काठमाडौँ । नेपालको विकास र जनताको समृद्धि दशकौँदेखि राजनीतिक नारामा कैद छ । संविधान र कानुन पुस्तकहरुमा मात्र सीमित छन्, व्यवहारमा भने सत्ता-सन्तुलन र दल भक्तिले नागरिकलाई बेवारिसे बनाएको छ । विधिको शासन भन्नाले कुनै दल, नेता वा व्यक्तिगत स्वार्थभन्दा माथि कानुनको सर्वोच्चतालाई बुझाउँछ। तर दुर्भाग्य, नेपालमा कानुन नेताको हातको चुट्की र जुँघाको लडाई बनेको छ । यही संस्कार अब तोड्नुपर्नेछ र त्यो जिम्मेवारी नयाँ पुस्ता अर्थात् परिवर्तनगामी जेनजीको काँधमा छ ।
सामान्यतया समान कानुन व्यवहारत: लागू हुन, अपराधीलाई दल वा पहुँचवाला व्यक्ति अथवा नेताको नजिक भई जोगाउने परम्पराको अन्त्य हुनुपर्छ । कानुन सबल र दुर्बलसँग विभेदरहित समान नागरिकजस्तै बराबर व्यवहार गर्ने चरित्र बोकेको राज्य संरचना चाहिन्छ । अपराधी आफ्ना परे ? निरपराध करार गर्ने र विपक्षी निरपराधलाई अपराधी करार गर्ने सस्कारले मुलुकमा द्वेष निम्त्याउने र अन्ततः अकल्पनीय बिस्फोट मुलुकले सहनुपर्ने दिन आउने हरेक राष्ट्रभक्त नेपालीले देखिभोगी सकेका छन् । आफू, आफन्त र एकादलका सहयात्रीहरु अपराध गरी प्रहरी हिरासतमा वा जेल (पुर्पक्ष वा सजाय भोग्ने क्रममा) पर्दा अनेकन शक्ति, पैसाको प्रयोग गरेर अपराधी छुटाउन वा राज्यशक्ति लागेर निरपराध करार गर्न लागेका लाखौ उदाहरणहरु छन् तर आफ्नो राजनीतिक पेशा उदाङ्ग पार्ने डरले व्यक्ति विशेषलाई झुठा लाञ्छना लगाई अपराधी करार गर्न राज्य नै लागि परेको उदाहरण समेत हामीले देखिसकेका छौं । यसलाई चिर्न अबको सरकारलाई ठुलो चुनौती छ ।
मुलुक सबल बनाउन स्वतन्त्र न्यायपालिका र निष्पक्ष तथा दर्विलो सुरक्षा संयन्त्रको आवश्यकता पर्दछ । राजनीतिक दलहरूको दबाबमा झुकेको प्रहरी, प्रशासन र अदालत अबको नेपालमा स्वीकार्य हुँदैन । युवाले दबाब सिर्जना गरी यी संस्थालाई जनताको हितमा पुनः उभ्याउनुपर्नेछ । राजनीतिकर्मीहरुबाट गल्ती भइहाले पनि लोकतन्त्रमा नागरिक सर्वोच्चताको हेक्का प्रहरी तथा प्रशासनलाई सुक्ष्म तवरले बुझाउनुपर्ने खड्किएको अवस्था भाद्र २३, २०८२ को घटनाले देखाउँछ । लोकतन्त्रले व्याख्या गरेझैँ, नागरिक सर्वोच्चता कायम राख्न प्रहरी, प्रशासन, न्यायालय र सेना समेतलाई उच्चतम ज्ञानको आवश्यकता रहेको प्रष्ट देखिन्छ ।
१. दलभन्दा माथि राष्ट्रप्रेम
युवाले कुनै पनि दललाई अन्धभक्त भएर होइन, राष्ट्रहितमा योगदान गर्न सक्ने आधारमा मात्र समर्थन गर्नुपर्नेछ। घरघरमा गाडिएको दलको झण्डाले ७/८ सय बर्ष अगाडी युरोपमा भेडा गोठालोले आफ्नो झण्डाको आधारमा आफ्ना पशु छुट्याए झैं आफ्ना भोटर गनेर फुइ लगाउने पुराना राजनीतिक दललाई नैतिकता, एजेन्डा र प्रतिस्पर्धाको आधारमा मात्र निर्वाचनमा आउन यहि निर्वाचन देखिनै पहरेदार गर्ने जिम्मेवारी युवा पुस्तामा आइसकेको छ ।
२. नयाँ विचार, नयाँ अभ्यास
नयाँ विचार, नयाँ अभ्यास अनुरुप पुरानो पुस्ताले प्रयोग गरेको जातीय, धार्मिक, क्षेत्रीय विभाजनको राजनीति अव अस्वीकार गर्दै, समावेशीता, समान अवसर साथै पारदर्शितालाई मूल मान्यता बनाउने ।
३. प्राविधिक दक्षता र नवप्रवर्तन
सूचना प्रविधि, नवीकरणीय ऊर्जा, जैविक कृषि र पर्यटन प्रवर्द्धनमा युवाको सीप र नवीनतम ज्ञान प्रयोग गर्ने। विश्व बजार डिजिटल युगमा प्रवेश गरिसकेको र यसको लागि तल्लो हिमाली क्षेत्र उपयुक्त स्थान हुनसक्ने भएकोले आध्यात्म र बिज्ञानलाई जोडेर अधिकतम लाभ लिने ।
४. श्रम र सीपको सम्मान
“काम सानो–ठूलो छैन” भन्ने संस्कारलाई राजनीतिक नेतृत्वले व्यवहारमै उतार्ने । युवा नेतृत्वले श्रमलाई राजनीतिक शक्ति र गौरवसँग जोड्ने । जिल्ला-जिल्लामा नमुना बिद्यालयहरुको मापदण्ड अभिवृद्धि गर्दै १२ पास भएका विद्यार्थी कुनै न कुनै एक विधामा उच्च सीप हासिल गरि त्येही सिपको माध्यमले आफ्नो जीवनयापन गर्न सक्षम बनाउने ।
युवाको राजनीतिगमनको स्पष्ट खाका
(क) शिक्षा र मूल्य–मान्यता
मुलुक विकासको आधार स्तम्भ नै शिक्षा हो । विद्यालय स्तरदेखि “सत्य बोल्ने, झूट नसहने” भन्ने संस्कारलाई राजनीतिक चेतनासँग जोड्ने । पाठ्यक्रममै “नागरिक शिक्षा, सदाचार, पारदर्शिता” सम्बन्धी नैतिक विषयलाई बलियो बनाउने ।
(ख) संगठित रूपमै राजनीति प्रवेश
शिक्षालयमा राजनीतिक दलको संघ, संगठन पूर्णत: खारेज गरी राजनीतिक चेतना अभिवृद्धि गर्ने पाठ्यक्रम, कार्ययोजना, क्लब आदि खडा गरी देश-विदेशका राजनीतिक मुद्दाहरुको बहस र ति मुद्दाहरुमा आफ्नो प्रष्ट विचार राख्ने स्थान बनाईदिने । इच्छुक युवालाई नागरिक–समूहमार्फत मुलधारको नेतृत्वमा ल्याउन खुला अवसर दिने ।
(ग) स्थानीय शासनमा प्रत्यक्ष सहभागिता
नेपालमा हिमाल, पहाड र मधेश रहेकोले र विशेषत: बर्षायाममा भैपरी आउने विपद्को अवस्थामा सडक सञ्जाल अवरुद्ध हुने भएकोले, जेष्ठ नागरिकहरुले पैदल यात्रा गरेर जनसेवा गर्न कठिन हुने साथै नयाँ युगले मागेको समाज सेवामा युवाहरु नै समाजको प्रतिनिधि बन्न उपयुक्त हुने भएको साथै विकासको जग नै गाउँ वा स्थानीय सरकार भएकोले, युवा राजनीतिज्ञलाई स्थानीय स्तरमा समाजसेवाको लागि प्रोत्साहन गर्ने ।
गाउँपालिका, नगरपालिकाबाटै युवा नेतृत्व उदाउने व्यवस्था मिलाउने । संवैधानिक कोटा व्यवस्था मिलाएर २१–३५ वर्ष उमेर समूहलाई स्थानीय स्तरमा उम्मेदवार बन्न प्रोत्साहित गर्ने ।
(घ) डिजिटल लोकतन्त्र
सामाजिक सञ्जाललाई प्रचार मात्र होइन, नीति निर्माणको उपकरण बनाउने । खुला बहस, नागरिक मत संग्रह प्रयोग गर्ने ।
(ङ) राष्ट्रिय उत्पादन र आत्मनिर्भरता अभियान
उर्वरभूमि, सिचाइ र जलविद्युतको लागि प्रशस्त नदिनाला भइरहँदा पनि खाने अन्नमा र अझै पनि जलविद्युतमा समेत परनिर्भर रहिरहनु परेको कारण मुलुकको आर्थिक अवस्था खच्किदो छ । यसर्थ, युवाले राजनीतिक नारा मात्र होइन, व्यवहारिक कार्यक्रम ल्याउने जसले जलविद्युत उत्पादन र निर्यात,कृषि–उद्योग आधुनिकीकरण, पर्यटन प्रवर्द्धन आदिमा ठोस कार्य गरी आयातमुखी मुलुकको अवस्थालाई ५ बर्षमै निर्यातमुखी बनाउने ।
(च) अन्तर्राष्ट्रिय कूटनीति
केही दशक अघिसम्म हाम्रो मुलुकको भन्दा कम्जोर आर्थिक अवस्थाका मुलुकमा नेपाली नागरिक रोजगारीको लागि गइरहनु परिरहेको अवस्थालाई हृदयंगम गर्दै व्यापार र राजनीतिलाई छुट्टा-छुट्टै कित्तामा राखेर व्यवसायिक युगमा प्रवेश गर्ने दिनको सुरुवात नया पुस्ताले गर्नुछ । नेपालमा बन्द भएका कलकारखाना, नया स्वदेशी तथा बहुराष्ट्रिय कम्पनीका ठुला पुँजीका उद्योगहरु स्थापना गरी विदेश पलायनमा रहेका लाखौं युवालाई राष्ट्र निर्माणमा जोड्ने ।
असंलग्न परराष्ट्र नीति अन्तर्गत नेपाललाई शान्ति र सहकार्यको केन्द्र बनाउन युवा कूटनीतिक अभियान सञ्चालन गर्ने । परराष्ट्र नीति एकल मापदण्डको बनाउन राष्ट्रिय सहमति तय गर्ने ।
अब नेपालमा दल–केन्द्रित राजनीति होइन, नागरिक–केन्द्रित राजनीतिको आवश्यकता छ । जबसम्म नागरिकभन्दा माथि दल र दलभन्दा माथि नेता राखिन्छ, नेपालले समृद्धिको बाटो पाउने छैन। लोकतन्त्र भन्नाले नागरिक सर्वोच्चता नै नया युगको मुल मन्त्र हो ।
परिवर्तनगामी जेनजीको बलिदान र विद्रोहले खोलिदिएको नयाँ ढोका अब बन्द हुनै नसक्ने गरी खुलेको छ । भाद्र २३ गतेको केही घण्टामै दर्जनौ वीर शहिदको बलिदानले उचाई हासिल गरी ३५ बर्षदेखि जकडिएको सत्ता उल्टिएको छ । नवगठित अन्तरिम सरकारले फागुन २१, २०८२ भित्र निर्वाचन सम्पन्न गराउन भएको प्रतिबद्धता अनुरुप द्रुतगतिमा आफ्ना काम (आन्दोलन दबाउन बल प्रयोग गर्नेलाई सजाय, २०४८ साल यताका उच्च पदस्थ राजनीतिज्ञ वा कर्मचारीको सम्पती शुद्धीकरण, सम्पुर्ण भ्रष्टाचार काण्डको उच्चस्तरीय छानबिन, प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचन, प्रदेशसभा खारेजी, काम गर्ने राष्ट्र सेवकलाई पुरस्कृत र काम नगर्नेलाई तत्काल कारबाही लगायत अन्य थुप्रै कामहरु) सम्पन्न गर्नु गराउनु छ ।
जेनजी स्ताले मुलुकमा ख्याति कमाएका विशिष्ट व्यक्तिहरुलाई सत्ताको बागडोर सुम्पिएर प्रतिगमनको खवरदारी गरिरहेको छ र परिवर्तनगामी जेनजीको ठूलो चुनौती नै अहिले निर्माण भएको सरकारको सुरक्षण रहेको छ । झन्डै ४ दशकदेखि नियमित एउटै दलमा मतदान गरिरहेका नागरिकहरु, पद, डर, लोभले ग्रसित समूह, साना-तिना काम गरिदिएर भावना र परिवन्धले कसम खुवाई आजीवन राजनीतिक दास बनाइएका समाजका पिडित निमुखाहरुमाथि न्याय र स्वतन्त्रताको अनुभूति दिलाइनु पर्नेछ ।
समाजमा राजनीतिक दास बनाएका व्यक्तिहरुको उल्लेख्य प्रतिशत रहने भएको र गठबन्धनको नाममा हुने जनता झुक्याउने खेललाई बुझेर अब आउने निर्वाचनमा नया परिवर्तनगामी शक्तिहरु एक हुन जरुरी छ । अनि मात्र यो पुस्ताले भाइचारा, अखण्डता र राष्ट्रिय गौरवलाई आत्मसात गर्दै विधिको शासनमा आधारित नयाँ राजनीतिक युग निर्माण गर्नेमा आश्वस्त हुन सकिने छ ।
लेखक सिरीजंघा-१ सिनाम, ताप्लेजुङ निवासी ईन्जिनियर वीरेन्द्र श्रेष्ठ लोकपप विधाका पूर्वका चर्चित गायक समेत हुन् । लामो समयदेखि जलविद्युतको विकास निर्माणमा संलग्न हस्ती वरिष्ठ ईन्जिनियर श्रेष्ठ मुलुक समृद्धताको लागि आफ्ना अनेकन फाइदाहरुलाई त्यागेर अनवरत मुलुकको सेवामा लागी परेका छन् । हाल उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङको सभापति समेत हुन् ।
यो पनि पढ्नुहोस्
ब्रह्माण्ड, प्रकृति र चैतन्यका अन्तरभावहरु
जलवायु परिवर्तनको चपेटामा नेपाल : चुनौती, सचेतना र यसका समाधानका उपायहरु
के नेपालले सन् २०३५ सम्ममा २८५०० मेगावाट विद्युत् उत्पादन गर्न सक्छ ?
पृथ्वी जयन्ती र क्रान्तिको सार
ताप्लेजुङको विकासको लागि इन्जिनियर वीरेन्द्रले देखे यस्तो सपना
नेपालका राजनीतिक दलको बिरासत अनि आजको आवश्यकता
नेपालका राजनीतिक दलप्रति जनताको दृष्टिकोण
प्राकृतिक विपद् र नेपालको अवस्था
आकाशिँदो मूल्यवृद्धि भित्रका शालिन नेपाली जनता












