१८ बैशाख २०८१, मंगलबार

पुल बने पिरोल्दैन उर्लेको कालीले, कुहिँदैन स्याउ, ढुक्कै जान्छन् विद्यार्थी विद्यालय


कालीगण्डकीको काठेपुल

बलेवा, २० वैशाख । मुस्ताङको थासाङ गाउँपालिकाको वडा नं २ मा पर्छन् सौरु र सिरकुङ गाउँ । कालीगण्डकीले मध्यभागबाट चिरेको मुस्ताङमा यी गाउँहरु दक्षिणतर्फ पर्छन् । मध्यभागबाट बगेको कालीगण्डकीका कारण थासाङको सौरु र सिरकुङलगायत वडा नं ४ र ५ का धेरै गाउँले बर्सेनि क्षति व्यहोर्ने गरेका छन् ।

गर्मी मौसममा हिउँ पग्लिएर उर्लिन्छ कालीगण्डकी । अक्सर मुस्ताङमा पानी कम पर्छ । जिल्लाको मध्यभाग भएर बग्ने कालीगण्डकीले मुस्ताङलाई दुई भागमा विभाजन गरेको छ । हिउँदमा एक गाउँबाट अर्को गाउँ जान मुस्ताङीलाई समस्या छैन किनकि उनीहरु कालीमा हेलिएर वारपार गर्छन् ।

हिउँ पग्लिएर धमिलो बनेको कालीले वर्षात्मा भने धेरैलाई झुक्याउने गर्छ । विगतका वर्षहरुमा नदी तर्दै गरेका कयौँको ज्यान लिएका घटना मुस्ताङीको मनसपटलमा ताजै छन् । त्यसैले त अहिले वर्षाको समयमा काली हेलिएर वारपार गर्न मुस्ताङी डराउँछन् । कालीगण्डकीले दुई भाग लगाएको मुस्ताङमा उत्तरतर्फबाट जिल्लाभरि नै सडक सञ्जाल फैलाइएको छ । दक्षिणमा पनि सडक त पुगेको छ तर निकै घुमाउरो, समय प्रशस्तै लिन्छ । कालीगण्डकी करिडोर पनि उत्तरमा पर्छ । उत्तरतर्फकै भूभागमा धेरै गाउँ छन् । सदरमुकाम जोमसोम बजार दुवै भागमा फैलिएको छ । तर त्यहाँ समस्या छैन ।

चर्चामै रहेको लेतेगाउँबाट उत्तरतर्फ लागेपछि टुकुचे आउँछ । त्यहाँबाट केही माथि पुगेपछि जोमसोम नपुग्दै केही गाउँ छन् । उत्तरतर्फका गाउँ त सडकसँग जोडिएकाले कुनै समस्या छैन तर दक्षिणका गाउँ भने हरेक वर्ष उर्लँदो कालीसँग पौँठेजोरी नखेली सुखै छैन । सौरु र सिरकुङ गाउँका विद्यार्थीले दैनिक छ घण्टाको बाटो हिँडेर विद्यालय आउजाउ गर्छन् । उनीहरुले वर्षायाममा पनि यस्तै नियति भोग्नुपर्छ । “छ घण्टा त बाटोमै बिताएर यहाँका बालबालिका कोबाङमा रहेको विद्यालय पुग्ने गर्छन्”, स्थानीयवासी सोजन हिराचनले भन्नुभयो । दुई गाउँबाट कोबाङ पढ्न जाने १३ विद्यार्थी छन् ।

वर्षामा उर्लेको कालीले वारपार गर्न नसक्दा यहाँका किसानले फलाएको स्याउ बोटमै कुहिएर झर्ने गरेको वडाध्यक्ष नरप्रसाद हिराचन बताउनुहुन्छ । हिउँद लाग्ने बेलासम्म बचेको स्याउमात्रै बजार पठाएर यहाँका सिकानको गुजारा चलेको छ । दुवै गाउँ स्याउका भण्डार नै हुन् भन्नुहुन्छ हिराचन । थासाङ गाउँपालिकाको वडा नं ४ र ५ मा पर्ने धम्पु, टिटी, ताउलुङ, देउराली, चिमाङ, चोखोपानी गाउँको पनि समस्या उस्तै छ ।

मुस्ताङका दक्षिण भागमा पर्ने सबै गाउँको समस्या उस्तै हो तर थासाङ गाउँपालिकाका गाउँहरुको भने उर्लेको कालीका कारण किसानदेखि विद्यार्थीसम्मका सपना सधैँ धरापमा पर्ने गरेका छन् । कालीगण्डकीमा जोखिमको यात्रा गरिरहेका यी गाउँका सर्वसाधारणले लामो समयदेखि कल्पना गरेको कालिगण्डकीमाथि पुल बनाउने सपना पूरा हुने चरणमा प्रवेश गरेको छ । समयमा निर्माणको काम सकिए अबको दुई वर्षमा यहाँका सर्वसाधारण निर्धक्क भएर काली वारपार गर्न पाउनेछन् ।

मुस्ताङका प्रतिनिधिसभा सदस्य प्रेम तुलाचनको निरन्तरको प्रयासपछि कोबाङ–खन्ती–लार्जुङ जोड्ने गरी कालीगण्डकीमाथि झोलुङ्गे पुल निर्माणको प्रक्रिया शुरु भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्थानीय पूर्वाधार विभाग, सस्पेन्सन ब्रिज डिभिजनले पुल निर्माणको प्रक्रिया अघि बढाएका हुन् । विस्तृत परियोजना प्रतिवेदन तयार गरेर यहाँ पुल निर्माणका लागि ठेक्का प्रक्रिया शुरु भएको डिभिजन इञ्जीनियर प्रवेश रेग्मीले जानकारी दिनुभयो ।

आज आइतबार खुल्ने गरी भएको बोलपत्र आह्वान लकडाउनका कारण पर सेरेको भए पनि केही दिनमा पुल बनाउने कम्पनीको टुङ्गो लाग्ने छ । मल्टिस्पान प्रविधिमा यहाँ ५७० मिटर लामो झोलुङ्गे पुल बनाउन लागिएको हो । विभागले रु नौ करोड खर्चेर पुल बनाउने तयारी थालेको रेग्मी बताउनुहुन्छ । तीन पिलरसहित पाँचदेखि छ मिटर उचाइको पुल यहाँ बन्ने छ ।

“निकै सङ्घर्ष गरेर पुल बन्ने भयो, अब हाम्रा गाउँहरुको मुहार नै फेरिन्छ”, प्रतिनिधिसभा सदस्य तुलाचनले भन्नुभयो, “विद्यार्थीलाई विद्यालय जान र किसानको स्याउको बजारीकरण गर्न पुल निकै महत्वपूर्ण हुनेछ ।” पुल बनेपछि कालीगण्डकी वारिपारि रहेका सबै गाउँका एक हजारभन्दा धेरै सर्वसाधारण लाभान्वित हुने उहाँले बताउनुभयो ।

कालिगण्डकीमा बन्न लागेको यो पुलका कारण हरेक वर्ष हुने मानवीय क्षति कम हुने र आर्थिक क्रियाकलापमा समेत राम्रो प्रभाव पर्ने वडाध्यक्ष हिराचन बताउनुहुन्छ । हिउँदको समयमा बँेसी झर्ने मुस्ताङका गाउँका सर्वसाधारण वर्षाको समयमा गाउँ फर्किन्छन् । खेतीपाती गरेर गाउँ बस्ने समयमै उर्लिने कालीगण्डकीमा पुल नभएका कारण सर्वसाधारण मर्कामा थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !