२४ बैशाख २०८१, सोमबार

नायक अनमोल केसी भए रिहा


अनमोल केसी

काठमाडौं । नायक अनमोल केसी रिहा भएका छन् । प्रहरीले नायक केसीलाई खोजेको बेला उपस्थित हुने सर्तमा आफ्ना अभिभावक काकाको जिम्मा लगाएर आज राती रिहा गरेको हो ।

अदालतबाट आइतबारका लागि मात्र म्याद दिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले हिरासत बाहिर बस्दा प्रमाण नष्ट गर्ने सम्भावना नरहेको, भागीजाने सम्भावना नरहेको र अस्पतालले डिस्चार्ज नगरेको भन्दै हाजिर जमानीमा हिरासतमुक्त गरेको हो ।

जिल्ला अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिए पनि उनलाई अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएकाले रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमोद ढुंगेलले जानकारी दिए ।

रिहा भएलगत्तै केसी घरबाट मगाएको गाडी चढेर प्रहरी कार्यालयबाट बाहिरिएर सिधै घर गएका छन् । ठगी गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले अनमोललाई भक्तपुरको साँगाबाट शुक्रबार पक्राउ गरेको थियो ।

फिल्म ‘रावायण’मा काम गर्ने वचन दिएर पनि अन्तिम अवस्थामा नगरेपछि अनमोल केसीविरुद्ध निर्देशक सुदर्शन थापाको ब्यानर सुदर्शन फिल्मस्ले प्रहरी कार्यालयमा उजुरी दिएको थियो । रावायण फिल्ममा भएको विवादलाई लिएर निर्माता समूहले केसीविरुद्ध ‘आपराधिक विश्वासघातको कसुर’ मा किटानी जाहेरी दिएका थिए ।

निर्देशक थापा र उनको ब्यानरले अनमोलका कारण ठूलो आर्थिक तथा अन्य क्षति भएको भन्दै अपराध अनुसन्धान विभाग, नयाँ बाँनेश्वरमा जाहेरी दर्खास्त दिएको थियो । निर्मात्री सुप्रिया कटुवालले जाहेरी दर्खास्त दिएकी थिइन् ।

सोही उजुरीको आधारमा एसपी मिलन केसी र इन्स्पेक्टर हरि बस्नेतको नेतृत्वको टिमले अनमोललाई पक्राउ गरेको थियो । केसीले ‘रावायण’ फिल्ममा खेल्छु भनेर बैंक ट्रान्सफरमार्फत १० लाख रुपैयाँ एड्भान्स लिएर पनि फिल्म खेल्न मानेका थिएनन् ।

यो पनि पढ्नुहोस्

भुवन केसी पुत्र नायक अनमोल केसी पक्राउ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !