२४ बैशाख २०८१, सोमबार

भुवन केसी पुत्र नायक अनमोल केसी पक्राउ


अनमोल केसी

काठमाडौँ । चलचित्र विकास बोर्डको अध्यक्ष एवं सुपरस्टार भुवन केसी पुत्र नायक अनमोल केसी पक्राउ परेका छन् । ठगी गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले अनमोललाई भक्तपुरको साँगाबाट पक्राउ गरेको हो ।

उनलाई साँगाबाट साँझ साढे ५ बजे नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ । फिल्म ‘रावायण’मा काम गर्ने वचन दिएर पनि अन्तिम अवस्थामा नगरेपछि अनमोल केसीविरुद्ध निर्देशक सुदर्शन थापाको ब्यानर सुदर्शन फिल्मस्ले प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

रावायण फिल्ममा भएको विवादलाई लिएर निर्माता समूहले केसीविरुद्ध ‘आपराधिक विश्वासघातको कसुर’ मा किटानी जाहेरी दिएका थिए । सुदर्शन फिल्मस्ले दिएको उजुरीको आधारमा प्रहरीले अनमोललाई खोजी गरिरहेको थियो ।

निर्देशक थापा र उनको ब्यानरले अनमोलका कारण ठूलो आर्थिक तथा अन्य क्षति भएको भन्दै चार दिन अघि अपराध अनुसन्धान विभाग, नयाँ बाँनेश्वरमा जाहेरी दर्खास्त दिएको थियो । निर्मात्री सुप्रिया कटुवालले जाहेरी दर्खास्त दिएकी थिइन् ।

सोही उजुरीको आधारमा एसपी मिलन केसी र इन्स्पेक्टर हरि बस्नेतको नेतृत्वको टिमले अनमोललाई पक्राउ गरेको हो । केसीले ‘रावायण’ फिल्ममा खेल्छु भनेर बैंक ट्रान्सफरमार्फत १० लाख रुपैयाँ एड्भान्स लिएर पनि फिल्म खेल्न मानेका थिएनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !