२० बैशाख २०८१, बिहिबार

जनकपुर उपमहानगरपालिका र क्षीरेश्वरनाथ नगरपालिकामा कफ्र्यु


जनकपुर

धनुषा, २० साउन । कोरोनाको उच्च जोखिम भएपछि जिल्ला सुरक्षा समिति धनुषाले जनकपुरधाम उपमहानगरपालिका र क्षीरेश्वरनाथ नगरपालिकाभित्र एक हप्ताका लागि निषेधाज्ञा (कफ्र्युु) जारी गर्ने निर्णय गरेको छ । आज रातिदेखि १२ बजेदेखि एक हप्तासम्मका लागि निषेधाज्ञा जारी गर्नेे निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

प्रजिअ भट्टराईले निषेधाज्ञाको समयमा तोकिएको बाहेक कोही पनि बाहिर निस्कन नपाउनेसमेत जानकारी दिनुभयो । उहाँले कोरोना सङ्क्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको सङ्क्रमण फैलिन नदिनका लागि जिल्लाभरि प्रतिकूल प्रभाव पर्नसक्ने कुनै किसिमको गतिविधि हुन र गर्न नदिन नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरु बाहेकका अन्य सबै सेवा र स्थलहरु सोमबार रातिदेखि एक हप्तासम्मका बन्द गरिएको बताउनुभयो ।

उहाँले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णयअनुसार पूर्वमा कपिलेश्वर बसपार्क, उत्तरमा क्षीरेश्वरनाथ नगरपालिकाको जनकपुर ढल्केवर सडक खण्डमा पर्ने औरही खोलाको पुल, पश्चिममा कुर्था जाने बाटो र बसबिट्टी जाने बाटो (दूधमती पुल), दक्षिणमा बनौली मोड, बसहिया रोडको सोनासती मन्दिर, प्रदेशसभा जाने मोडबीचको जनकपुरधाम उपमहानगरपालिका र क्षीरेश्वरनाथ नगरपालिका क्षेत्रमा आज राति १२ बजेदेखि साउन २५ गते आइतबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको जानकारी दिनुभयो ।

प्रशासनले औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी सेवा, मालसामान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डारण र वितरण, फोहोरमैला सङ्कलन तथा ढुवानी, विद्युत् सेवा, कृषिजन्य कार्य तथा कृषि तथा पशुपक्षीजन्य उत्पादन, ढुवानीमा प्रयोग हुने साधन, वर्कसपलाई भने अत्यावश्यक सेवा राखी कार्य गर्न उल्लेख गरेको छ । यस आदेशलाई उल्लङ्घन गर्ने व्यक्तिलाई कानून बमोजिम कारवाही गर्ने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !