२४ बैशाख २०८१, सोमबार

अनमोलले फिर्ता गरे ‘रावायण’का निर्माताबाट लिएको १० लाख रुपैयाँ


अनमोल केसी र सुप्रिया कटुवाल

काठमाडौँ । अभिनेता अनमोल केसीले फिल्म ‘रावायण’का निर्मातालाई आफूले पेश्की लिएको १० लाख रुपैयाँ फिर्ता गरेका छन् । नायक केसीले सुदर्शन फिल्मस्बाट निर्माण हुन लागेको फिल्म ‘रावयण’मा काम गर्नका लागि लिएको १० लाख पेश्की रकम आज फिर्ता गरेका हुन् ।

आज उनले फिल्मकी निर्मात्री सुप्रिया अर्थात् चन्द्रकला कटुवालको सिद्धार्थ बैंकमा रहेको खातामा १० लाख रुपैयाँको चेक डिपोजिट गरेका हुन् । केसीले नबिल बैंकमा आफ्नो नाममा रहेको खाताको चेक निर्मात्री कटुवाललाई दिएका हुन् ।

नायक केसीलाई खोजेको बेला उपस्थित हुने सर्तमा आफ्ना अभिभावक काकाको जिम्मा लगाएर प्रहरीले हिजो राती रिहा गरेको थियो । अदालतबाट आइतबारका लागि मात्र म्याद दिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले हिरासत बाहिर बस्दा प्रमाण नष्ट गर्ने सम्भावना नरहेको, भागीजाने सम्भावना नरहेको र अस्पतालले डिस्चार्ज नगरेको भन्दै हाजिर जमानीमा हिरासतमुक्त गरेको थियो ।

ठगी गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले अनमोललाई भक्तपुरको साँगाबाट शुक्रबार पक्राउ गरेको थियो । फिल्म ‘रावायण’मा काम गर्ने वचन दिएर पनि अन्तिम अवस्थामा नगरेपछि अनमोल केसीविरुद्ध निर्देशक सुदर्शन थापाको ब्यानर सुदर्शन फिल्मस्ले प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

रावायण फिल्ममा भएको विवादलाई लिएर निर्माता समूहले केसीविरुद्ध ‘आपराधिक विश्वासघातको कसुर’ मा किटानी जाहेरी दिएका थिए । निर्देशक थापा र उनको ब्यानरले अनमोलका कारण ठूलो आर्थिक तथा अन्य क्षति भएको भन्दै अपराध अनुसन्धान विभाग, नयाँ बाँनेश्वरमा निर्मात्री सुप्रिया कटुवालले जाहेरी दर्खास्त दिएकी थिइन् ।

सोही उजुरीको आधारमा एसपी मिलन केसी र इन्स्पेक्टर हरि बस्नेतको नेतृत्वको टिमले अनमोललाई पक्राउ गरेको थियो । केसीले ‘रावायण’ फिल्ममा खेल्छु भनेर बैंक ट्रान्सफरमार्फत १० लाख रुपैयाँ एड्भान्स लिएर पनि फिल्म खेल्न मानेका थिएनन् ।

यो पनि पढ्नुहोस्

नायक अनमोल केसी भए रिहा

भुवन केसी पुत्र नायक अनमोल केसी पक्राउ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !