१४ बैशाख २०८१, शुक्रबार

गाउँपालिकाको कोषमा नेकपाको सहयोग


रकम

दमौली, ३१ वैशाख । तनहुँको देवघाट गाउँपालिकाले खडा गरेको कोरोना सङ्क्रमण रोकथाम तथा उपचार कोषमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गाउँ कमिटीले रु रु दुई लाख ६९ हजार ५५ सहयोग गरेको छ । कोभिड–१९ को जोखिम न्यूनीकरण र बन्दाबन्दीबाट प्रभावितलाई राहत वितरणका लागि खडा गरिएको कोषमा नेकपाले उक्त सहयोग गरेको हो ।

पार्टी अध्यक्ष भुवनसिंह गुरुङले गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापालाई रकम हस्तान्तरण गर्दै नेकपा जनताको दुःखमा सदैव साथमा रहेको उल्लेख गर्नुभयो । पार्टीका कार्यकर्ता तथा शुभेच्छुकबाट सङ्कलन गरिएको उक्त रकमले गाउँपालिकाको अभियानमा सहयोग पुग्ने गुरुङले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष थापाले गाउँपालिकाको अभियानमा साथ दिएकामा नेकपाप्रति आभार व्यक्त गर्नुभयो । गाउँपालिकाले कोरोना कोषमा सहयोग गर्न सबैलाई आह्वान गरेको छ । नेकपाले जिल्लाका विभिन्न स्थानीय तहमा खडा गरिएको कोरोना कोषमा सहयोग गरेका छन् । हालसम्म नेकपाले व्यास नगरपालिकामा रु एक लाख ११ हजार १११, भीमाद नगरपालिकामा रु दुई लाख २१ हजार, आँबुखैरेनी गाउँपालिकामा रु एक लाख १७ हजार ७१७, म्याग्दे गाउँपालिकामा रु एक लाख ३९ हजार ६५५ र बन्दीपुर गाउँपालिकामा रु एक लाख ५१ हजार सहयोग गरेको छ ।

गाउँपालिकाको कोषमा रु ४३ लाख

तनहुँको आँबुखैरेनी गाउँपालिकाले स्थापना गरेको कोरोना कोषमा रु ४३ लाख ७० हजार ९९४ जम्मा भएको छ । उक्त कोषमा गाउँपालिकाले रु ३० लाख र प्रदेश सरकारबाट प्राप्त रु पाँच लाख जम्मा गरिएको छ भने बाँकी रकम सङ्घसंस्था तथा व्यक्तिबाट प्राप्त भएको छ ।

गाउँपालिकाका सूचना अधिकारी शिखरलाल डोटेलका अनुसार कोषमा गाउँपालिकामा कार्यरत कर्मचारीबाट रु एक लाख १४ हजार ६४९, नेपाली काँग्रेस गाउँ समितिबाट रु एक लाख ४१ हजार १११, इलाका प्रहरी कार्यालयबाट रु ३९ हजार १७५, मनकामना माई बहुउद्देश्यीय सहकारीबाट रु एक लाख एक हजार, आँबुखैरेनी बचत तथा ऋण सहकारीबाट रु ५० हजार ५००, नेकपा आँबुखैरेनीबाट रु एक लाख १७ हजार ७१७, रामशाह माविबाट रु ७० हजार ९०, आँबुखैरेनी समाज काठमाडौँबाट रु ५० हजार पाँच सहयोग प्राप्त भएको छ ।

व्यवसायी सङ्घद्वारा रु एक लाख

तनहुँको शुक्लागण्डकी नगरपालिकाले खडा गरेको कोरोना सङ्क्रमण रोकथाम तथा उपचार कोषमा क्रसर उद्योग व्यवसायी सङ्घ गण्डकी प्रदेशले रु एक लाख सहयोग गरेको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि नगरपालिकाले खडा गरेको कोषमा सङ्घले आर्थिक सहयोग गरेको हो ।

सो रकम बराबरको चेक सङ्घका अध्यक्ष सुरेन्द्र त्रिपाठीले नगरप्रमुख किसान गुरुङलाई हस्तान्तरण गर्नुभयो । विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ को जोखिम नेपालमा पनि बढिरहेकाले यसलाई नियन्त्रण गर्नु सबैको कर्तव्य रहेको सङ्घका अध्यक्ष त्रिपाठीले बताउनुभयो । सङ्घले सामाजिक उत्तरदायित्व वहन गर्नका लागि प्रदेशका विभिन्न स्थानीय तहमा समेत आर्थिक सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।

नगरपालिकाको कोषमा आर्थिक सहयोग गरेकामा नगरप्रमुख गुरुङले सङ्घलाई आभार व्यक्त गर्दै अन्य सङ्घसंस्थालाई पनि सहयोगको आह्वान गर्नुभयो । शुक्लागण्डकी नगरपालिकाले कोभिड–१९ को जोखिम नियन्त्रण र राहतलगायत सामग्री व्यवस्थापनका लागि रु ६० लाखको कोष खडा गरेको थियो । क्रसर उद्योग व्यवसायी सङ्घ गण्डकी प्रदेशले तनहुँको म्याग्दे गाउँपालिकामा पनि रु ७५ हजार सहयोग गरेको थियो । यसअगाडि सङ्घले गण्डकी प्रदेश सरकारलाई रु पाँच लाख सहयोग गरेको थियो ।

बन्दीपुर अस्पतालमा सफल शल्यक्रिया

तनहुँको बन्दीपुर अस्पतालमा पहिलोपटक गर्भवती महिलाको सफल शल्यक्रिया भएको छ । बन्दीपुर गाउँपालिका–२ बस्ने ३६ वर्षीया राधिका भण्डारीको मङ्गलबार शल्यक्रिया सफल भएको हो । सुत्केरी व्यथा लागेपछि सोमबार राति अस्पताल भर्ना हुनुभएकी भण्डारीको प्रसूतिकक्षमा सामान्य रुपमा शल्यक्रिया सफल भएको अस्पतालका मेडिकल सुपरिटेण्डेट डा डिबी क्षेत्रीले जानकारी दिनुभयो । डा क्षेत्रीका अनुसार आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य छ ।

बन्दीपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा क्षेत्रीको नेतृत्वमा ऐनेस्थेसिया अशिस्टेन्ट प्रशान्त केसी, स्टाफ नर्स सीमा सापकोटा क्षेत्री, अनमी समीक्षा थापा, अहेव रचना अधिकारी, ल्याब असिस्टेण्ट सुनिल थापा, अहेव रमा कायस्थलगायतको संलग्नतामा गर्भवती महिलाको शल्यक्रिया गरिएको हो ।

कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि बन्दाबन्दी जारी रहेको अवस्थामा घर नजिकैको अस्पतालमा शल्यक्रिया गराउन पाउँदा आफूहरुलाई पनि खुशी लागेको राधिकाका श्रीमान् दुर्गाबहादुर भण्डारीले बताउनुभयो । निक साइमन्स इन्स्टिच्युटको सहकार्यमा विगत चार महिनादेखि बन्दीपुर अस्पतालमा आकस्मिक शल्यक्रियाकक्ष स्थापना भएको थियो । शल्यक्रियाकक्ष स्थापना भएको चार महिनापछि पहिलोपटक गर्भवती महिलाको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

बन्दीपुर अस्पतालमा पहिलोपटक गरिएको शल्यक्रिया सफल भएपछि गाउँपालिकाका अध्यक्ष एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पूर्णसिंह थापाले स्वास्थ्यकर्मीको टोलीलाई बधाई ज्ञापन गर्नुभएको छ । आगामी दिनमा पनि अस्पतालको सेवा सुदृढ गर्दै शल्यक्रिया सेवा प्रभावकारी बनाउन गाउँपालिकाको तर्फबाट पूर्ण सहयोग रहने थापाले प्रतिबद्धता व्यक्त गर्नुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !