२५ बैशाख २०८१, मंगलबार

सुदूरपश्चिम प्रदेश सरकारको ध्यानाकर्षण


डा. रणबहादुर रावल

कैलाली, १४ वैशाख । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको कार्यालयले विभिन्न ठाउँबाट आएका मानिसलाई क्वारेन्टाइनमा राख्दै जाँच गरेर मात्रै घर पठाउन प्रदेश सरकारको ध्यानाकर्षण गरेको छ । कोरोना भाइरसको सङ्क्रमणको जोखिमबाट नेपाल अझै पनि मुक्त नभइसकेको भन्दै स्वदेश तथा विदेशबाट आएका सबैलाई अनिवार्यरूपमा क्वारेन्टाइनमा राखेर जाँच गरेपछि मात्रै घर पठाउन ध्यानाकर्षण गराइएकोे नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावलद्वारा शनिबार जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विभिन्न जिल्लाबाट दैनिक ठूलो सङ्ख्यामा मानिस आइरहेको सन्दर्भमा त्यसरी आउने व्यक्तिको व्यवस्थित अभिलेख राख्दै सम्बन्धित स्थानीय तहमा पठाइ क्वारेन्टाइनमा राख्नेतर्फ अझ बढी ध्यान दिन जरुरी रहेको विज्ञप्तिमा बताइएको छ । विज्ञप्तिमा कैलालीको टीकापुर नगरपालिकाले क्वारेन्टाइनमा राखिएकामध्ये धेरैलाई बिनापरीक्षण घर पठाएकामा प्रदेशका सबै स्थानीय तहलाई आ–आफ्नो पालिकाभित्र रहेका क्वारेन्टाइनलाई अझ थप व्यवस्थित गर्न आवश्यक रहेको र बाहिरबाट आएका प्रत्येकलाई सङ्घीय स्वास्थ्य मन्त्रालयको प्रोटोकलअनुसार क्वारेन्टाइनमा राख्ने तथा आवश्यक परीक्षण गर्नेतर्फ प्रभावकारी प्रबन्ध गर्न अनुरोध गरिएको छ ।

“पछिल्लो दुई सातायता प्रदेशभरि कोरोना भाइरस सङ्क्रमणका नयाँ बिरामी देखा नपरेकामा हामी कोरोनाको जोखिमबाट मुक्त भइसक्यौँ भन्ने निष्कर्ष निकालियो भने ठूलो दुर्भाग्य हुनसक्नेतर्फ सम्बद्ध पक्षको गम्भीर ध्यानाकर्षण गरिएको छ”, विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा कोरोना भाइरसको सङ्क्रमणका कारण सरकारले लागू गरेको लकडाउन एक महिना बितिसकेको अवस्थामा दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने मजदुर, विपन्न वर्ग, असहाय, अशक्त, वृद्धवृद्धालगायतलाई एक छाक जुटाउन पनि नसक्ने अवस्था सिर्जना भइसकेको भन्दै संसदीय दलले यी सबै वर्गलाई न्यायोचितरूपमा खाद्यान्नलगायतका राहत सामग्री वितरण गर्नुपर्ने राज्यको दायित्व भएकाले यसतर्फ ध्यान दिन आग्रह गरेको छ ।

नदीमा डुबेर दुई बालकको मृत्यु
कैलालीको घोडाघोडी नगरपालिका शिवपुरस्थित कान्द्रा नदीमा नुहाउने क्रममा डुबेर दुई बालकको शनिबार मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–१२ वनवर्षा बस्ने राजेन्द्रकुमार चौधरीका ११ वर्षीय छोरा सचिन र बैजनाथ चौधरीका १४ वर्षीय छोरा अनिष नदीको तटबन्धमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

नुहाउने क्रममा बेपत्ता भएका दुवै बालकको खोजीकार्य गर्दै जाँदा दिउँसो छुट्टाछुट्टै अवस्थामा मृत भेटिएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो । मृतक दुवैको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल राखिएको बताइएको छ ।

महिला मृत फेला
कैलालीको कैलारी गाउँपालिका–२ की ६८ वर्षीया एक महिला घर नजिकैको जङ्गलमा रहेको तलाउमा शनिबार मृत फेला परेकी छन् । वडा नं २ का प्रदेशी चौधरीकी श्रीमती भुमरकलीदेवी घरबाट दुई किलोमिटर टाढा पर्ने गौरीगणेश जङ्गलमा मौवा टिप्न भनी गएकामा अबेरसम्म घर नआएपछि आफन्तले खोज्ने क्रममा उक्त जङ्गलको नैनीतालमा मृतावस्थामा फेला परेको प्रनाउ बस्नेतले जानकारी दिनुभयो । मृतक चौधरीको शव सेती प्रादेशिक अस्पताल पठाइएको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !