१४ बैशाख २०८१, शुक्रबार

नेपाल आइडल सिजन ३ को फाइनल आजः को बन्ला नेपाल आइडल ?


नेपाल आइडल सिजन ३

काठमाडौं, १२ भाद्र । देशले आज तेस्रो नेपाल आइडल प्राप्त गर्दैछ । शुक्रबार स्टुडियोमा आयोजना हुने गायन रियालिलिटी सो ‘नेपाल आइडल–३’ को ग्रान्ड फिनालेमा यसको विजेता घोषणा गरिने छ । विभिन्न इलिमिनेसन राउन्ड पार गर्दै उत्कृष्ट ३ मा पुगेकामध्येबाट तेस्रो नेपाल आइडल घोषणा हुन लागेको हो । एपी वान एचडीबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुँदै आएको यो रियालिटी सो नेपाली सांगीतिक इतिहासको सर्वाधिक रुचाइएको कार्यक्रम हो । प्रतिस्पर्धाको उत्कृष्ट ३ मा सज्जा चौलागाईं, प्रवीण बेडुवाल र किरणकुमार भुजेल पुगेका छन् ।

हजारौंबाट छानिएर उत्कृष्ट ३ मा पर्न सफल भएका उनीहरूले पाएको भोटको आधारमा विजेता चयन हुनेछ । विजेताले ‘नेपाल आइडल–३ को उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यसैगरी फस्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गर्नेछन् । अन्य हप्ताको कार्यक्रम जस्तै शुक्रबारको कार्यक्रममा सीमित मानिस र दर्शकको उपस्थितिमा नेपाल आइडल–३ को विजेता घोषणा गरिने प्रोजेक्ट हेड सुरेश पौडेलले जानकारी दिए । पौडेलका अनुसार कोभिड—१९ का कारण ग्रान्ड फिनाले सामान्य तवरमै सञ्चालन गर्न लागिएको हो । लकडाउन भएको थिएन भने गत चैतमै कार्यक्रम सम्पन्न भइसक्थ्यो । कोरोनाका कारण रोकिएको कार्यक्रम करिब तीन साताअघि पुनः सुरु भएको थियो । कार्यक्रमको निर्णायक मण्डलमा इन्दिरा जोशी, न्ह्युु वज्राचार्य र कालीप्रसाद बाँस्कोटा रहेका छन् ।

नेपाल आइडल यस्तो एउटा मञ्च हो जसले हर कोहीलाई अवसर दिन्छ । यसले दूरदराजमा लुकेर रहेका प्रतिभालाई अगाडि बढ्न समान अवसर दिन्छ । नेपाली सांगीतिक इतिहासमा बेग्लै उचाइ कायम गरेको नेपाल आइडल हरेकको सपना हो । यसअघि बुद्ध लामा र रवि ओडले यो उपाधि चुमिसकेका खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !