, सरकारद्वारा कर्जाको सावा ब्याज असुली चैत मसान्तसम्म स्थगन

सरकारद्वारा कर्जाको सावा ब्याज असुली चैत मसान्तसम्म स्थगन

नेपाल सरकारले कोरोनाबाट प्रभावित व्यवसायको कर्जाको सावा तथा ब्याज असुली चैत मसान्तससम्म स्थगन

१२ चैत, काठमाडौं । नेपाल सरकारले कोरोनाबाट प्रभावित व्यवसायको कर्जाको सावा तथा ब्याज असुली चैत मसान्तससम्म स्थगन गरेको छ । अब नेपाल राष्ट्र बैंकले त्यस्ता व्यवसायहरुको पहिचान गरी यो सुविधा क-कसले पाउने भन्ने निर्क्योल गर्नेछ । यस्तो सुविधा गैरबैंकिङ वित्तीय संस्थाका ऋणीले पनि पाउनेछन् ।

अर्थमन्त्री युवराज खतिवडाको अध्यक्षतामा बसेको वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले बैंकिङ, बीमा, धितोपत्र, कम्पनी दर्ता र बचत तथा ऋण परिचालन सम्बन्धी न्युनतम् सेवाहरुलाई निरन्तरता दिने निर्णय पनि गरेको छ । यस्तै, सहुलियतपूर्ण ऋण प्रवाहलाई सहज बनाउन, कर्जा पहुाच बढाउन पनि निर्देशन दिइएको छ ।

समितिको निर्णयअनुसार अर्थ मन्त्रालयले बैंक तथा वित्तीय संस्थाहरुबाट प्रभाव भएको कर्जाको वर्गीकरण तथा व्यवस्थालाई यथास्थितिमा राख्ने पनि जानकारी दिएको छ । त्यसैगरी बैंक तथा वित्तीय संस्थाहरुले नगदरहित कारोबारलाई प्रोत्साहन गर्न विद्युतीय भुक्तानी दूस्तुरमा छुट दिने वा त्यस्तो शुल्क न्युनतम् कायम गर्ने व्यवस्था गर्न पनि राष्ट्र बैंकलाई भनिएको छ ।

बैंकहरुमा निक्षेपका रुपमा आउने नोट र वितरण हुने नोटलाई डिस्इन्फेक्सन अर्थात् संक्रमणरहित बनाउन पनि निर्देशनमा भनिएको छ । यसैगरी अत्यावश्यकीय मेडिकल समाग्री र उपकरणको टीटीमार्फत आयात गर्दा विदेशी मुद्राको सीमा लागू नहुने व्यवस्था गर्न राष्ट्र बैंकलाई निर्देश गरिएको छ । यस्ता सामग्री प्रतितपत्र मार्फत आयात गर्दा राख्नुपर्ने धरौटी रकम पनि पुनर्विचार गरिने भएको छ ।

तरलताको अभाव हुन नदिन अर्थ मन्त्रालयले बाँकी भुक्तानी सरल र सहज तरिकाले गर्ने र राष्ट्र बैंकले पुर्नकर्जा कोषको समेत उपयोथग गरेर तरलता सहज गर्ने नीति लिइएको छ । आपूर्ति व्यवस्था सहज गर्न मझौला उद्योगको लागि आवश्यक ब्याजर विमा प्रिमियमको अनुदानको अर्थ मन्त्रालयले सुनिश्चित गर्ने भएको छ ।