२० बैशाख २०८१, बिहिबार

कलाकार र खेलाडीको क्रेज हवात्तै बढ्यो पूर्वराजपरिवारतिर


कलाकार र खेलाडीको क्रेज हवात्तै बढ्यो पूर्वराजपरिवारतिर

काठमाडौँ । हिमानी कोषले आसन्न दीपावली, नेपाल संवत, छठ लगायत पर्वका अवसरमा आज शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । सोल्टी होटलमा शुक्रबार अपराह्न उक्त कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वयुवराज पारस शाहलगायत राजनीतिज्ञ, कूटनीतिज्ञ, साहित्यकार, वरिष्ठ सञ्चारकर्मी, राष्ट्रियस्तरका खेलाडी तथा कलाकारको सहभागिता थियो ।

विशेष बाजा-गाजाको व्यवस्था गरिएको समारोहमा सहभागीले एकापसमा शुभकामना आदानप्रदान एवं खुसीयाली साटासाट गरेका थिए । कोषका अध्यक्ष हिमानी शाहले ती पर्वको मौलिक तथा सांस्कृतिक पक्षको संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिइन् ।

पूर्व युवराज्ञी हिमानीले ट्रस्टका पदाधिकारीहरूसँगै लाइनमा उभिएर आगन्तुकको स्वागत गरेको कार्यक्रम स्थलमा आकर्षक सजावट गरिएको थियो ।कार्यक्रम स्थलमा बाँसुरी, सारंगीको मौलिक धुनसँगै र मादलका ताल समेत गुञ्जिएको थियो ।

उक्त कार्यक्रममा अभिनेता भुवन केसी, शिव श्रेष्ठ, कृष्ण मल्ल, दीपकराज गिरी, सरोज खनाल, जीतु नेपाल, सन्तोष पन्त, केदार घिमिरे, दीपेश्वर गौतम, रमेश बुढाथोकी, कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, अभिनेत्री करिश्मा मानन्धर, पबित्रा आचार्य, शमिल्ला मल्ल, सरिता लामिछाने, सुष्मा कार्की, लोक गायिका सुनिता दुलाल, लोकगायक कृष्ण कँडेल लगायत थुप्रैको सहभागिता रहेको थियो ।

उक्त शुभकामना आदान प्रदान कार्यक्रमको परिदृश्य हेर्दा सहजै भन्न सकिन्छ – कलाकार र खेलाडीको क्रेज बढ्यो पूर्वराजपरिवारतिर । कोष विपत्का समयमा मुलुकका विभिन्न स्थानमा समाजिक कार्यमा क्रियाशील छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !