१४ बैशाख २०८१, शुक्रबार

तोकेको शर्त पूरा गरे भूकम्प पीडितले एकमुष्ट अढाई लाख पाउने


असोज २५, काठमाडौँ | सरकारले तोकेको शर्त पूरा गर्ने भूकम्प पिडित हरुका लागि गाउँपालिका र नगरपालिकाको सिफारिसमा अग्रीम रुपमा दुई लाख ५० हजार रुपैयाँ पाउने भएका छन् । स्थानीय तहको जिम्मामा लाभग्राहीले पाँच महिनाभित्र घर सम्पन्न गर्ने शर्तमा तेस्रो किस्ता आवास अनुदान अग्रिम रुपमा पाउने भएका हुन् ।

यो व्यवस्था अनुुसार अब घरको जग उठाएर दोस्रो किस्ता लिन योग्य भएका घरधनीले दोस्रो किस्ता बापतको डेढ लाख र तेस्रो किस्तावापतको एक लाख गरी एकैपटक अढाइ लाख पाउनेछन् । निजी आवास निर्माणमा लाभग्राहीलाई अग्रीम रुपमा तेस्रो किस्ताको रकम उपलब्ध होस् भनी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको प्रस्तावलाई अर्थ मन्त्रालयले स्वीकृति दिएको हो ।

यो व्यवस्थापछि निजी आवास निर्माण गर्न चाहने घरधनीले जग उठाइसकेपछि एकमुष्ठ रकम प्राप्त गरी घर निर्माण सम्पन्न गर्न सक्नेछन् । भूकम्प पीडितलाई बन्दै गरेको घर नै धितोमा राखेर बैंकमार्फत ३ लाख रुपैयाँ निब्र्याजी ऋण दिने निर्णय पनि गरिसकेको छ । पुनःनिर्माण प्राधिकरणका प्रवक्ता यमलाल भुसालले अर्थ मन्त्रालयले सहमति दिएसँगै यो प्रक्रिया अघि बढेको र निजी आवास पुनर्निर्माणका लागि ठुलो सहयोग पुर्‍याउने विश्वास लिएको बताउनुभयो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !