक्ने गरी आशिष÷मिलिनियम र भीम ज्योति जेभीले भवन निर्माणका लागि भ्याटबाहेक रु १० करोड छ लाख ६६ हजार ६५५ लाखमा अस्पतालको ‘सी’ ब्लक ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीले विभिन्न बाहनामा समयमै काम सम्पन्न नगरेको शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वय एकाइ कास्कीका कार्यालय प्रमुख झपडबहादुर थापाले जानकारी दिनुभयो । थापाले पछिल्लो समय भवन निर्माणलाई गति दिएको निर्माण कम्पनीले जानकारी गराएपनि कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण रोकिएको बताउनुभयो ।

कार्यालय प्रमुख थापाका अनुसार २०७० असार ३ गते तीन वर्षका लागि निर्माण गर्ने सम्झौता भए पनि भूकम्प, नाकाबन्दीजस्ता कारण देखाउँदै १८ महिना र पछि थप ३५ महिनाका लागि म्याद थप गरिएको छ । कोरोना सङ्कट नटर्दासम्म आगमी अन्तिम म्याद रहेको कात्तिक मसान्तमा समेत भवन निर्माण सम्पन्न हुनेमा आशङ्का रहेको छ ।

सङ्घीय आयोजना कार्यान्वय एकाइ कास्कीका अनुसार धौलागिरि अस्पतालको ‘सी’ ब्लकको ३० प्रतिशत आर्थिक र करिब ६५ प्रतिशत भौतिक प्रगति रहेको छ । नागरिकको स्वास्थ्य सेवालाई थप सहज, प्रभावकारी र चुस्त बनाउनका लागि अस्पतामा भौतिक संरचना आवश्यक पर्ने भए पनि समयमै भवन निर्माण नहुँदा समस्या हुँदै आएको छ । हाल कोरोना सङ्क्रमितको उपचार गराई राखेको अस्पतालमा भवन अभावमा आइसोलेसन कक्षसमेत विस्तार गर्न नसकिएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । समयमै अस्पतालको ‘सी’ब्लक भवन सम्पन्न नहुँदा धौलागिरिवासी सुविधा सम्पन्न अस्पताल भवनबाट गुणस्तरीय सेवा लिने अवसरबाट वञ्चित बनेका छन् ।

अस्पताल भवनको डिजाइन गर्दा तल्लो भाग जग (फाउण्डेसन) नमिलेको र समयमानै विद्युत्को हाइटेन्सन लाइन विस्थापित नहुँदा निर्माण सम्पन्न गर्न समय लागेको निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि शीतलचन्द्र ढकालले बताउनुभयो । उहाँले हाल अस्पताल भवन निर्माण गर्न पठाइएको १४ कामदारलाई कोरोना पुष्टि भएर धौलागिरि अस्पतालमा उपचारत रहेका कारण समस्या भएको जानकारी दिनुभयो । अस्पतालको सुविधा सम्पन्न ‘बी’ ब्लकको भवन निर्माण भएसँगै बिरामीलाई राहत भए पनि अस्पतालका सम्पूर्ण सेवा प्रदान गर्न ‘सी’ ब्लक अत्यावश्यक हुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !