११ जेष्ठ २०८१, शुक्रबार

जनप्रतिनिधिको बेवास्ताले शैक्षिक दुरावस्था


विद्यालय

महोत्तरी, २० माघ । ‘मेयर सा’ब, हाम्रो विद्यालयमा शिक्षक विद्यालय नआएरै तलब खान्छन् भन्ने हजुरलाई थाहा छ ?’, महोत्तरीको भङ्गाहा नगरपालिका–५ स्थित श्री मावि भङ्गाहा, सीतापुर, सिद्धपुरकी कक्षा–९ की छात्रा ज्योति महतोले नगरप्रमुख सञ्जीवकुमार साहलाई सिधा प्रश्न गर्नुभयो ।

ज्योतिको जिज्ञासा टुङ्गिनासाथ सोही विद्यालयकी कक्षा १० की छात्रा अञ्जनी साहको पनि धक फुकेछ । नगरपालिकाको शिक्षा शाखाको समन्वयमा न्युज–२४ (न्युज ट्वान्टीफोर) सञ्चार समूहले आइतबार आयोजना गरेको ‘मेयरसँग विद्यालयका छात्रछात्रा’ विषयक अन्तरक्रियामा अञ्जनीले नगरप्रमुख साहसँगै जिज्ञासा राख्नुभयोे, “विद्यालयमा भौतिक साधन के कस्तो हालतमा छन् ? शौचालय प्रयोग गर्न योग्य छन् कि छैनन् ? कहिल्यै निरीक्षण गर्नुभएको छ ?”

नगर क्षेत्रका ३० सामुदायिक विद्यालयमध्ये सात माध्यमिक तहका र कक्षा ८ सम्म पठनपाठन सञ्चालन हुँदै आएका सात आधारभूत तहका गरी १४ विद्यालयका ९० छात्रछात्रा सहभागी थिए । कक्षा ८ देखि १२ कक्षासम्मका छात्रछात्रा कार्यक्रममा सहभागी भएका नगर शिक्षा शाखाका निमित्त प्रमुख अरुण भुजेलले जानकारी दिनुभयो । नगरभित्रका २३ आधारभूत विद्यालयमध्ये १६ विद्यालयमा भने ५ कक्षामाथि पठनपाठन नै हुन सकेको छैन ।

“मेयर सा’ब, सात घण्टीमा प्रत्येक दिनजसो तीन घण्टी लिजर (पढाइ नहुने) भइरहेको तपार्इंलाई जानकारी छ ?”, भङ्गाहा–९ हरिहरपुर हरिनमरीस्थित किशोरी जनता माविका एक छात्रले प्रश्न सोध्दा नगरप्रमुख साहले ‘यस्तो पनि हुन्छ र ?’ भन्नुभएको थियो ।

कार्यक्रममा सहभागी छात्रछात्राले विद्यालयको भौतिक दुरावस्था, सरसफाइ र अतिरिक्त क्रियाकलाप सञ्चालन नगरिएको अवस्था, विषय शिक्षकको कमी, शौचालय नहुँदा पाइएको सास्ती र शिक्षक गुरु नभएर जागिरे भएका कुरा राखेर नगरप्रमुखसहितका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतलाई ¥याख्¥याख्ती पारेका थिए । “ए, नगरपालिकामा शिक्षा शाखा पनि छ ?”, कार्यक्रममा परिचयका क्रममा शिक्षा शाखाको प्रसङ्ग उप्कनासाथ श्री मावि भङ्गाहा, सीतापुर, सिद्धपुरका १२ कक्षाका छात्र कृष्णकुमार साहले व्यङ्ग्यात्मक शैलीमा प्रश्न गर्नुभयो, “साचिँकै नगर कार्यपालिकाको शिक्षा शाखाले गर्ने काम चैं के होला मेयर सा’ब ?”

कार्यक्रममा छात्रछात्राका प्रश्न र जिज्ञासा ध्यानपूर्वक सुन्नुभएका नगरप्रमुख साहले शिक्षा क्षेत्रमा रहेको विकृति हटाउन आपूm निर्वाचित भएलगत्तै विद्यालय निरीक्षण र समस्या समधानको पहल थालेको बताउनुभयो । यद्यपि आफ्नो अभियानमा स्थानीय अभिभावक, नागरिक समाजका प्रतिनिधि र राजनीतिक दलहरुबाट पनि भरथेग र सहयोग पाउन नसकेको साहको आफ्नै गुनासो थियो ।

“सबैजसो विद्यालयमा स्थानीय शिक्षक नै छन्, मैले निरीक्षणका क्रममा अनुपस्थित पाएका शिक्षक र पठनपाठनप्रति उदासीन शिक्षकलाई स्पष्टीकरण नै सोधेर कार्वाही प्रक्रिया बढाएँ तर यसको विरोध भयो”, नगरप्रमुख साहले भन्नुभयो, “विद्यालय नगई शिक्षक भइरहने, पढाउन छाडेर गफ चुट्ने, आफ्नो जिम्माको विषय पठनपाठनमा उदासीन रहने शिक्षक कार्वाहीका भागिदार हुन्, अब यिनलाई छुट दिइने छैन ।” यो अभियानमा आफ्नो पराया नभनेर सबै अभिभावक र राजनीतिक दलको आपूmलाई साथ हुनुपर्ने साहको अपेक्षा छ ।

नगरप्रमुख साहले आपूm शिक्षाको गुणस्तर बढाउन प्रतिबद्ध भए पनि प्रदेश र सङ्घीय सरकारबाट सहयोग नपाएको बताउनुभयो । “शिक्षा शाखा छ, एकजना कर्मचारी पठाइएका छैनन्”, उहाँले भन्नुभयो, “विद्यालयका एकजना शिक्षक तानेर शाखामा बसाएका छौँ ।” आफ्नै क्षेत्रका प्रतिनिधिसभा सदस्य शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री हुँदा पनि आपूmले आवश्यक शिक्षक र कर्मचारी नपाएको नगरप्रमुख साहले गुनासो गर्नुभयो ।

आफ्ना नानीहरुले शैक्षिक दुरावस्थाबारे सिधा प्रश्न राखेपछि बल्ल विद्यालयको अवस्थाबारे बुझिएको कार्यक्रममा उपस्थित अभिभावकको प्रतिक्रिया थियो । कार्यक्रममा अभिभावकले नगरक्षेत्रभित्र शिक्षा सम्बन्धित सबै काम गर्न नगरपालिका अधिकारसम्पन्न भएको हुँदा यहाँका प्रतिनिधिले दोष अन्त देखाएर उम्कने अवस्था नरहेको बताएका छन् ।

“नगरमा करोडौँको बजेट छ तर विद्यालयको दुरावस्था फेरिएको छैन”, भङ्गाहा–४ रामनगरका राजनीतिक, सामाजिक कार्यकर्ता बृदेवसिंह दनुवारले भन्नुभयो, “विद्यालयमा लाखौँ मूल्यका कम्प्युटर थन्किएर बिग्रेका छन् तर एकजना कम्प्युटर शिक्षक नियुक्त गरेर त्यो विषयको पठनपाठन गराउन नगर कार्यपालिकालाई कुन कानूनले छेकेको छ ?”, शिक्षाक्षेत्रका कामभन्दा सडकमा माटो, ग्र्याभल ओछ्याउने काममा जनप्रतिनिधि र कर्मचारीको प्राथमिकतामा किन पर्छ भन्ने सिंहको जिज्ञासा पनि थियो ।

स्मरण रहोस् मावि भङ्गाहा, सीतापुर, सिद्धपुरमा शिक्षक नहुँदा १५ वटा कम्प्युटर दुई वर्षदेखि विद्यालयको स्टोरमा थन्ँिकदा बिग्रँदै गएको समाचार राससले केही महिनापहिले नै दिएको थियो । कार्यक्रममा सहभागी अभिभावकले शिक्षामा काम गर्न जनप्रतिनिधिलाई सधैँ आफ्नो साथ रहने बताएका थिए ।

कार्यक्रमको अन्त्यमा नगरप्रमुख साहले शिक्षाको अवस्थाबारे छात्रछात्रा र अभिभावकबाट व्यक्त विचारले आपूmलाई ऊर्जावान् भएर शिक्षाक्षेत्रका काममा लाग्न थप प्रेरणा दिएको बताउनुभयो । नगरका विभिन्न विद्यालयका छात्रछात्राले आपूmहरुको भविष्यसँग खेलवाड नगरिदिन गरेको आग्रहले सकारात्मक ऊर्जासाथ काममा लाग्ने साहको भनाइ छ ।

कार्यक्रमपछि विद्यार्थी र अभिभावकले अब विद्यालयको पठनपाठन र भौतिक साधन सुसम्पन्नताका क्षेत्रमा प्रभावकारी काम हुने आस सँगालेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !