१४ बैशाख २०८१, शुक्रबार

चीनसँगका रसुवागढी र तातोपानी नाका खुलाउने सरकारको निर्णय


कोरोना समिति

चैत १२, काठमाडौं । सरकारले समान आयात तथा निर्यातका लागि चीनतर्फको नाका खुला गर्ने भएको छ । कोरोना रोकथाम सम्बन्धी उच्चस्तरीय समितिको बुधबार बसेको बैठकले माघ १५ देखि बन्द चिनियाँ नाका खुला गर्ने निर्णय गरेको हो । स्वास्थ्य र कृषि मन्‍त्रालयको स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सञ्चालन गर्ने समितिको निर्णय छ ।

कोरोना भाइरसको जोखिम उच्च भएपछि चीन र भारत दुबैतर्फका सबै १७० वटा नाका बन्द गरेको सरकारले आपूर्ती सहज बनाउन भन्दै चीनका नाका भने खुल्ला गर्ने भएको छ । भारतसँग जोडिएका १६४ वटा सीमा नाका भने बन्द नै रहनेछन् । चीनसँगका पनि ६ वटा मध्ये २ वटा खुल्ला गर्ने सरकारले निर्णय गरेको छ ।

रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने उद्देश्यले खुलाइएको हो । भारतले समेत सोमबार मध्यरातिदेखि २१ दिनका लागि लकडाउन गरेपछि नेपालमा आयात हुने उपभोग्य सामग्री आउन समस्या हुने भएपछि यस्तो निर्णय भएको हो । सामान आयात निर्यात बाहेकको कामका लागि भारत र चीन दुवै तर्फका नाका गत आइतबारको मन्त्रिपरिषद् बैठकबाट बन्द गर्ने निर्णय भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !