८ बैशाख २०८१, शनिबार

सच्चा देशभक्त राजनेताको पर्खाइमा नेपाल आमा


सच्चा देशभक्त राजनेता
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

जनआन्दोलन ६२/६३ ले नेपालीको कायापलट हुने सपना देखेका हामी नेपाली माछो-माछो भ्यागुतो भएका छौं । आज हामीले देशको हितमा र नेपाली नागरिकको हकहितमा केहि गर्नुपर्छ भन्ने मलाई लागेको छ । मैले सोचेको थिए दुई तिहाईले बन्द उद्योग खोल्न र नयाँ-नयाँ उद्योगमा पैसा लगाएर बेरोजगारको अन्त गर्दै युवा पलायन हुनबाट रोक्नेछ तर भएन अब यस्तो अवसर फेरि कसैले नपाउने निश्चित छ ।

अब कसले यस्तो अवसर पाउन सक्छ । यदि यही अवस्था हुन्छ भने नेतृत्वको पछि नलाग्नुस भन्ने मेरो आम नागरिकलाई आग्रह छ । केका लागि पछि लाग्ने ? कर बढाउन वा जनचाहना अनुसार काम नहोस् भन्न । आज भ्रष्टाचार मौलाएको छ । के नेपाली जनताले भ्रष्टाचार गर भनेर पठाएको हो र ? हिजो मिलिजुली सरकारले केही गरेन भन्ने जनगुनासो थियो र दुईतिहाईको सरकारले केही गर्छ भन्ने आशा थियो तर आफ्नो लागि मात्र सोच्ने गरेको देखियो के यो गलत होइन त ?

आज युवाको हितमा सोच्नु पर्नेमा युवालाई नै विदेश लखेट्ने परिपाटी यो सरकारले गरेको देखिन थालेको छ । जनताको चाहना अनुसार काम नहुनु दुर्भाग्य हो । देशको आन्तरिक राजनीतिक नेतृत्व साहसी नहुँदा विदेशीले समेत दवाउन थाल्दछ । यसको उदाहरण भनेकै भारतले नेपालको भू-भाग मिचेर देखाउनु हो । यदि गर्ने हो भने यहाँ के छैन । सवै हुँदाहुँदै पनि केही हुन नसक्नु के यो दुर्भाग्य भएन त ? देश सुहाउदो भेष भनेकै देशमा के को कमी छ भन्ने कुरा बुझ्नुपर्ने थियो । कुर्सीको लागि विदेशी गुहार्ने परिपाटीले गर्दा नै आज नेतृत्वको इज्जत समाप्त भएको छ ।

हिजो राजसंस्थाले गरेन भन्नेहरु नै कुर्सी तानातानमा व्यस्त छन् । भ्रष्टाचार गर्नमा व्यस्त छन् यहाँ देश र जनताको हित भन्दा स्वार्थमा बढी तल्लीन देखिएका छन् । के यो पाराले देशको स्तर उन्नती सम्भव होला त ? आज जुनसुकै पदमा रहन पनि सहि नेतृत्वको खाँचो यो देशलाई हुदैछ । आज मेरो होइन हाम्रो भन्ने व्यक्तिको खाँचो छ यो देशलाई । सामाजिक हितमा लाग्ने व्यक्तिको आवश्यक महसुस हुदैछ यो देशलाई । यहाँ देश सुहाउदो भेषभूषाको खाँचो हुदैछ यो देशलाई । यहाँ धर्मनिरपेक्षता होइन हिन्दू धर्म संस्कृतिको आवश्यक हुदैछ यो देशलाई । पहिला राम्रो काम गरेर नागरिकको मन जित्न सक्नुपर्ने थियो यहाँ हुन सकेको छैन् ।

देशको माया गर्ने सच्चा देशभक्त राजनेता अझसम्म देशले पाउन सकेको देखिएन । यदि यही अवस्था रहिरहे देशको अवस्था के हुन सक्छ ? आज पैसा बाहिर गइरहेको देखिन्छ कसरी रोक्न सकिन्छ भन्नेतर्फ सबैको ध्यान केन्द्रित हुन आवश्यक छ । नेपालीलाई परनिर्भरबाट हटाउन अत्यावश्यक बस्तु बाहेक सवै रोकेर नागरिकलाई काममा लगाउने वातावरण मिलाउन आवश्यक छ यो देशलाई । नागरिकले गरेको मेहनत खेर गएको छ । नागरिकले उत्पादन गरेको हरेक बस्तुले बजार पाउन सकेको छैन । नागरिकको मेहनतको कदर भएको छैन । चाहे कृषि होस् या उद्योगबाट उत्पादन भएको बस्तु नै किन नहोस् बजार पाउन सकेको छैन के यो दुर्भाग्य होइन त ? अरू भएर खुसी छन् हामी भएर पनि दु:खी छौं ।

समग्र नेपालीलाई हानीरहित उपचारको खाँचो देखिएको छ। जडिबुटी त्यसै खेर गएको छ । नेपाली जडिबुटी चमत्कारीक रूपमा काम गर्ने कुरा अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चाको विषय बनेको परिप्रेक्ष्यमा सरकारको ध्यानाकर्षण नभएको देखिन्छ । नेपालमा उत्पादन हुने जडिबुटीलाई प्रयोगमा ल्याउन सके नेपाली सारा निरोगी हुने देखिन्छ । रोग लागेर मर्नुभन्दा रोग नै लाग्न नदिनु उपयुक्त हुनुपर्छ तर आज हामी करोेडौं रुपैयाको जडिबुटी विदेश पठाउन बाध्य छौं । कसरी देशको उत्थान सम्भव छ ? सरकारले पढेका लेखेका खोज्दा खोज्दै जडिबुटी लोपोन्मुख हुन थाली सके के यसरी देशको विकास सम्भव छ ?

भगवान कृष्णले गीतमा भन्नु भएको छ कि जब जब धर्मको हानी हुन्छ, अधर्मको वृद्धि हुन्छ त्यस बेलामा मैले आफुलाई प्रकट गरेको हुन्छु । जसरी उदाउंदो सूर्यले रात्रिको अन्धकारलाई नाश गरी दिन्छ त्यसै गरी आत्माको ज्ञानले समस्त भ्रम निवारण हुन जान्छन् । विषयको चिन्तन गर्ने मानिसको तत्तत विषयमा आसक्ति हुन जान्छ । आसक्तिले कामना उत्पन्न हुन्छ, कामनाले क्रोध उत्पन्न हुन्छ, क्रोधले अविवेक उत्पन्न हुनजान्छ । अविवेकले स्मृति भ्रम र स्मृति भ्रमले बुद्धिनाश अनि बुद्धिनाशले मानिस पतन हुनजान्छ । परिवर्तन संसारको नियम हो । जसलाई तिमी मृत्यु सम्झन्छौ, त्यही जीवन हो । भौतिक विज्ञानले पनि भन्छ यो संसारमा जुनसुकै वस्तुको अवस्था गतिशील छ । संसार र मानिसको सोच पनि समयको गतिसंगै परिवर्तनशील छन् ।

आजका नेतामा राजनेताभित्र हुनुपर्ने इमानदारी, कर्तव्यपरायण एवम् राष्ट्रभक्ति जस्ता आधारभूत गुणहरूलाई व्यवहारमा उतार्दै नेपालको वर्तमान चुनौतीलाई चिर्ने साहस, धैर्य, क्षमता र कार्ययोजना सहित राष्ट्र निर्माणमा लागेको खण्डमा राजनेता बन्ने अवसर पनि छ । विषम परिस्थितिमा राष्ट्रलाई सुमार्गतर्फ लैजानु नै सच्चा राजनेताको दायित्व र कर्तव्य मानिन्छ । विश्व राजनीतिलाई सर्सर्ती हेर्दा संसारका कुनै पनि राष्ट्र जब-जब विषम र सङ्क्रमणको अवस्थाबाट गुज्रिरहेको हुन्छ त्यस्तो अवस्थामा नै पक्का राष्ट्रप्रेमी राजनेताको उदय भएको पाइन्छ । मेरो देश नेपालले एउटा सच्चा देशभक्त राजनेता खोजेको छ, जसलाई आजसम्म पाएको छैन । इतिहास र समयको कालखण्डमा पाउनेछ भन्ने आशा गरौ ।

यो पनि पढनुहोस्

नयाँ नेपाल निर्माणको एउटा सपना

नेपाल नबन्नुमा यहाँका शासकहरु र राजनीतिक नेतृत्वहरु दोषी – डा. केसी

नयाँ नेपाल बनाउन बिल्कुलै नयाँ विचार र दूरदर्शी सोचको टड्कारो आवश्यकता – डा. संग्रौला

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !