१९ बैशाख २०८१, बुधबार

प्रम देउवासँग अफगानी राष्ट्रपति, पाकिस्तानी र बंगलादेशका प्रमबीच भेटवार्ता


असोज ६, न्यूयोर्क | संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउबाले बिहिबार विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसँग भेटवार्ता शुरु गर्नुभएको छ ।

सो क्रममा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) अन्तर्गत अफगानिस्तानका राष्ट्रपति तथा पाकिस्तान र बंगलादेशका प्रधानमन्त्रीसँग प्रधानमन्त्री देउवाले छुट्टाछुट्टै भेटवार्ता गर्नुभयो ।

प्रधानमन्त्री देउवाले बंगलादेशका प्रधानमन्त्री शेख हसिना र पाकिस्तानका प्रधानमन्त्री सहिद खान अब्बासीसँग महासभास्थलमा छुट्टाछुट्टै भेटवार्ता गर्नुभयो । दुवै भेटमा दुई देशबीचको आपसी सम्बन्ध, चासो र सहयोगका विविध पक्षबारे कुराकानी भएको जनाइएको छ । भेटमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, न्यूयोर्कस्थित राष्ट्र संघको स्थायी नियोगका लागि नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलगायत सहभागी हुनुहुन्थ्यो ।

प्रधानमन्त्री देउवाले कोलम्बिया विश्वविद्यालयको विश्व नेतृत्व मञ्चलाई अपराह्न सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रसंघको ७२ औँ महासभालाई प्रधानमन्त्री देउवाले यही असोज ७ गते सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवा राष्ट्रसङ्घको महासभामा भाग लिने क्रममा २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार बिहान यहाँ आइपुग्नुभएको थियो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !