एआई डिजाइन सांकेतिक तस्वीर ताप्लेजुङ । हिमालपारिका जिल्लामध्ये ताप्लेजुङ एउटा यस्तो भूगोल हो, जहाँ प्रकृतिले जल–शक्ति, सौन्दर्य र सम्भावनाको असिम स्रोत बाँडेको छ । विश्वकै दुई शक्ति राष्ट्रलाई जोड्ने जिल्ला ताप्लेजुङको टिपताला नाका हुँदै चीनलाई र भारतलाई जोड्ने नाकाहरु व्यवस्थित गराई व्यापारिक मुनाफा आर्जन गरी जिल्लालाई मात्र नभई नेपालको पूर्वी भेगलाई आर्थिक समृद्धि तथा सामरिक पहुँच सावित गराउने दायित्व हाम्रो जन्मभूमि ताप्लेजुङले तपाईं हाम्रो हातमा सुम्पिएको छ ।
ताप्लेजुङ, जसले २,००० मेगावाटभन्दा बढी जलविद्युत् उत्पादन क्षमता बोकेको छ तर बिडम्वना, त्यही जिल्लाका बासिन्दा आज पनि अस्थिर र अविश्वसनीय बिद्युत आपूर्तिको समस्यामा जकडिएका छन् ।
२०६९ सालदेखि राष्ट्रिय प्रसारण लाईनमा जोडिने जलविद्युत आयोजना ताप्लेजुङमा (५ मेगावाट क्षमताको फावाखोलामा निर्माण भएको सिवानी हाइड्रो) निर्माण भएयता यो जिल्लाको नदीबाट हालसम्म करिब १५० मेगावाट बराबरको विद्युत उत्पादन भइसकेको छ र थप ५०० मेगावाट भन्दा बढी क्षमताका आयोजनाहरू निर्माणधीन अवस्थामा छन् । यो आँकडा मात्रले पनि देखाउँछ—ताप्लेजुङ नेपालकै ऊर्जा–केन्द्र बन्न सक्ने असीमित सम्भावनाको भूमी हो । तर यो सम्भावनालाई व्यवहारमा उतार्ने काम अझै अपुरो र अधुरो छ ।
ताप्लेजुङमा झण्डै ६५० मेगावाट बिद्युत उत्पादन हुँदा, आयोजनाबाट प्रत्यक्ष प्रभावित क्षेत्रको लागि गरिने विकास निर्माणका कामहरुको लागि छुट्याउनै पर्ने Community Support Program (CSP) को बजेट अनुपातिक हिसावले हुन आउने रकम अनुमानमा नेरु १ अर्ब (एक अर्ब) जति कहाँ कसरी खर्च भए ? गरिए ? गरिदैछ ? खोज्ने दिन आएको छ । आयोजनाको संरचना निर्माणमा प्रयोग भएका गिट्टी, बालुवाको दहत्तर बहत्तर कर बापत जिल्ला र स्थानीय निकायले पाउने रकम कहाँ कसले कसरी बुझाए/पाए ? ढिलो चाँडो खोज्ने र खोजिने समय आइसकेको छ । कुनै दिन यसको हिसाब मौज्दात डेडिकेटेड ट्रंक लाइनको विद्युत बक्यौता जस्तै नहोस भन्ने कामना समेत गरिरहेको छु । जिल्लामा उत्पादित प्राविधिकहरु बेरोजगार छन् र बाहिरबाट आयात गरेर काम लगाइएको छ ? सोको हिसाब र स्थानीय रोजगारीको प्रत्याभूति हुने दिन समेत आइसकेको छ ।
एक दश क अघिसम्म डिजेल जेनेरेटर चलाएर तीन गुणा महँगो विद्युत महसुलमा दैनिक ४ घण्टा पनि विद्युत प्राप्त गर्न नसक्ने ताप्लेजुङले, राष्ट्रिय प्रसारण लाइनको विद्युत उपभोग गर्नु पनि निकै पेचिलो विषय बनेको थियो । तर अहिले ताप्लेजुङ् विद्युतको हव बनेको छ । तर, ताप्लेजुङका अधिकांश विद्युत उपभोक्ताहरू हाल पाँचथरको अमरपुर सबस्टेशनबाट सञ्चालित ३३ के.भी. प्रसारण लाइन मार्फतको आपूर्तिमै निर्भर छन् । अमरपुर सबस्टेशन हुँदै ३३ के.भि. क्षमताको करिब २४ कि.मि. लामो हिटि सबस्टेशनको दुरिमा पर्ने रुख, बाँस, पहिरो र अन्य विविध कारणले हुन सक्ने अवरोध साथै अमरपुर सबस्टेशनभित्रका उपकरणमा कुनै खराबी आयो भने सम्पूर्ण ताप्लेजुङ अन्धकारमा डुब्ने र पटक-पटक लामो समय ब्ल्याक आउट समेत भइसकेका प्रशस्त उदाहरणहरु छन् ।
केही वर्ष अघिदेखि सञ्चालनमा आएको यो क्षेत्रकै ठुलो ढुंगेसाँघु सबस्टेशनबाट करिब १५ किलोमिटर दूरीमा यो हिटि सबस्टेशन ताप्लेजुङ् रहेको छ । अमरपुर सबस्टेशनबाट ढुंगेसाँगु सबस्टेशनलाई १३२ के. भि. डबल सर्किटले जोड्ने आयोजना समेत सञ्चालनमा छ । यो जोडिए पश्चात अमरपुर सबस्टेशनको विद्युत आपूर्ति विश्वसनीयता वृद्धि हुने भएतापनि पूर्ण समाधान हुननसक्ने स्पष्ट छ । यसको मुख्य कारण भनेकै कावेली सबस्टेशनभित्रका ट्रान्सफर्मर, बसबार, वा स्विचगियरमा आउन सक्ने समस्या र २४ किलोमीटर प्रसारण लाईनका नियमित प्राकृतिक साथै प्राविधिक समस्याहरु, जसलाई इन्टर–लिंकले पनि ताप्लेजुङको बिद्युत आपूर्ति सुनिश्चित गर्न सक्दैन ।
आजसम्म अमरपुरबाट हिटि जोड्ने एकमात्र प्रशारण लाइन भएकोले र उ बेला आवश्यकता पूर्तिको लागि अन्य विकल्प समेत नभएकोले झण्डै १० वर्ष यो लाइनबाट ताप्लेजुङबासीले आफ्नो गुजारा चलाएपनि, अव भने जिल्लामा अन्य धेरै आयोजनाहरु र अत्यन्तै भरपर्दो ढुंगेसागु सबस्टेसनबाट एउटा ३३ के. भि.को हिटि समर्पित प्रसारण लाइन तत्काल आवश्यक पर्ने यो स्तम्भकारको ठम्याइ छ । अन्यथा पटकपटक नियमित मर्मत, हावाहुरी वा चट्याङका कारण लाइन बन्द हुँदा अस्पताल, विद्यालय, उद्योग, सरकारी कार्यालयदेखि घरायसी उपभोक्ता सबै प्रभावित भई जनजीवन अस्तब्यस्त हुने गरेको पाइएको छ । यस्तो अवस्थामा ऊर्जा उत्पादक जिल्लाले अविच्छिन्न उर्जा सुरक्षाको वैकल्पिक व्यवस्थापन अनिवार्य रहेको सम्बन्धित पक्षलाई यसै स्तम्भ मार्फत अपिल गर्दछ ।
ताप्लेजुङलाई अब ढुंगेसाँगु सबस्टेशनबाट सिधै हिटि सबस्टेशनसम्म ३३ के.भी. प्रसारण लाइन निर्माण भइसके पश्चात ताप्लेजुङको विद्युत प्रणालीलाई यसले दोहोरो सुरक्षा सिर्जना गर्नेछ र एक मार्ग बन्द भएपनि अर्को मार्गले बिद्युत् प्रवाह सुनिश्चित गर्नेछ ।
ढुङ्गेसाघु–हिटि लाइनको आवश्यकता र लाभ
१. प्रसारणमा स्थायित्व र विश्वसनीयता
– अमरपुर–हिटि लाइनमा खराबी हुँदा ढुङ्गेसाघु–हिटि लाइनले आपूर्ति कायम राख्नेछ ।
– यसले आपतकालीन अवस्थामा ‘बैकअप लाइन’ को रूपमा काम गर्नेछ ।
२. स्थानीय उत्पादनको उपयोग
– ताप्लेजुङ र आसपासका आयोजनाबाट उत्पादित विद्युत् स्थानीय क्षेत्रमा खपत गर्न सजिलो हुनेछ ।
– लोड व्यवस्थापन सन्तुलित हुनेछ, जसले ट्रिपिङ र ओभरलोड जस्ता समस्या घटाउँनेछ ।
३. उद्योग र सेवाक्षेत्रमा प्रोत्साहन
– स्थिर विद्युत् आपूर्तिले साना उद्योग, होटल, प्रशोधन केन्द्र, तथा घरायसी व्यवसायहरूमा उत्पादनशीलता बढाउनेछ ।
– विद्यालय, अस्पताल, सरकारी निकायमा निर्वाध सेवा प्रवाह हुनेछ ।
४. ऊर्जा सुरक्षा
– आपूर्ति अवरोध घटाउँदा उपभोक्ताको मनोबल र उद्योग लगानीमा विश्वास बढ्नुका साथै घरेलु यानेकी भान्सामा इलेक्ट्रिक चुल्होको खपत वृद्धि हुँदै ग्यासको खपत घटाएर ग्रीन इनर्जी खपत उन्मुख ताप्लेजुङ् हुनेछ ।
ढुङ्गेसाघु–हिटि प्रसारण लाइन मात्रै होइन, अमरपुर – डाडा गाउँ सिनाम जाने ३३ के.भि.प्रसारण लाइनको भरपर्दो आपूर्ति व्यस्थापन र जिल्लाको ऊर्जा सुरक्षाका लागि थप रणनीतिक उपायहरू पनि अवलम्बन गर्नै पर्ने अवस्था छ:
– हिटि सबस्टेशनका उपकरणको आधुनिकीकरण
हिटि सबस्टेशन साथै यहाँबाट प्रसारित हुने वितरण लाईनहरुको गुणस्तर अभिवृद्धिको लागि सबस्टेशनमा उच्च गुणस्तरीय ट्रान्सफर्मर, सर्किट ब्रेकर, अन्य स्विचिङ उपकरण र SCADA प्रणाली जडान गर्दै update बनाइनु पर्दछ ।
– स्थानीय मर्मत–सम्भार टोलीको सुदृढीकरण
लाइन अवरोध हुँदा तत्काल मर्मत गर्न दक्ष जनशक्ति र उपकरण जिल्लामै उपलब्ध हुनुपर्छ ।
– स्थानीय तह, प्रदेश सरकार, नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रबीच सहकार्य आवश्यक छ । ग्रामीण भेगका अधिकांश नेपालीहरुको क्रयशक्ति कम्जोर रहेकोले, गाउँका मानिसको जीवनस्तर द्रुतगतिमा उकास्ने योजनाहरु ल्याइ हरेक व्यक्तिको उर्जाखपत क्षमता वृद्धि गराइनु जरुरत छ । विश्व मापदण्डलाई नियाल्ने हो भने नेपाली नागरिकको एक वर्षको प्रतिव्यक्ति खपत – ३५० किलोवाटको सेरोफेरोमा रहेको छ भने, अमेरिकी नागरिकको एक वर्षको – ९००० किलोवाट हो भने कतारी नागरिकको एक बर्षमा – १५००० किलोवाट खपत क्षमता रहेको छ । यो सब मुलुकको आर्थिक हैसियत र नागरिकको क्रयशक्तिमा पूर्ण भरपर्ने गर्दछ ।
अब ताप्लेजुङको नदीनाला केवल भौगोलिक सौन्दर्यका प्रतीक मात्र नरही, तपाईं-हाम्रो भविष्य अनि समृद्धिको ऊर्जा–धारा बनिसकेका छन् । उर्जा उत्पादनसंगै यथोचित प्रसारण लाईनको निर्माण र आजको मुख्य चुनौती आपूर्ति सञ्जालको उचित व्यस्थापन गरिनु हो । त्यसैले अव नीति, योजना र लगानी सबैको केन्द्र “प्रसारण र वितरण प्रणाली सुदृढीकरण” हुनुपर्छ ।
ढुङ्गेसाघु–हिटि ३३ के.भी. लाइन केवल प्रविधिक परियोजना मात्र होइन—यो ताप्लेजुङको आत्मनिर्भर ऊर्जा यात्राको ढोका हो । यसले जिल्लालाई आत्मनिर्भर, उद्योगमैत्री र स्थायी विकासको बाटोमा अग्रसर बनाउनेछ ।
ताप्लेजुङको ऊर्जाको कथा अब परिवर्तनको मोडमा छ । नदीले क्षमता दिएको छ, जनताले आकांक्षा बोकेका छन् र प्राविधिक पक्षले समाधान पनि देखाएको छ । अब आवश्यक छ—निर्णायक नेतृत्व र समयमै कार्यान्वयन ।
ढुङ्गेसाघु–हिटि प्रसारण लाइन तत्काल निर्माण गरी, अमरपुर सबस्टेशनमा निर्भरता घटाइने हो भने ताप्लेजुङले अन्धकारबाट उज्यालोतर्फ स्थायी कदम चाल्नेछ।
ऊर्जा अब केवल उत्पादन होइन, सुरक्षित वितरण र विश्वसनीय पहुँच हो—र यही बाटो समृद्ध ताप्लेजुङको आधार बन्नेछ ।
(लेखक ई. वीरेन्द्र श्रेष्ठ, तीन दशकदेखि व्यावसायिक तवरले जलविद्युत क्षेत्रमा काम गरिरहेका वरिष्ठ इन्जिनियर तथा जलविद्युत आयोजनाका प्रवर्धक हुन् भने जलस्रोतको अधिकतम सदुपयोग गर्दै यसैबाट मुलुकको समृद्धिको ढोका खोल्न सकिन्छ भन्ने अभियन्ता समेत हुन्।)
यो पनि पढ्नुहोस्
जेनजी, रवि, हर्क, बालेन र आम परिवर्तनगामी देशवासीहरुलाई खुला पत्र
युवा राजनीतिक युगको स्वागतमा नेपाल
ब्रह्माण्ड, प्रकृति र चैतन्यका अन्तरभावहरु
जलवायु परिवर्तनको चपेटामा नेपाल : चुनौती, सचेतना र यसका समाधानका उपायहरु
के नेपालले सन् २०३५ सम्ममा २८५०० मेगावाट विद्युत् उत्पादन गर्न सक्छ ?
पृथ्वी जयन्ती र क्रान्तिको सार
ताप्लेजुङको विकासको लागि इन्जिनियर वीरेन्द्रले देखे यस्तो सपना
नेपालका राजनीतिक दलको बिरासत अनि आजको आवश्यकता
नेपालका राजनीतिक दलप्रति जनताको दृष्टिकोण
प्राकृतिक विपद् र नेपालको अवस्था
आकाशिँदो मूल्यवृद्धि भित्रका शालिन नेपाली जनता












