काठमाडौँ । अधिकांश नेपालीहरूले मनाउने सबैभन्दा ठूलो पर्व हो “दशैं”, जसले हाम्रो समाजको धार्मिक, सांस्कृतिक, र सामाजिक उच्च महत्व राख्ने गरेको छ । दशैंको समयलाई शुद्धता, सजावट र समृद्धिको पर्व मानिन्छ । दशैं आउनु अघि घर, आगन, बाटो, घाटो, र सार्वजनिक स्थलहरूको सरसफाइ गर्ने परम्परा छ । यसले धार्मिक र सांस्कृतिक सन्देश दिनुका साथै स्वास्थ्य र वातावरणीय सरसफाइको महत्वलाई पनि उजागर गरेको छ ।
दशैंले धार्मिक र सांस्कृतिक सन्देश दिनुका साथै स्वास्थ्य र वातावरणीय सरसफाइको महत्वलाई पनि उजागर गरेको छ ।
नवरात्रिको अगाडिको सोह्र श्राद्ध हिन्दू धर्ममा पितृहरूको सम्झनामा गरिने विशेष कर्मकाण्ड मानिन्छ । यो भाद्र पूर्णिमादेखि अश्विन अमावास्याको १६ दिनसम्म मनाइन्छ । यस अवधिमा मृतक आफन्तहरूको आत्माको शान्तिको लागि तर्पण, पिण्डदान र अन्य धार्मिक कार्यहरू गरिन्छ । पितृलाई आफ्नो लोकबाट पृथ्वीमा आएर आफ्नो सन्तानबाट भोजन प्राप्त गर्ने मुहुर्तलाई सोह्र श्राद्ध मानिन्छ । यसले कुललाई पवित्र राख्ने, पितृ दोष निवारण गर्ने र परिवारमा सुख–समृद्धि ल्याउने विश्वास गरिन्छ ।
दशैंलाई विशेषगरी सम्पन्नताको पर्वको रूपमा लिइन्छ । नयाँ लुगा लगाएर वर्षभरी समृद्धि, सुखको कामना गर्ने प्रचलन छ । यो नयाँ सुरुवातको प्रतीक समेत मानिन्छ, जहाँ मानिसहरूले जीवनमा सकारात्मक ऊर्जा ल्याउने प्रयास गर्छन् । नयाँ लुगा लगाउनुलाई देवीदुर्गाको सम्मान स्वरूप मानिन्छ । मानिसहरू देवीलाई खुसीपार्न शुद्ध मन र शरीरले पूजा–अर्चना गर्छन्, जसमा नयाँ लुगालगाउनुलाई शुद्धताको प्रतीक मानिएको छ ।
दशैंको इतिहासले हिन्दू धर्मका पुराण र पौराणिक कथाहरूसँग गहिरो सम्बन्ध राख्छ । यसको प्रमुख आधार रामायण र दुर्गा सप्तशतीमा पाइन्छ । रामायणमा भगवान रामले “देवीदुर्गा”को आराधना गरेर रावणलाई पराजित गरेको कथा छ । यसैले यो चाडलाई दुर्जनमाथि सज्जनको विजय र अधर्ममाथि धर्मको विजयको प्रतीक समेत मानिन्छ । दुर्गा सप्तशतीमा उल्लेख गरिएअनुसार देवीदुर्गाले महिषासुर नामक असुरलाई नौ दिनसम्म लगातार युद्धगरी दसौं दिनमा पराजित गरेर संसारलाई दानवी शक्तिबाट मुक्त गरेको कथा अनुरुप नै नवरात्री पुजाको शुभारम्भ भएको मानिन्छ र दसौं दिन “विजयादशमी”लाई विजय उत्सवको रुपमा टिका लगाउने प्रचलन रहिआएको छ ।
दशैंको अर्को सांस्कृतिक आधार कृषि उत्पादनसँग जोडिएको छ । दशैंको समयमा वर्षा ऋतु समाप्त हुन्छ, खेतमा बालीनाली पाक्ने समय आउँछ । यो समयमा मानिसहरू भगवान र देवीदेवतालाई आभार व्यक्त गर्न पूजा–अर्चना गर्छन्, जसले गर्दा खेतीपाती राम्रो हुने विश्वास गरिन्छ । यसकारण, दशैंलाई समाजमा धार्मिक पर्वको रूपमा मात्र नभएर कृषिपर्वको रूपमा पनि मान्ने गरिन्छ ।
दशैंको दौरान केही विशेष ठाउँहरूमा कुमारी पूजा पनि गरिन्छ । यस पूजा अन्तर्गत, बालिकाहरूलाई देवीदुर्गाको अवतार मानेर पूजा गरिन्छ । विशेष गरी काठमाडौँ उपत्यकामा यो पूजा गर्ने चलन कायम छ, जसलाई शक्ति र पवित्रताको प्रतीक मानिन्छ । नवरात्रि देवी दुर्गाको उपासनाको पर्व हो, जसले दानव महिषासुरलाई पराजित गरेको विजयको प्रतीक मानिन्छ । यो ९ दिनसम्म मनाइन्छ, जहाँ प्रत्येक दिन दुर्गाको विभिन्न स्वरूपहरूको पूजा गरिन्छ ।
प्रथम दिन : शैलपुत्री (शक्तिको पहाडकी छोरी)
दशैंको पहिलो दिन (जमरे औंसी) यानेकि घटस्थापना, विशेष मुहूर्तमा यसको प्रायः बिहानै शुभ साइतमा यो विधि गरिन्छ । देवी दुर्गाको प्रतीकको रुपमा पवित्र कलश स्थापना गरि कलशमा पानी भरी त्यसको मुखमा दूबो, पान, सुपारी, सिक्का राखेर यो माथि नरिवल राखिन्छ । कलशलाई सेतो वा रातो कपडाले छोपिन्छ । यसलाई जमरा उमार्ने स्थानमा वा पूजा कोठामा राखिन्छ । जमरा उमार्नको लागि शुद्ध माटोमा जौ, गहुँ, वा मकैको बिउ छरिन्छ । यसलाई पवित्र स्थानमा राखेर प्रतिदिन जल अर्पण गरिन्छ, जसले दसौं दिनमा सकेसम्म पहेँलोे जमरा फलाईन्छ । यो जमरा दुर्गा माताको प्रसादको रूपमा दशमीमा पूजा गरी टीका सगैं लगाइन्छ । घटस्थापनासँगै दुर्गा माताको पूजा प्रारम्भ हुन्छ, जसमा दुर्गा सप्तशती वा चण्डी पाठ गरिन्छ ।
दोस्रो दिन : ब्रह्मचारिणी (तपस्याको देवी)
तेस्रो दिन : चन्द्रघण्टा (शान्ति र कल्याणकी देवी)
चौथो दिन : कूष्माण्डा (सृष्टिको आरम्भ गर्ने देवी)
पाँचौ दिन : स्कन्दमाता (स्कन्द अर्थात् कार्तिकेयकी माता)
छैठौँ दिन : कात्यायनी (ऋषि कात्यायनकी तपस्याको फलस्वरूप जन्मिएको)
सातौं दिन : कालरात्री (दुर्गाको उग्र रूप)
दशैंको सातौं दिन (सप्तमी) विशेष रूपमा मनाइन्छ । यस दिन देवी दुर्गाको पूजामा प्रयोग हुने विभिन्न पवित्र बोटबिरुवाका सात प्रजातिहरूलाई एकत्रित गरेर घरमा भित्र्याइन्छ । फूलपातीलाई देवी दुर्गाको प्रतीक मानिन्छ र यो परम्पराले दसैंको धार्मिक र सांस्कृतिक महत्व झल्काउँछ । फूलपातीमा विशेष ७ प्रकारका बिरुवाहरूलाई महत्व दिइन्छ, जसमा:
– केरा (सन्तान सुखको प्रतीक)
– दारिम (धन, वैभव)
– धान (समृद्धिको प्रतीक)
– मकै (खाद्य स्रोत)
– हल्दि (शुद्धता)
– बेल (शक्तिको प्रतीक)
– अशोकको पात (दुःख निवारण)
यी बिरुवाहरूलाई पवित्र स्थल वा खेतबारीबाट बडादशैंको लागि एकत्रित गरिन्छ ।
फूलपाती बढाई : राजदरबार वा ठूला घरानाहरूमा फूलपातीलाई विशेष महत्व दिइन्छ । पुराना समयमा राजाहरूको दरबारमा फूलपाती बढाई विशेष समारोहका साथ गरिन्थ्यो । काठमाडौँको हनुमान ढोकामा अहिले पनि विशेष समारोह आयोजना गरिन्छ, जहाँ सेनाको ब्यान्ड, बाजागाजा र परम्परागत तरिकाले फूलपाती भित्र्याइन्छ । साधारण घरहरूमा फूलपातीलाई विधिपूर्वक पूजाकोठामा भित्र्याइन्छ । यस दिन देवी दुर्गाको विशेष पूजा गरिन्छ, र फूलपातीलाई देवीको प्रतिकको रूपमा पूजास्थलमा राखिन्छ ।
आठौं दिन : महागौरी (शुद्धता र शान्तिकी देवी)
नेवारी समुदायमा आठौं दिनको साँझदेखि नेवारी भोजको सुरुवात गरिने चलन छ । घरलाई बिशेष सफासुग्घर बनाएर बिभिन्न परिकारलाई पातमा पस्केर पितृ, कुल देवता र घरमा नभएका मान्यजनलाई समेत भाग छुट्याएर मात्र घरको मुलिले खानाको सुरुवात गरि भोज संचालन गर्ने पवित्र परंम्परा रहिआएको छ । नेवारी समुदायमा ऐलालाई देविको सगुनको रुपमा लिइन्छ ।
नवौं दिन : सिद्धिदात्री (सिद्धि दिने देवी)
महाकालीको पुजा तथा मौलो पुजा गरि रांगा वलि दिने चलन रहि आएको छ ।
नवरात्रीको अन्त्यमा दसौं दिन, विजयादशमी (दशैं) मनाइन्छ, जसलाई असत्यमाथि सत्यको विजयको प्रतिकको रुपमा लिने गरिन्छ । दसैंको समयमा आफन्त, नातेदार र परिवारका सदस्यहरू एकत्रित हुन्छन्। टीका थाप्ने चलनले आफन्तहरूसँगको स्नेह र प्रेमलाई प्रकट गर्दछ । दशैंले परिवारलाई एकजुट गर्ने अवसर प्रदानगर्दछ। विशेष गरी शहरमा बस्ने मानिसहरू गाउँ फर्किन्छन् र पुराना सम्बन्धहरूलाई बलियो बनाउँछन् । दसैंको समयमा बजाइने दशैं गीत, मालश्री धुन, अनिवार्य जस्तो खेलिने पिङ, विभिन्न परम्परागत संस्कारहरूले मौलिक संस्कृतिको जगेर्ना समेत गरिरहेको पाइएको छ ।
आम नेपाली सस्कारमा, दशैंमा कोशेली लाने चलन शुभकामनाको प्रतीक हो । मासु, मिठाइ, र नयाँकपडाको समर्पणले वर्षभरि समृद्धि, सम्पन्नता र सुखको कामना गरिएको संकेत मानिन्छ । यो परम्पराले दुवै परिवारलाई आर्थिक र सामाजिक रूपमा समर्थन गर्ने तथा सम्बन्धलाई बलियो बनाउने उद्देश्य राख्दछ । यसरी, दशैंमा कोशेली लाने परम्परा नेपाली समाजको एउटा महत्वपूर्ण हिस्सा हो, जसले पारिवारिक सम्बन्धलाई बलियो बनाउँछ र चाडपर्वको हर्षोल्लासलाई बढाउँछ ।
अक्सर दशैंमा टीका ग्रहण गरिसके पश्चात खुट्टामा ढोग्नुले आफूभन्दा ठूला, अग्रज वा ज्ञानी व्यक्तिहरूप्रति हाम्रो सस्कारको उच्चतम सम्मान र आदर प्रकटको संकेत हो । खुट्टा जीवनको आधार हो, जसले हरेक व्यक्तिको श्रम, त्याग, र यात्रा देखाएको हुन्छ । त्यसैले खुट्टामा ढोगेर आशीर्वाद लिँदा विनम्रता र आदरको भाव प्रकट हुन्छ भन्ने मान्यता रहिआएको छ ।
दशैं “परिवार र समाज”मा सद्भाव र प्रेमको प्रतीक हो । दशैंमा टीका थाप्ने र जमरा लगाउने चलनले पारिवारिक प्रेम र एकताको झल्को दिन्छ। दसैंमा ठूलाबडाबाट आशिर्वाद लिने र सानालाई मायाको दानदिने चलनले सामाजिक सम्बन्धलाई अझै बलियो बनाउँछ । यसले अखण्डताको सन्देश पनि दिन्छ, किनभने दसैंले हरेक व्यक्तिलाई आफ्ना परिवार र समुदाय सँग नजिक हुन प्रोत्साहित गरिरहेको हुन्छ ।
दशैं “परिवार र समाज”मा सद्भाव र प्रेमको प्रतीक हो । दशैंमा टीका थाप्ने र जमरा लगाउने चलनले पारिवारिक प्रेम र एकताको झल्को दिन्छ। दसैंमा ठूलाबडाबाट आशिर्वाद लिने र सानालाई मायाको दानदिने चलनले सामाजिक सम्बन्धलाई अझै बलियो बनाउँछ ।
दशैंमा देवीदुर्गाको आराधना गरिन्छ, जसलाई शक्ति र विजयकी देवी मानिन्छिन् । नौ दिनसम्म गरिएको दुर्गा पूजाले भक्तहरूलाई देवीप्रतिको श्रद्धा, विश्वास, र समर्पण झल्काउँछ। यो चाडले दैविक शक्ति प्रतिको सम्मान, मानवता, धर्म, र सत्यप्रतिको विश्वासलाई प्रवल पारेको छ । टीकाः विजया दशमीको दिन ठूलाबडाबाट रातो टीका र जमरा लगाउने प्रचलन छ । भगवानको आशीर्वादले सबैलाई आरोग्यता, दिर्घायु, समृिद्ध, सुख, खुसी र प्रगतिको कामना गरिन्छ भनि दिईने सन्देश समेत हो यो ।
दशैंमा केहि समुदायमा सेतो टीका लगाउने चलन रहिआएको पाइन्छ । सेतो टीका विशेष गरी पूजा र शुभकर्मका लागि लगाइन्छ । सेतो रंग शुद्धता, शान्ति, र पवित्रताको प्रतीक हो । विशेषतः सत्यमाथि ध्यान दिने धार्मिक कर्महरूमा सेतो टीका लगाइन्छ, जसले ईश्वरप्रति समर्पण, सत्य र शान्तिको प्रतीक मानिन्छ । विशेष पूजा, मृत्यु संस्कार वा अन्य गम्भीर धार्मिक क्रियाकलापहरूमा सेतो टीकाको प्रयोग गर्ने गरेको पाईन्छ । तर, दशैंमा प्रयोग गरिने टीका मुख्यतः रातो हुन्छ, जो शक्ति, विजय, र समृद्धिको प्रतीक हो । हिन्दू धर्ममा रातो रंगलाई देवीदुर्गा र अन्य देवीदेवतासँग सम्बन्धित मानिन्छ, जसले साहस, शक्ति, र विजयको प्रतिनिधित्व गदर्छ। विजया दशमीको दिन रातो टीका लगाउँदा देवीदुर्गाको आशीर्वाद लिने र जीवनमा विजय प्राप्त गर्ने संकेत गर्छ । यसले मानिसको मनोबल, सकारात्मक ऊर्जा र आशावादी दृष्टिकोणलाई बढाउँछ ।
दशैंले सामाजिक सद्भाव र मेलमिलापलाई प्रवर्द्धन गदर्छ । टीका लगाएर ठूलाबडाले आशीर्वाद दिने र सानाले सम्मान गर्ने परम्पराले समाजमा आपसी सम्मान र सद्भाव कायम राख्न मद्दत पुर्याएको छ । दशैंको समयमा विशेषगरी गाउँहरूमा पिङ खेल्ने चलन छ । यो खेलले ग्रामीण जनजीवनलाई संजीवनी दिने काम गरेको छ । टीका थाप्नका लागि आफ्ना मान्यजन, गुरु, या समाजका प्रतिष्ठित मानिसहरू कहाँ जाने चलनले सम्मान र स्नेहको परम्परालाई जगेर्ना गरेको छ ।
दशैंमा बलिपूजा (आहुति दिने) गरिन्छ, जसले देवीलाई खुसी पार्न र शक्तिप्रदान गर्न समर्पण गरिएको देखाउँछ । विशेषगरी महाकाली, महादुर्गा, र महासरस्वतीलाई बलि चढाइन्छ । बलिपूजाको चलनले मानिसको असुर प्रवृत्ति, अज्ञानता र अहंकारलाई देवीप्रतिको समर्पण मार्फत समाप्त पार्न अभिप्रेरित गर्छ र यो दानव शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीक को रुपमा समर्पित छ । तर, समयसँगै, बलिपूजाको चलनमा धेरैनै कमी आउन थालेको छ ।वातावरणीय र पशुप्रति करुणाको विचार गर्दै यो प्रचलनलाई दीगो र वैकल्पिक तरिकामा बदल्न खोजिएको पाइन्छ ।
दशैंका आर्थिक पाटाहरु
व्यक्तिगत र पारिवारिक खर्चहरू तीव्र रुपमा बढ्ने गरेको पाइन्छ । नेपाल राष्ट्र बैंकका अध्ययनमा दसैंको समयमा औसत घरपरिवारले वार्षिक खर्चको एक प्रमुख अंश यही समयमा गरेको पाइन्छ ।
धेरै घरपरिवारले दशैंका लागि ऋण समेत लिएर मनाइएको पाइन्छ । गाँउगाँउमा दशैंको समयमा गरिएको खर्चको भार बर्षभरी काम गरेर पनि तिर्न नसकेका कथाहरु थुप्रै सुन्ने गरिन्थ्यो भने, दसैंको खर्चका लागि धेरै परिवारले वर्षभरि बचत गर्ने गर्छन् । दसैंका लागि विशेष गरी गाई, बाख्रा, कुखुरा पालेर वा अन्य उत्पादन बेचेर पैसा जोहो गर्ने चलन समेत यथावत छ ।
धेरै घरपरिवारले दशैंका लागि ऋण समेत लिएर मनाइएको पाइन्छ । गाँउगाँउमा दशैंको समयमा गरिएको खर्चको भार बर्षभरी काम गरेर पनि तिर्न नसकेका कथाहरु थुप्रै सुन्ने गरिन्थ्यो
दशैंको समयमा रेमिट्यान्स प्रवाह अत्यधिक बढ्ने गरेको पाईएको छ । वैदेशिक रोजगारमा रहेका नेपालीहरूले दसैंको तयारीका लागि परिवारलाई पैसा पठाउँछन् । रेमिट्यान्स नेपालमा उपभोगको प्रमुख स्रोत हो, जसले दसैंको खर्चको ठुलो हिस्सा धान्छ । राष्ट्र बैंकको तथ्यांकले देखाउँछ कि दशैंको समयमा रेमिट्यान्सले अर्थतन्त्रमा नगद प्रवाहमा वृद्धि गराउँछ, जसले बजारमा माग बढाउँछ र उपभोक्ता खर्चमा तीव्रता ल्याउँछ । यसले विशेष गरी ग्रामीण क्षेत्रको आर्थिक गतिशीलतालाई बलियो बनाउँछ । दसैंले नेपालमा उपभोक्तावादलाई तीव्र बनाउँछ । दशैंको समयमा व्यापार वृद्धि हुँदा उपभोक्ता खर्चले ठूलो भूमिका खेल्छ । आर्थिक गतिविधिहरूले व्यापारिक लाभ बढाउँछ, जसले समग्र अर्थतन्त्रलाई गति दिन्छ । दशैंमा स्थानीय किसान र उत्पादकहरूले आफ्नो उत्पादन बजारमा बेच्ने मौका पाउँछन् । विशेष गरी खसी, बाख्रा, मासुजन्य उत्पादन, अन्न, र अन्य खाद्यवस्तुको माग बढ्छ, जसले स्थानीय अर्थतन्त्रलाई सशक्त बनाउँछ ।
दशैंको समयमा बजारमा अस्थायी रोजगारीको माग बढ्छ। यो पर्वलाई लक्षित गर्दै निर्माण, व्यापार, यातायात र सेवा क्षेत्रमा रोजगारी सिर्जना हुन्छ । दशैंको समयमा धेरै सामानहरूको माग अत्यधिक हुन्छ, जसले मूल्य वृद्धि (इन्फ्लेशन) ल्याउन सक्छ । विशेष गरी मासु, खाद्यान्न, र यातायात सेवामा दशैंको बेला मूल्य वृद्धि हुने गरेको छ । यसले उपभोक्ताहरूलाई केही आर्थिक चुनौतीसमेत ल्याउन सक्छ ।
दशैंमा यात्राको माग अत्यधिक हुने भएकाले यातायात क्षेत्रले ठुलो मुनाफा गर्छ । आन्तरिक पर्यटनमा वृद्धि हुनाले होटल र रेस्टुरेन्ट व्यवसायमा पनि सकारात्मक असर पर्छ । दशैंले घरेलु उद्योगलाई प्रोत्साहन गर्छ । विशेष गरी हस्तकला, ढाका कपडा, परम्परागत खाद्य पदार्थ र अन्य स्थानीय उत्पादनहरूको माग बढ्छ । यसले लघु उद्योगहरूलाई आर्थिक रूपमा सशक्त बनाउँछ ।
दशैंको समयमा अत्यधिक मागका कारण महँगाई बढ्न सक्छ, जसले विशेष गरी निम्न आय भएका वर्गहरूलाई समस्यामा पार्न सक्छ । जसले गर्दा यो चाड सवैका लागि समान आर्थिक फाइदा लिन सक्ने नहुन सक्छ । दशैंले नेपालमा आर्थिक गतिविधिमा तीव्र वृद्धि गराउँछ । यो पर्वले बजार, व्यापार, रोजगारी, र उत्पादनमा सकारात्मक प्रभाव पार्दै राष्ट्रिय अर्थतन्त्रलाई सशक्त बनाउँछ। तर, महँगाई दर र ऋणको बढ्दो प्रवृत्तिमा भने बिशेष ध्यान दिनुपर्ने पक्षहरू हाम्रो समाजका मुख्य चुनौतीहरु हुन् ।
लेखक सिरीजंघा-१ सिनाम, ताप्लेजुङ निवासी ईन्जिनियर वीरेन्द्र श्रेष्ठ लोकपप विधाका पूर्वका चर्चित गायक समेत हुन् । लामो समयदेखि जलविद्युतको विकास निर्माणमा संलग्न हस्ती बरिष्ठ ईन्जिनियर श्रेष्ठ मुलुक समृद्धताको लागि आफ्ना अनेकन फाइदाहरुलाई त्यागेर अनवरत मुलुकको सेवामा लागी परेका छन् । समाज सेवालाई निकै बढावा दिंदैछन् ।
यो पनि पढ्नुहोस्
ब्रह्माण्ड, प्रकृति र चैतन्यका अन्तरभावहरु
जलवायु परिवर्तनको चपेटामा नेपाल : चुनौती, सचेतना र यसका समाधानका उपायहरु
के नेपालले सन् २०३५ सम्ममा २८५०० मेगावाट विद्युत् उत्पादन गर्न सक्छ ?
पृथ्वी जयन्ती र क्रान्तिको सार
ताप्लेजुङको विकासको लागि इन्जिनियर वीरेन्द्रले देखे यस्तो सपना
नेपालका राजनीतिक दलको बिरासत अनि आजको आवश्यकता
नेपालका राजनीतिक दलप्रति जनताको दृष्टिकोण
प्राकृतिक विपद् र नेपालको अवस्था
आकाशिँदो मूल्यवृद्धि भित्रका शालिन नेपाली जनता