२६ बैशाख २०८१, बुधबार

बाटो निर्माण हुँदा स्थानीयवासीमा उत्साह


Road Construction

७ पुस, इनरुवा । सुनसरी हरिनगर गाउँपालिका–५ वसन्तपुरका मधुसुदन मण्डललाई घर अगाडि रहेको बाटो निर्माण नहुँदा समस्या थियो ।

बाटो निर्माण नहुँदा उहाँलाई दैनिक आवतजावत गर्नका लागि समस्या हुने गरेको थियो ।बाटो मर्मतसम्भार नभएकै कारण गाउँबस्तीमा कोही व्यक्ति बिरामी परिहाले तत्काल अस्पतालसम्म पु¥याउनका लागि समस्या हुने गरेको थियो तर अब उहाँले त्यो समस्याबाट मुक्ति पाउने हुनुभएको छ ।

उहाँजस्तै स्थानीयवासी सूर्यनारायण मेहताको समस्या पनि उस्तै थियो । उहाँलाई गाउँभन्दा बाहिर जानुपर्ने भएका बेला राम्रो लुगाफाँटा झोलामा हालेर जाने र राम्रो बाटोमा गएपछि लगाउनुपर्ने बाध्यताले सताउने गर्दथ्यो तर अहिले उहाँले पनि त्यो समस्याबाट मुक्ति पाउनुभएको छ ।

त्यो क्षेत्रका लागि दुई जना उदाहरणका पात्र मात्रै हुनुहुन्छ । त्यहाँका सयौ स्थानीयवासीको समस्या एउटै थियो । कहिले बाटो बन्ला र राम्रो बाटोमा आवतजावत गरौँला तर हरिनगर गाउँपालिकाले त्यहाँको स्थानीयवासीको समस्यालाई निराकरण गर्नका लागि हरिनगर–२ रामनगर भुटाहामा रहेको शिव मन्दिरदेखि पश्चिम बसमतियासम्म जाने बाटो कालोपत्रे गर्ने कार्य शुरु गरेको छ ।

बाटो निर्माण र कालोपत्रे गर्ने कार्य शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् ।
बाटो नबनेका कारण बिरामी, सुत्केरी महिला, गर्भवती महिलालाई अस्पताल पु¥याउनका लागिसमेत दुःखको समाना गर्दै आएका स्थानीयवासीले अब बाटो निर्माण भएपछि त्यो सास्तीबाट मुक्ति पाएको स्थानीयवासीको भनाइ छ ।

हरिनगर गाउँपालिकाले बहुवार्षिक योजनाअन्तर्गत रु आठ करोड ७० लाख लागतमा ४० फिट चौडाइ र साढे तीन किलोमिटर लम्बाइको बाटो निर्माण गर्नका लागि आसिरबाद कन्ट्रक्सन प्रालिलाई जिम्मा दिएको गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बताउनुभयो ।

यसरी गाउँपालिकाले चालेको विकास निर्माणको कार्यलाई स्थानीयवासीले सकारात्मक रुपमा चर्चाको विषय बनाएका छन् । त्यसले हरिनगर गाउँपालिकाले थालेको विकास निर्माणको कार्यबाट अन्य गाउँपालिकाले सिक्नुपर्ने अहिलेको आवश्यक्ता देखिन्छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !