१८ बैशाख २०८१, मंगलबार

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

आइओसीलाई किस्ता तिर्न नपुगेपछि निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य


पेट्रोलियम पदार्थ

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई किस्ता तिर्न रकम नपुगेपछि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको बताएको छ ।

निगम सञ्चालक समितिको बैठकले आज बिहीबार राति १२ बजेदेखि लागू हुने पेट्रोलमा लिटरको ८ रुपैयाँ तथा मट्टितेल र डिजेलमा १२ रुपैयाँ मूल्य बढाएको हो ।

निगमका अनुसार अब मूल्य बढेसँगै पेट्रोल प्रतिलिटर १७८ र डिजेल र मट्टितेलको १६५ रुपैयाँ पर्ने भएको छ । यद्यपि निगमले खाना पकाउने एलपी ग्यास र र हवाई इन्धनको मूल्य भने यथावत राखेर बढाएको छैन ।

बुधबारसम्म निगमले आइओसीलाई रु २० अर्बभन्दा बढी रकम तिर्न बाँकी छ । निगमले प्रत्येक अङ्ग्रेजी महिनाको ८ र २३ तारिखमा आइओसीलाई पेट्रोलियम पदार्थ खरिद गरेबापतको रकम भुक्तानी गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा उच्च दरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको र आइओसीलाई तिर्नुपर्ने बक्यौता रकम बढ्दै गएकाले मूल्यवृद्धि गर्नुपरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

निगमले गत सातामात्र पेट्रोल, डिजेल-मट्टितेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु १० घटाएको थियो । मूल्य समायोजनपछि पनि पाक्षिकरुपमा रु तीन अर्ब ८९ करोड घाटा रहँदै आएको निगमको भनाइ छ ।

यस्तो छ हेर्नुस् आयल निगमले निकालेको प्रेस विज्ञप्ति

पेट्रोलियम पदार्थको मूल्य


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !