२० बैशाख २०८१, बिहिबार

के हो हेपाटाइटिस रोग ?


हेपाटाइटिस रोग

काठमाडौँ । हेपाटाइटिस रोग कलेजोमा सुजन वा सुन्निनु हो जुन विभिन्न प्रकारका सङ्क्रामक भाइरस र गैरसङ्क्रामक कारणले स्वास्थ्यमा समस्या निम्त्याउने गर्छ । हेपाटाइटिस मुख्यतः पाँच प्रकारका हुने गर्छन् ।

कलेजोरोग विशेषज्ञ डा दिलीप शर्माका अनुसार यी सबैले कलेजोको रोग निम्त्याउने भए पनि सर्ने तरिका, रोगकोे गम्भीरता, भौगोलिक वितरण र रोकथामको विधि फरक हुने गर्छ । हेपाटाइटिस बी र सीले दीर्घकालीन समस्या निम्त्याउँछ । कलेजो सिरोसिस, कलेजो क्यान्सर र भाइरल हेपाटाइटिसबाट मृत्युसम्मको कारण हेपाटाइटिस बी र सी रहेको छ ।

भाइरल हेपाटाइटिस साइलेन्ट किलर पनि भनिन्छ । हेपाटाइटिस बी र सीका अधिकांश बिरामीमा लक्षण देखिँदैन, लक्षण नदेखिँदा ढिला उपचार गराउने कारण क्यान्सर लाग्ने हुन्छ । हेपाटाइटिस बी र सी एउटा समूहमा राखिन्छ । रगत र रगतजन्य पदार्थबाट सर्ने यो प्रकारको हेपाटाइटिस शारिरीक सङ्क्रमणबाट समेत सर्दछ । सीको सङ्क्रमण धेरै लागुपदार्थ दुव्र्यसनीमा फस्नेमा देखिने गरेको छ । हेपाटाइटिस बी सङ्क्रमित आमाबाट बच्चामा सर्ने हुन्छ । परिवार र समुदायमा बढी देखिने गर्दछ ।

चिकित्सकका अनुसार भाइरल हेपाटाइटिस सङ्क्रमण मौन हुने गर्छ । हेपाटाइटिस ए र ‘इ’भन्दा बी र सीकोे सङ्क्रमण घातक हुने गरेको छ । विश्व स्वास्थ्य सङ्गठन ( डब्लुएचओ)का अनुसार विश्वभर यी दुई प्रकारका हेपाटाइटिसबाट हरेक दिन झन्डै आठ हजार नयाँ सङ्क्रमित थपिन्छन् । यसबाट प्रत्येक वर्ष १० लाखभन्दा बढी हेपाटाइटिसका कारण मृत्यु हुने अनुमान डब्लुएचओको अनुमान छ ।

विश्व स्वास्थ्य सङ्गठनको विश्वव्यापी हेपाटाइटिस रणनीतिअनुसार सदस्य राष्ट्रमा सन् २०३० सम्म नयाँ हेपाटाइटिस सङ्क्रमण ९० प्रतिशत र मृत्युलाई ६५ प्रतिशतले घटाउने लक्ष्य छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !