१४ बैशाख २०८१, शुक्रबार

पाँच वर्षपछि गाउँ उज्यालो


Nepalpatra

८ वैशाख, हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–७ टुलिङ्गका स्थानीयले पाँच वर्षपछि उज्यालो देख्न पाएका छन् ।

हिल्दुम वितरण केन्द्रले विसं २०७० मा टुलिङ्ग गाउँका ३१ घरधूरीलाई अन्धकारमुक्त बनाउने लक्ष्य राखेता पनि हिल्दुम वितरण केन्द्रका कर्मचारीकै लापरवाहीका कारण त्यहाँ स्थानीयले शनिबार साँझबाट मात्र उज्यालो देख्न पाएका छन् ।

टुलिङ्ग गाउँका स्थानीयलाई अन्धकारबाट उज्यालो बनाउनका लागि पहिलो किस्ता रु ९० हजार र दोस्रो किस्ता रु एक लाख ५७ हजार खर्च गरेर त्यहाँका स्थानीयले उज्यालो देख्न पाएका हुन् ।

हिल्दुम वितरण केन्द्रको ढिलासुस्तीका कारण पाँच वर्षपछि उज्यालो देख्न पाएको स्थानीय नन्द शाहीले बताउनुभयो ।

टुलिङ्ग गाउँका ३१ घरधूरीले पाँच वर्षसम्म उही पुरानो परम्पराअनुसार सल्लाको दियालो बालेर दिन चलाएको उहाँले जानकारी दिनुभयो । ढिलै भए पनि अन्धकारबाट उज्यालो देख्न पाउँदा खुसी लागेको त्यहाँका स्थानीयवासीले बताएका छन् । गाउँमा पाँच वर्षपछि हिल्दुम वितरण केन्द्रको लाइन पुग्दा बालबालिकालाई रातिको समयमा अध्ययन गर्न सहज हुने भएको वीरबहादुर शाहीले जानकारी दिनुभयो

बौलाह कुकुरको टोकाइले चार जना घाइते

समकोट गाउँपालिका–७ को डाँडाफयामा बौलाह कुकुरले टोक्दा चार जना घाइते भएका छन् ।

बौलाह कुकुरले शनिबार बिहान साढे पाँच बजे ओखेन भन्ने गाउँमा तीन जनालाई र शुक्रबार एक जना बालकलाई टोकेको त्यहाँका स्थानीयले जानकारी दिएका छन् ।

कुकुरले टोकेर घाइते भएकी २७ वर्षीया सङ्गिता शाही, ३२ वर्षीय बागेश्वी सिंह, १० वर्षीया सुमित्रा सिंह, र आठ वर्षका जन्मजय राज शाही रहेका नन्द शाहीले बताउनुभयो । घाइतेको उपचार शनिबार साँझ जिल्ला अस्पताल हुम्लामा ल्याई भइरहेको छ ।

जिल्लाको उत्तरी सिमकोट गाउँपालिका–७ मा गएको चैत महीनामा कुकुरमा रेबिज रोग पनि देखिएको थियो । बौलाह कुकुरलाई भने स्थानीय बासिन्दाले नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !