२६ बैशाख २०८१, बुधबार

को हुन् काठमाडौँ महानगरका नवनिर्वाचित मेयर बालेन साह ?

को हुन् बालेन साह ?


बालेन साह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) साह निर्वाचित भएका छन् । नवनिर्वाचित साहले प्रतिस्पर्थी नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहलाई २३ हजार ४२६ मतले पछि पार्दै ३२ वर्षीय साह संघीय राजधानी काठमाडौँको महानगर प्रमुख निर्वाचित भएका हुन् ।

साहले ६१ हजार ७६७ मत प्राप्त गर्दा सिंहले ३८ हजार ३४१ मत प्राप्त गरेका हुन् । एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत प्राप्त गरी तेस्रो स्थानमा सीमित भए ।

‘स्ट्रक्चरल इञ्जीनियर’ बने काठमाडौँका नगरपिता

नव निर्वाचित कामपा प्रमुख साहले ह्वाइटहाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इञ्जीनियरिङमामा स्नातक र भारतको कर्नाटकबाट स्ट्रक्चरल इञ्जीनियरिङमा स्नातकोत्तर अध्ययन पूरा गरेका छन् ।

पछिल्लो समय उनी र्यापर’का रूपमा पनि परिचित छन् । हाल उनी काठमाडौँको वडा नं ९ गौरीगाउँमा बसोबास गर्दै आएका छन् । कामपा प्रमुख साहले पूर्वाधार, बाटो, विद्यालय, अस्पताल व्यवस्थापनदेखि शिक्षा सुधार र फोहर व्यवस्थापनबाटै नगरका कामको थालनी गर्ने जानकारी दिए ।

साथै भौतिक पूर्वाधार निर्माणको योजनासँगै काठमाडौँको सडकका खाल्डाखुल्डी पनि तत्काल पुर्ने कम सुरुआती चरणमा गर्ने उनको भनाइ छ । यसअघि जडान भएको सिसीटिभीलाई मर्मतसम्भार गर्दै सहरी सुरक्षाको लागि तत्काल १० हजार सिसीटिभी जडान गर्ने पनि उनको तत्काल सुरुआती काम पर्ने छ ।

उनले सरसफाइ, खानेपानी, यातायात साधनलाई वैज्ञानिकरूपमा सञ्चालन गर्ने, फोहरको दीर्घ समाधान, अव्यवस्थितरूपमा सहरलाई कुरुप पार्ने गरी यत्रतत्र छरिएको तारको व्यवस्थापन, सार्वजनिक शौचालयमा नागरिकलाई सहजताजस्ता सामान्य तर आवश्यक गर्नका लागि सम्बन्ध भएका निकायसँग समन्वय गरी काम गर्ने भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !