१२ बैशाख २०८१, बुधबार

चियाको वारेमा रोचक जानकारी


चिया
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

चियाको स्वाद नलिने शायद को होला ? आजकाल कालो चिया खानेको संख्या ह्वात्तै बढेको देखिन्छ । यसको ठोस कारण हो, सेतो चियाको प्रयोग बढी गर्नाले पत्थरी बन्ने कुराको जानकारी हुनु । स्वास्थ्यको दृष्टिकोणले सेतो चिया भन्दा रातो चियाले धेरै फाइदा हुन्छ ।

दूध चिया भन्दा कालो चिया फाइदाजनक हुने गर्छ । जाडो होस् या गर्मी को समय, चिया त अनिवार्य नै जस्तो भइहाल्यो । तर, चियामा सबैको रोजाई एकै हुँदैन । कोहि कालो चियाका त कोहि दूध चिया मन पराउँछन् । मेरो रोजाईमा पनि कालो चिया नै बढी मन पर्छ ।

अझ स्वादका कारण निकै कमले मात्र कालो चियाको प्रयोग गर्छन् । कालो चियामा भएको एन्टिअक्सिडेन्ट्सले शरीरमा भएको बोसोलाई कम गर्ने काम गर्छ । जसको परिणाम मानिस मोटोपनको शिकार हुन पाउँदैन । तर, चियामा राखेको दूधले भने ‘एन्टिअक्सिडेन्ट्स’को मात्रालाई घटाउने काम गर्छ ।

कालो चियाको प्रयोगले छिटो भोक लाग्ने समस्यबाट मुक्ति दिलाउनुका साथै शरीरमा शक्ति समेत पैदा गर्छ । जसले मानिसलाई लामो समय क्रियाशील रहनका लागि सहयोग पुर्‍याउँछ । कतिपय अवस्थामा दिनहुँ पिउने चिया हाम्रो स्वास्थ्यको लागि कति खतरनाक हुन्छ भन्ने कुरा हामीलाई थाहा नहुन सक्छ ।

आजकाल चिया तातो तातो नभए के चिया पिउने भन्ने कुरा सबैको छ तर हालै संयुक्त राष्ट्र संघको क्यान्सरसँग सम्बन्धित इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सरले गरेको अनुसन्धानमा धेरै तातो चिया पिउनु स्वास्थ्यको लागि निकै खराब हुने बताएको छ ।

अनुसन्धानमा तातो चिया पिउदा पिउने व्यक्तिको खाना नलीमा क्षति पुग्ने बताइएको छ । यो अनुसन्धान ती देशहरुमा गरिएको थियो, जँहाका मानिसहरु तातो चिया बढी पिउने गर्दछन् । अनुसन्धानका अनुसार ६५ डिग्री सेल्सियस भन्दा बढी गरम पदार्थ पिउदा खाना नलीमा असर गर्दछ, जसको कारण खाना नलीमा क्यान्सर हुन् सक्ने अनुसन्धानले देखाएको छ ।

तातो चिया नपिउदासम्म मजा नआउने चिया पारखीको सोच छ । चाहे जेहोस तातो पेय पदार्थ होस या खाना खाँदा स्वास्थ्यलाई ध्यान दिने बानी बसालौ भन्ने हाम्रो सुझाव छ । कुनै पनि तातो चिजले छाला डडाउन सक्छ । हामीले तातो-तातो पदार्थको सेवन गर्दा पहिले जिब्रोलाई हेर्छौं तर भोजन नलिलाई हेर्दैनौ यो कमजोरीलाई हामीले हटाउनुपर्छ ।

चियाका अन्य फाइदाहरू

१. कालो चियामा भएको एन्टिअक्सिडेन्ट्सले शरीरमा भएको बोसोलाई कम गर्ने काम गर्छ । जसको परिणाम मानिस मोटोपनको सिकार हुन पाउँदैन ।

२. कालो चियाले पाचन प्रणालीलाइ समेत काम गर्छ । जसका कारण मानिस पेटको रोग लाग्नबाट बच्न सक्छ ।

३. नियमित रूपमा कालो चिया पिउँदा तौल र पाचन प्रणाली व्यवस्थित बन्छ । जसका कारण मानिसलाई ‘हर्ट स्ट्रोक’को खतरा कम हुन्छ ।

४. कतिपय मानिसमा रोग प्रतिरोधी क्षमता कम भएका कारण छोटो-छोटो समयमा बिरामी हुने समस्याले दिक्क हुन्छ । यस्ता मानिसलाई पनि कालो चिया हितकर हुन्छ ।

५. कालो चियाले शरीरमा ‘थैफ्लोविन्स’ अर्थात् क्यान्सर बनाउन सक्ने कोशिकालाई हटाउने काम गर्छ । यस्ता कोशिकाको निर्मूलले विशेष गरी मानिसमा ‘ओवेरियन क्यान्सर’बाट जोगाउने गर्छ ।

नोट : चिया पिउदा होस् या जुनसुकै बस्तु सेवन गर्दा तातो सेवन नगर्नुहोस् यसले क्यान्सर हुन सक्छ ।

यो पनि पढनुहोस्

स्वास्थ्य रहन अपनाउनुपर्ने केहि उपायहरु

कस्तो सागसब्जी खाने ? यस्तो छ डा. राम बहादुर बोहराको सुझाव

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !