, कसरी रोक्छौ युवाहरुलाई देशमा ?

कसरी रोक्छौ युवाहरुलाई देशमा ?

” तर म त काम नलाग्ने युवा परेँ, खुलेरै कुनै पनि पार्टिको झण्डा नबोकेको अनि कुनै पनि पार्टिको नेताको घरमा गएर स्वस्ती पनि नगरेको । न कुनै पार्टिका नेताले चिन्छन् न कुनै संगठनमा मेरो नाम छ । त्यहाँ पनि नेपालमै बसेर पढेको न सरकारी जागिर न काठमाण्डौमा घर न बा को पेन्सन् । कस्ले गन्ने हो र मलाइ ? ” । उस्ले अल्ली निराश भएर भन्यो ।

त्रीभुवन विश्वविध्यालयको अर्थशास्त्र केन्द्रीय बिभागबाट एम. ए. गरी नेपाल कानुन क्याम्पसबाट एल. एल. बि. गरेको उ सङ्ग मेरो ल क्याम्पसमा भेट भएको थियो। ” क्रीमिनल ल” मा हाम्रो ब्याजमा उच्च अंक ल्याएको उ, एम. ए. अर्थशास्त्रमा पनि प्रथम श्रेणीमा पास भएको थियो पाँच बर्ष अघाडी । अग्लो कद, गोरो बर्णको, हँसिलो अनुहार तिष्ण बुद्धि, हरेक कुरा पुर्ण होसमा गर्ने र तर्क पुर्ण कुरा गर्ने उ कोही युवा भन्दा कम छैन ।

“हरेक प्राइभेट बैंक चाहारेँ, सहकारी, फाइनान्स केही बाँकी छैन म नगएको” पाइलट चुरोट मुखको दायाँ पट्टी भागमा दुइ ओठले च्यापेर फुङ्ग धुवाँ उडाउँदै उस्ले भन्यो ।

“साला!! आफन्त भन्ने एउटा पनि ठाउँमा पुगेको छैन, आफैँ लगानी गरेर केही गरौँनत भने पनि दुइ कौडी दिने कोही छैन, बाउ बुढा छन्, फर्केर गाउँ जाउँ भने साला! यो सर्टिफिकेट्को के काम ?” शब्द बिहिन भयो उ ।

“अनी अहिले के गर्दै छौ त” ?

उस्को धाराप्रबाहलाइ रोक्दै सोधेँ मैले ।

“यहिँ एउटा कलेजमा पढाउँछु, बल्ल तल्ल बाँच्न पुगेको छ” ।

“ए राम्रै रछ त, कलेज पढाउने काम राम्रै होनि”, थपेँ मैले ।

“यो इच्छाले गरेको होइन, यो त बाँच्नको लागी मात्र हो” ।

“तिम्रो इच्छा चाहिँ के छ त ?” उसको अनुहार हेर्दै सोधेँ मैले” ।

धुवाँ आउन छोडेको चुरोटको ठुटो भुइँमा फाल्दै उस्ले भन्यो, “मेरो इन्ट्रेस्ट त इको टुरिजममा छ, दुइ बर्ष देखी त्यही सोचिराछु, मेरो डिग्रीको थेसिस पनि तेसैमा हो” ।

“के गर्न सक्छौ एसमा ?” प्याच्चै सोधेँ मैले ।

“तँलाइ इकोटुरिजम के हो त बुझाउनु नपर्ला, बाँकी कुरा मेरो योजना, सबै त तँलाइ सुनाउन्न तर एति चाहिँ बुझिराख कि यदी म सङ्ग अहिले दुइ करोड हुने हो भने म अर्को दुइ बर्षमा पाँच करोड बनाइदिन्छु” ।

घाँटी चिलाएर ख्वाक्क खोकेँ मैले ।

“थाहाथियो मलाइ तैँले खोक्छस भन्ने कुरा” हल्का रिसाएर भन्यो उस्ले ।

मैले भने “खोकेको हैन, हो तेरो प्लान असाध्यै राम्रो होला, तर त्यो योजना प्राप्त गर्नको लागी सुरुवात सानो काम बाट गर्नु पर्छ हेर्, दुइ करोड पाए गर्छु भनेर कुरिरहिस भने त तेरो योजना कैले पनि सफल हुँदैननि, कस्ले दिन्छ त तँलाइ दुइ करोड ?”

त्यसै त्यसै स्वाँ स्वाँ गर्दै रिसाएर उठ्यो उ र भन्यो “तँ जस्तो साथी र कुकुर जस्ता नेताहरु भएर हो यो देश बिग्रेको, हेर्दै जा एक दिन गर्छु म त्यो अवश्य गर्छु”  आँखा तर्दै उ हिँड्यो त्यहाँबाट ।

सबै हामीलाइ हेरेर ट्वाल्ल पर्न थाले ।

भोलिपल्ट योजना आयोगको अफिसमा अर्को पुरानो मित्र संग भेट भयो । बि. एस. सि. संगै गरेका साथी संग निकैबेरको भलाकुसारी पछी नयाँ कुरा थाहाभयो “हिजोको साथी त बिगत दुइ बर्ष देखी डिप्रेसनको औसधी खाँदै रहेछन् । “राम्रो पढ्यो, भने जस्तो गर्न सकेन, सपना ठुलै थियो उस्को, तर अचानक खै के भयो कुन्नि, डाक्टरकोमा गएपछी मात्र थाहाभयो कि उ ता डिप्रेसनको लास्ट स्टेजमा पुगिसकेको रहेछ”, उन्ले भने ।

आज प्रधान मन्त्री प्रचण्डले “कसरी युवाहरुलाई देशमै रोक्न सकिन्छ” भनेर अर्थशास्त्रीहरुलाई प्रश्न गरे भनेको सुनेपछि, उसलाइ सम्झिएँ र नाम र ठेगाना उल्लेख नगरिकन एति लेख्ने चेश्टा गरेँ । अनिआफैँले आफैँलाइ प्रश्न गरेँ “देश मा आफैँ रोकिएकाहरुको हालत एस्तो छ, यिनले रोके भने भोली को अवस्था कस्तो होला ?

युवालाइ देशमा रोक्न त पहिला हामिजस्तो देश अनि बिदेशमा रहेका युवालाइ सोध्नु पर्ने होइन र प्र.म ज्यु ? ?