१८ बैशाख २०८१, मंगलबार

पल शाह प्रकरणमा १६ युट्युब च्यानललाई काउन्सिलद्वारा कारबाही


पल शाह प्रकरण र युट्युब च्यानल

काठमाडौं । प्रेस काउन्सिल नेपालले पल शाह प्रकरणमा भ्रामक समाचार प्रकाशित गर्ने १० समाचार वेवसाइट र १६ युट्युब च्यानललाई कारबाही गरेको छ । पछिल्लो समय एक अभिनेता र एक गायिकाका विषयमा विभिन्न सञ्चार माध्यम एवं सामाजिक सञ्जाल (युट्युब) बाट सम्प्रेषण भएका सामग्रीहरूप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकषर्ण भएको बताएको छ ।

त्यस्तै आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने २२ अनलाइन मिडियालाई सचेत गराइएको, दर्ता र सूचीकरण नभएका १० वेवसाइटहरूलाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरेको र कुनै मिडियाअन्तर्गत आबद्ध नभएका १६ युट्युब च्यानललाई अनुसन्धान गरी आवश्यक कारबाही गर्न नेपाल प्रहरी साइबर ब्युरोमा सिफारिस गरेको काउन्सिलले विज्ञप्तिमार्फत् जनाएको छ।

अनुगमनका क्रममा विभिन्न सञ्चार माध्यम, वेबपोर्टल र सामाजिक सञ्जाल (खासगरी युट्युब) समेतबाट वैयक्तिक गोपनीयताको प्रतिकूल हुने, पीडितलाई थप पीडा पुग्ने, पीडितलाई नकारात्मक असर पर्ने र पीडितको पहिचान खुल्ने गरि नाम, तस्बिर, भिडियो सामग्री सम्प्रेषण गर्ने, न्यायिक निकायमा विचाराधीन मुद्दाको स्वच्छ सुनुवाइ प्रक्रियामा प्रभाव पर्ने किसिमबाट आरोपी र जाहेरीवालाको पक्ष–विपक्षमा सामग्री सम्प्रेषण भइरहेका तथ्यहरू फेला परेको काउन्सिलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विभिन्न सञ्चार माध्यमबाट सम्प्रेषित सामग्री अध्ययन गर्दा सार्वजनिक अपराधसँग जोडिएका व्यक्ति तथा पीडितहरूको पक्ष/विपक्ष हुने गरी सामग्री सम्प्रेषण हुँदा पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा ५(११), ५(४) र ४(९) को ठाडो उल्लंघन भएको वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘अदालतमा विचाराधीन रहेका यस्ता मुद्दाको न्यायिक छानबिनलाई प्रभाव पर्ने किसिमबाट सामग्री सम्प्रेषण नगर्न/नगराउन काउन्सिलले सञ्चार माध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल र यसका प्रयोगकर्तालाई अपिलसमेत गरेका छौँ’- काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले भने ।

यसैबीच अनलाइन टिभी, सामाजिक सञ्जाल (विशेषगरी युट्युब च्यानल) हरूमा सम्प्रेषित सामग्रीबारे प्रेस काउन्सिल नेपालमा उजुरी र गुनासाहरू बढिरहेका सन्दर्भमा यसको नियमन र व्यवस्थापनका निमित्त सुझाव दिनका लागि एक कार्यदल गठन भइ कार्य भइरहेको विज्ञप्तिमार्फत् जनाइएको छ ।

यस्तो छ हेर्नुहोस् प्रेस काउन्सिलद्वारा जारी प्रेस विज्ञप्ति
प्रेस काउन्सिलद्वारा जारी प्रेस विज्ञप्तिप्रेस काउन्सिलद्वारा जारी प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !