४ बैशाख २०८१, मंगलबार

लागूऔषधको रूपमा परिचित गाजाका अनगिन्ती फाइदाहरू


गाँजा

लागूऔषधको रूपमा परिचित गाजाका अनगिन्ती फाइदाहरू । गाजालाई लागूऔषधको रूपमा लिइने भएतापनि यसले मानवीय क्षति भने गरेको नदेखेको हुनाले आज यसको महत्व धेरै बढ्दै गएको देखिन थालेको छ । अहिले अमेरिका तथा युरोपका शहरमा गाजा खुला गरिएको छ । अन्य देशहरूले पनि गाजा सम्बन्धी नियम खुकुलो बनाउँदे गएका छन् । यसको ठोस कारण हो यसका अनगिन्ती फाइदाहरू ।

अमेरिकाका २३ राज्यले गाजालाई औषधिको रूपमा प्रयोग गर्न अनुमति दिएका छन् । भारतका केही राज्यले औद्योगिक प्रायोजन र औषधिको लागि गाजा खेती गर्न अनुमति दिएका छन् । त्यस्तै चीनमा पनि गाजाई खुला गरिदैछ । हेम्प (यसको प्रजाति) उत्पादनमा चीन फ्रान्स पछिको दोस्रो स्थानमा रहेको छ ।

नेपाल सरकारले अमेरिकी दबाबमा गाजाको प्रयोग र उत्पादनमा रोक लगाएको देखिन्छ । अमेरिका लगायत अन्य मुलुकबाट नेपालमा गाजा खान आउने गर्दथे । यही कारणले अमेरिकाले नेपालमा गाजा प्रतिबन्ध गर्न दबाब दिएर बन्द गराएको थियो तर अहिले आफै ठिक भन्दै खुला गरेको छ ।

अहिले करिब ४० वर्षपछि अमेरिकाले गाजाको प्रयोग र उत्पादन आफ्ना राज्यहरूमा शुरू गरेको पाइन्छ । गाजाको सेवनप्रति हरेक देशले र राज्यले आफ्ना नागरिकलाई अपराधीको रूपमा व्यवहार गरिरहन्थ्यो तर अहिले समय परिवर्तन भएको छ, जसले गर्दा गाजा खेतीप्रति आकर्षण बढेको देखिएको छ । हिजो अपराधको रूपमा हेरिने गाजालाई यसको फाइदा देखेर आज खुला गरिदैछ ।

हामी कहाँ चुरोट र रक्सी खानु सामान्य मानिन्छ तर गाजा खानु अपराध मानिन्छ । अनुसन्धान र अध्ययन अनुसार रक्सी र चुरोटको तुलनामा गाजा कम हानिकारक छ । जबदेखि मानिसलाई गाजाबारे थाहा भयो, तबदेखि नै यसको प्रयोग र ओभर डोजबाट कसैले पनि ज्यान गुमाएका छैनन् ।

सन् २०१० मा ल्यान्सेटमा प्रकाशित लेख अनुसार ड्रग एक्स्पेर्टले गरेको अध्ययन अनुसार चुरोट र रक्सीको असर भन्दा गाजाको असर तुलनात्मक रूपमा कम हुन्छ । हामी सोच्छौँ, गाजा सेवनकर्तामा यसको शारीरिक परनिर्भरता बढी हुन्छ ।

एक लेख अनुसार औषधि विज्ञानले गाँजालाई अहिले उपलब्धिमूलक र सहयोगी औषधिका रूपमा लिएको छ । ‘यसलाई विभिन्न प्रायोजनको लागि प्रयोग गर्न सकिन्छ । ग्लाउकोमा’ भन्ने आँखा रोग, मुर्छा पर्ने, अनिद्रा, अल्जाइमर्स, शारीरिक पीडा, अपच जस्ता समस्याको उपचारका निम्ति गाँजा सहयोगी देखिन्छ ।

क्यान्सर सेलहरू मार्न र रक्सी तथा अन्य हानिकारक लागूऔषधको लत छुटाउन पनि गाँजा उपयोगी हुने अनुसन्धानले देखाएको छ । यसको मद्दतले अरू थुप्रै किसिमका घातक रोगहरूको उपचार गर्न सकिन्छ । स्वास्थ्यका दृष्टिकोणले बढी सेवन गर्दा हृदय गति र यसको धुवाले श्वास-प्रश्वासमा असर नगर्ला भन्न सकिदैन तर सुर्तीजन्य पदार्थ भन्दा कम असर गर्ने भनेको छ ।

गाजालाई अनावश्यक प्रयोग होस् भनेर खुला गर्नुपर्छ भन्न खोजेको होइन यसबाट अनगिन्ती फाइदा उठाउन सकिने भएकाले यसलाई खुला गर्नुपर्छ भन्ने हामीलाई लागेको छ । हामीले यसका अनगिन्ती फाइदाको सही उपयोग गर्न सक्नुपर्छ । सरसर्ती हेर्ने हो भने गाजा खाएर कसैले सामाजिक अपराध गरेको खबर पाउन सकिदैन ।

रक्सीको मातमा विभिन्न अपराधिक घटना भएका छन् । बलत्कार, हत्याका घटना भएका छन् । त्यस्तै चुरोटले पुर्‍याउने क्षतिका बारेमा पनि हामी अवगत नै छौँ । अध्ययन अनुसार ६ मिलियन मानिस चुरोट सेवनले हरेक साल मर्ने गर्छन् । यही क्रम रहे सन् २०३० सम्म चुरोटको कारणले आठ मिलियन मानिसको ज्यान जान सक्नेछ ।

त्यस्तै अर्को अध्ययन अनुसार रक्सीको सेवनबाट संसारमा २.५ मिलियन भन्दा बढी मानिसको ज्यान जाने गरेको छ । तर गाजा सेवनबाट अहिलेसम्म कसैको ज्यान गएको सुनिएको छैन । यहाँ त रक्सी र चुरोटलाई आफ्नो शानको रूपमा लिने गरिन्छ । विवाह, व्रतबन्धमा पनि यसको प्रयोग खुलेआम हुने गरेको छ ।

स्वास्थ्यमा पुर्‍याउने क्षतिको हिसाब हेर्ने हो भने गाजा चुरोट र रक्सीको तुलनामा निकै कम हानिकारक छ । यहाँ धेरैको बुझाइ के छ भने गाजा भनेको लागूऔषध हो । त्यो सोचाइमा परिवर्तन आउन सकेको छैन । धेरैले के सोचेका छन् भने गाजा खाएपछि मानिस अरू दुर्व्यसनीमा फस्ने सम्भावना धेरै हुन्छ । तर अध्ययनले देखाए अनुसार त्यसो हुँदैन । साँच्चिकै दुर्व्यसनीमै फस्नुछ भने जाँड, चुरोट, रक्सी खाए पनि फसिन्छ ।

गाजा वातावरणमैत्री र कम खर्चमै उत्पादन गर्न सकिने वस्तु हो । यसका अनगिन्ती प्रयोग गर्न सकिन्छ । यसले नेपालको आर्थिक उन्नतिमा पनि ठूलो मद्दत गर्न सक्छ । गाजाको पातबाट लगभग हामीलाई आवश्यक सम्पूर्ण वस्तु उत्पादन गर्न सक्छौँ । हामीले यसबाट कागज, तेल, औषधि लगायत अन्य थुप्रै वस्तु उत्पादन गर्न सक्छौँ । यसको सही उपयोग गर्न सके नेपालमा रोजगारको अवसर सिर्जना गर्न सकिन्छ ।

एकजना विदेशीले भनेका थिए, नेपालमा भएको अमूल्य गाजा खेतीको सही प्रयोगले नेपाल एसियाको स्विट्जरल्यान्ड बन्न सक्छ । समयसँगै गाजाप्रति संसारको सोचाइ परिवर्तन हुँदै गएको अवस्थामा नेपालले पनि यससम्बन्धी कानुन खुकुलो बनाएर यसको सदुपयोग गर्नुपर्छ र यसबाट फाइदा लिन सक्नुपर्छ ।

हामीले पनि यसप्रतिको दृष्टिकोण र बुझाइमा परिवर्तन ल्याउनु आवश्यक छ । यसले गर्दा नेपालको आर्थिक उन्नतिमा ठूलो टेवा पुर्‍याउँछ । परिवर्तन संसारमा धेरै भएका छन् । परिवर्तन त्यसै हुने होइन हामीले परिवर्तन ल्याउन जान्नुपर्छ । आज देशको स्तरमा खाली जमिनलाई गाजाको उत्पादन बढाएर सुधार गर्न सकेको खण्डमा धेरै राम्रो हुने देखिन्छ ।

गाजालाई धुम्रपानको रूपमा कडाई गर्दै औषधिको र अन्य प्रयोजनका रूपमा प्रयोग गर्न सके देशले धेरै आय आर्जन गर्न सकिने भएको छ । देशमा उद्योग, कलकारखाना नभएको अवस्थामा यसले उत्पादन बढाएर बेरोजगारपन मेट्न सकिने प्रशस्त अवसर प्रदान गर्न सक्ने देखिन थालेको छ ।

गाजाको उत्पादन भनेको प्रकृतिको अनुपम उपहार हो भन्दा खासै फरक छैन । विश्वमा गाजाको उत्पादन नेपालबाटै भएको देखिन्छ । जब-जब हामीले प्रकृतिको उत्पादनलाई लत्याउछौं त्याहा नोक्सानीको सामाना गर्न पुग्दछौं । जुन चिज बहुमुल्य छ, त्यो त्यसै खेर गईरहेको छ ।

यो पनि पढनुहोस्

नेपाल अब कृषिप्रधान देश रहेन

नेपालमा लोकतन्त्र परिवर्तन हुदैछ लुटतन्त्रमा

सच्चा देशभक्त राजनेताको पर्खाइमा नेपाल आमा

नेपालको विकास किन हुन सकेन ? यसको ठोस कारण के हुन सक्छ

नेपाल चाहेमा स्विट्जरल्याण्ड बन्न सक्छ, तर गफ होइन काम गरौ

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !