३ आश्विन २०८१, बिहीबार

ब्रह्माण्ड, प्रकृति र चैतन्यका अन्तरभावहरु


ब्रह्माण्ड, प्रकृति र चैतन्य

काठमाडौँ । ब्रह्माण्डको रचना र यसको उत्पत्तिको विषयमा मानव सभ्यताको प्रारम्भदेखि नै विभिन्न धार्मिक, आध्यात्मिक र वैज्ञानिक दृष्टिकोणहरू रहदैं आएका छन् । धार्मिक मान्यताहरूमा ब्रह्माण्डलाई परमात्माको कृतिको रूपमा हेर्ने गरिन्छ भने वैज्ञानिक दृष्टिकोणले यसको उत्पत्ति महाविस्फोट सिद्धान्त यानेकी बिग बैंग सिद्धान्तमार्फत व्याख्या गर्दछ ।

विज्ञानको अनुसार लगभग १३.८ अर्ब वर्ष पहिले महाविस्फोटबाट ब्रह्माण्डको सुरुवात भएको मानिन्छ, जुन ऊर्जा, पदार्थ र समयको उत्पत्ति थियो । यस घटनाले ब्रह्माण्डको विस्तारसंगै आकाशगंगा, तारा, ग्रह र अन्य खगोलीय पिण्डहरूको विकास गर्न सुरु भएका छन् ।

धार्मिक र आध्यात्मिक सिद्धान्तहरूमा ब्रह्माण्डको रचना, ईश्वर वा परमात्माको संकल्पबाट भएको मानिन्छ । वेद र उपनिषद् ग्रन्थहरूमा ब्रह्माण्डको उत्पत्तिको विविध कथाहरू पाइन्छन् ।

हिन्दू, बौद्ध, यहूदी, क्रिश्चियन र मुस्लिम धर्महरूले ब्रह्माण्डको उत्पत्तिको विषयमा आ-आफ्ना विशेष दृष्टिकोण राखेका छन् । यी धर्महरूमा ब्रह्माण्डको उत्पतीलाई आध्यात्मिक शक्तिहरूले सिर्जना गरेको मानिन्छ, तर प्रत्येकको आफ्नै विशिष्ट विवरण र व्याख्या छन् ।

हिन्दू धर्ममा ब्रह्माण्डको उत्पत्तिको धेरै कथा र दर्शनहरू छन्, जसमा सबैभन्दा लोकप्रिय सिद्धान्त “प्रलय” र “सृष्टि” चक्रको छ । ब्रह्माण्डको सिर्जना भगवान ब्रह्माबाट भएको मानिन्छ, ब्रह्माले योगमार्फत संसारको संरचना, जीव, तथा प्रकृतिका तत्त्वहरू निर्माण गरका अर्थ लगाईएको छ ।

“बिभिन्न पुराणहरू” अनुसार, ब्रह्माण्डको उत्पत्ति भगवान विष्णुबाट भएको हो, जसले ब्रह्मालाई सिर्जना गरेका थिए । विष्णुको नाभिबाट उत्पन्न भएको कमलमा ब्रह्मा बसेको कथामा पाईन्छ । हिन्दू धर्ममा सृष्टि चक्रको बिषयमा ब्याख्या गरेको पाइन्छ । हरेक कालको अन्त्यमा ब्रह्माण्ड पुनः प्रलयमा विलीन हुन्छ र पुनः अर्को चक्र सुरु हुन्छ भन्ने मान्यता राखिएको छ ।

बौद्ध धर्ममा ब्रह्माण्डको उत्पत्तिबारे स्पष्ट र दैवीक विवरण छैन किनभने बुद्ध धर्म ब्रह्माण्डको उत्पत्तिको प्रश्नमा मौन देखिन्छ । बौद्ध धर्मको ध्यान संसारको कार्यविधि र मानवको मानसिक शुद्धीकरणमा केन्द्रित छ । बौद्ध धर्ममा ब्रह्माण्ड अनन्त छ र यसको उत्पत्ति वा अन्त्यको विशेष चर्चा हुँदैन । यसले संसारलाई कारण–कार्य सम्बन्धमा आधारित अनन्त प्रक्रियाको रूपमा हेर्छ जसमा सबै कुरा परिवर्तनशील छन् । समयअनुसार ब्रह्माण्ड बनेर नष्ट हुन्छ र पुनः नयाँ ब्रह्माण्डको निर्माण हुन्छ भन्ने आशय पाईन्छ ।

यहूदी धर्ममा ब्रह्माण्डको उत्पत्ति “तोराह” मा वर्णन गरिएको छ, विशेषगरी “जेनेसिस”मा ईश्वरले ६ दिनमा संसार सिर्जना गरेको विषय प्रस्तुत भएको पाइएको छ ।
– पहिलो दिन प्रकाश र अन्धकार,
– दोस्रो दिन आकाश,
– तेस्रो दिन भूमि र समुन्द्र,
– चौथो दिन सूर्य, चन्द्रमा र ताराहरू,
– पाँचौँ दिन जलचर र पंक्षीहरू,
– छैटौँ दिन जनावर र मानिसको सिर्जना ।

यसरी ब्रह्माण्डको सम्पूर्ण उत्पत्ति एक क्रमबद्ध प्रक्रिया हो भनेर ब्याख्या गरेको पाईन्छ ।

क्रिश्चियन धर्ममा पनि यहूदी धर्मसँग मिल्दोजुल्दो रूपमा “बाइबल”को पुरानो नियममा ब्रह्माण्डको उत्पत्तिको ब्याख्या गरेको पाईन्छ ।
– ईश्वरले ६ दिनमा संसार सिर्जना गरे र सातौँ दिनमा विश्राम लिए ।
– यसमा पहिलो दिनमा प्रकाश र अन्त्यमा मानिसको सिर्जना भएको हो ।
क्रिश्चियन धर्ममा मानिसलाई विशेष रूपमा पृथ्वीमा शासन गर्न र ईश्वरको इच्छा पूरा गर्न बनाइएको मानिन्छ ।

इस्लाम धर्ममा ब्रह्माण्डको उत्पत्ति कुरानमा वर्णन गरिए अनुसार अल्लाहले संसारलाई ६ दिनमा सिर्जना गरेको उल्लेख छ, तर यहाँ “दिन”लाई अन्य धर्महरूमा जस्तै मानविक समय अवधिमा बाँधिएको छैन । कुरानमा अल्लाहले आकाश, पृथ्वी, सूर्य, चन्द्रमा, तारा, जलचर, जनावर र अन्त्यमा मानिसको सिर्जना गरेको उल्लेख छ । मानिसलाई अल्लाहको प्रतिनिधिको रूपमा पृथ्वीमा खडा गरिएको छ, र यसलाई सर्वश्रेष्ठ सिर्जनाको रूपमा मानिएको छ ।

पृथ्वीलाई भौतिक शास्त्रमा ब्रह्माण्डको एउटा ग्रहको रूपमा अध्ययन गरिन्छ । यसका विविधतापूर्ण भूगोल, जलवायु, र प्राकृतिक साधनहरूलाई विज्ञानले अध्ययन गर्दछ। तर आध्यात्मिक दृष्टिले पृथ्वीलाई मातृभावमा हेर्ने प्रचलन छ । विशेष गरी हिन्दू धर्ममा पृथ्वीलाई देवीको रूपमा पूजा गरिन्छ । यसको अर्थ, पृथ्वीलाई एक चेतनशील अस्तित्व मानिन्छ, जसले मानव जीवनको सम्भावनालाई धारण गर्दछ ।

यस दृष्टिले, पृथ्वीलाई केवल भौतिक तत्वको रूपमा नभई आध्यात्मिक चेतनाको स्रोतको रूपमा पनि मानिन्छ । यो चेतना प्रकृतिको नियम र सामञ्जस्यमा प्रकट हुन्छ, जसले जीवनको उत्पत्ति, पालन, र नाशको चक्रलाई व्याख्या गर्दछ ।

प्रकृतिको भौतिक र आध्यात्मिक परिचयले यसलाई दुई फरक तर महत्वपूर्ण दृष्टिकोणबाट बुझ्न मद्दत गर्दछ । भौतिक दृष्टिले, प्रकृति भौतिक तत्वहरू जस्तै पृथ्वी, जल, अग्नि, वायु र आकाशको संयोजन हो भनि बुझिन्छ भने यी पञ्च महाभूतहरूले नै सम्पूर्ण जीवन र अस्तित्वलाई सम्भव बनाउँछन् भनी परिभाषित छ । विज्ञानले प्रकृतिको भौतिक नियमहरूलाई परिभाषित गर्दै पृथ्वीको प्रणालीलाई व्याख्या गर्दछ ।

तर, आध्यात्मिक दृष्टिले प्रकृतिलाई ब्रह्माण्डको अनन्त चेतनाको प्रकट स्वरूप मानिन्छ । हिन्दू धर्ममा प्रकृति शब्दले संसारको रचना र परिवर्तनशीलताका लागि जिम्मेवार ऊर्जा वा शक्ति प्रतिनिधित्व गर्दछ । योग दर्शनले प्रकृतिलाई परिवर्तनशील र शाश्वत आत्मालाई अपरिवर्तनीय ठान्छ । आत्माको अनुभूति र प्रकृतिको व्याख्या बीचको अन्तर बुझ्नु नै आध्यात्मिक यात्राको प्रमुख उद्देश्य मानिन्छ ।

आत्मा र परमात्माको सम्बन्धको विषयमा प्राचीन भारतीय दर्शनले विशेष चर्चा गरेको पाइन्छन् । उपनिषदहरूमा आत्मालाई व्यक्तिगत चेतना र परमात्मालाई सार्वभौमिक चेतनाका रूपमा बुझाइन्छ । आत्मा भनेको सजीव प्राणीहरूको साक्षात् अस्तित्व हो भने परमात्मा सर्वशक्तिमान् स्रोत हो, जसबाट सम्पूर्ण सृष्टि उत्पन्न हुन्छ ।

आत्मा र परमात्माको सम्बन्धलाई अद्वैत वेदान्तले गैर–द्वैतको रूपमा व्याख्या गर्दछ, जसले आत्मा र परमात्मा बीच कुनै भिन्नता छैन भनी ब्याख्या गरेको पाइन्छ । भगवान श्रीकृष्णले गीता शिक्षामा आत्मालाई अजर, अमर, र शाश्वत चेतना भनेका छन्, जुन समय र परिवर्तनले प्रभाव पार्न सक्दैन । तर, जीवात्मा अज्ञानको कारण यो सम्बन्धलाई बुझ्न असमर्थ रहन्छ र संसारिक भ्रममा अल्झिएको मानिन्छ ।

ब्रह्माण्ड र चैतन्यको सम्बन्धलाई बुझ्न विज्ञान र आध्यात्मिक दृष्टिकोणबाट बृहत्तर विश्लेषण गर्न सकिन्छ । विज्ञानले ब्रह्माण्डलाई केवल भौतिक नियमहरू र ऊर्जा संरचनाहरूको दृष्टिकोणबाट बुझाउँछ । तर आध्यात्मिक सिद्धान्तले चैतन्यलाई ब्रह्माण्डको मुख्य तत्व मान्दै चेतनाको व्यापकताको व्याख्या गर्दछ ।

चैतन्य भन्नाले शुद्ध चेतना या परमात्माको अवस्था बुझिन्छ । उपनिषदहरूमा चैतन्यलाई ’सच्चिदानन्द’ भनिएको छ, जसको अर्थ सत् (सत्य), चित् (चेतना), र आनन्द (आनन्द) हो । यो शुद्ध चैतन्य नै ब्रह्माण्डको असली स्वरूप हो र सम्पूर्ण सृष्टिको कारण हो। ब्रह्माण्डको विविधता, भौतिक रुपमा प्रकट हुनु र चैतन्यको अनन्त शक्तिबाट प्रकट भएकोलाई मानिन्छ । चेतना र ब्रह्माण्डको गहिरो सम्बन्धले नै जीवनको आध्यात्मिक्ताको मर्म बुझाउँछ ।

भौतिक शास्त्रले ब्रह्माण्डलाई केवल ऊर्जा, पदार्थ र समयको संरचना मानेर अध्ययन गर्दछ । क्वाण्टम भौतिक शास्त्रमा चेतना र ब्रह्माण्डको सम्बन्धलाई बुझ्न विभिन्न सिद्धान्तहरू विकास भएका छन् । यो विज्ञानको एक क्षेत्र हो, जसले चेतना र ब्रह्माण्ड बीचको गहिरो सम्बन्धलाई केलाउँछ । विशेषगरी क्वाण्टम सिद्धान्तले यस धारणा प्रस्तुत गर्दछ कि चेतनाले नै वास्तविकताको निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । यो भौतिक र आध्यात्मिक दृष्टिकोणको बीचमा सेतुको रूपमा कार्य गर्दछ ।

यसैको परिणामस्वरूप वैज्ञानिक र दार्शनिकहरू चेतनालाई केवल व्यक्तिको मानसिक प्रक्रियाको परिणाममात्र नभई सृष्टिको आधारभूत संरचनाको अभिन्न अंश मान्न थालेका छन् । यसले विज्ञान र आध्यात्मिकताको बीचको दूरीलाई घटाउने प्रयास गरेको छ ।

ब्रह्माण्डको रचना र उत्पत्तिको कारणको बारेमा मानव सभ्यताले निरन्तर प्रश्नहरू सोध्दै आएको छ र यसका उत्तरहरू धार्मिक, आध्यात्मिक र वैज्ञानिक दृष्टिकोणबाट खोज्ने प्रयत्न गरिरहेका छन् । ब्रह्माण्डको भौतिक नियमहरू र चेतनाको आध्यात्मिक आयामहरू एकअर्काको परिपूरक मानिन्छन् । आत्मा, परमात्मा, प्रकृति, र चेतनाका गहिरा सम्बन्धहरूलाई बुझ्दा मानव अस्तित्वको मर्म र ब्रह्माण्डको गहिराइ स्पष्ट हुन्छ ।

ब्रह्माण्डको रचना, यसको उत्पत्ति, र आत्मा–परमात्माको सम्बन्धलाई बुझ्न हामीलाई भौतिक र आध्यात्मिक दृष्टिकोणको गहिराइमा पुग्न आवश्यक छ । विज्ञानले ब्रह्माण्डलाई ऊर्जा र पदार्थको रूपमा परिभाषित गर्छ, जसले भौतिक नियम र संरचनाहरूको माध्यमबाट अस्तित्वको व्याख्या गर्दछ । तर यो व्याख्या एक मात्र सत्य होइन । आध्यात्मिक दृष्टिकोणले ब्रह्माण्डलाई केवल भौतिक संरचना होइन, एक चेतनशील अस्तित्वको रूपमा हेर्छ, जसको मर्म चैतन्यमा आधारित छ ।

आत्मा र परमात्माको सम्बन्धलाई गहिराइमा बुझ्दा, यो स्पष्ट हुन्छ कि ब्रह्माण्ड केवल भौतिक नियमहरूको अन्तर्गत सीमित छैन, बरु चेतना नै यसको मुख्य आधार हो । हिन्दू दर्शनले आत्मालाई शाश्वत चेतना र परमात्मालाई सर्वव्यापी चेतनाको स्रोत मानेर, संसारको माया वा भ्रमबाट मुक्ति पाउनकोे लागि ज्ञानको आवश्यकता देखाउँछ। यस दृष्टिले, सृष्टि कुनै स्वतन्त्र घटना मात्र नभई चेतनाको लीला हो भनेर बुझ्न सकिन्छ ।

भौतिक र आध्यात्मिक दृष्टिकोणलाई एकीकृत गरेर मात्र ब्रह्माण्ड र जीवनको गहिरो रहस्यलाई समग्रतामा बुझ्न सकिन्छ ।

ब्रह्माण्ड र चैतन्यको अन्तरसम्बन्धले हाम्रो अस्तित्वलाई भौतिक र आध्यात्मिक तहमा समाहित गराउँछ। विज्ञानले यसको भौतिक पक्षलाई व्याख्या गर्छ भने, आध्यात्मिकता यसको अन्तर्निहित चैतन्य पक्षलाई उद्घाटन गर्छ । चेतना र ब्रह्माण्डबीचको सम्बन्धले संकेत गर्छ कि हामी केवल भौतिक अस्तित्वमा मात्र सीमित छैनौं; हामी अनन्त चेतनाका अंश हौँ, जसले ब्रह्माण्डलाई सम्भव बनाउँछ । यसरी, भौतिक र आध्यात्मिक दृष्टिकोणलाई एकीकृत गरेर मात्र ब्रह्माण्ड र जीवनको गहिरो रहस्यलाई समग्रतामा बुझ्न सकिन्छ ।

लेखक सिरीजंघा-१ सिनाम, ताप्लेजुङ निवासी ईन्जिनियर वीरेन्द्र श्रेष्ठ लोकपप विधाका पूर्वका चर्चित गायक समेत हुन् । लामो समयदेखि जलविद्युतको विकास निर्माणमा संलग्न हस्ती बरिष्ठ ईन्जिनियर श्रेष्ठ मुलुक समृद्धताको लागि आफ्ना अनेकन फाइदाहरुलाई त्यागेर अनवरत मुलुकको सेवामा लागी परेका छन् । समाज सेवालाई निकै बढावा दिंदैछन् ।

यो पनि पढ्नुहोस्

जलवायु परिवर्तनको चपेटामा नेपाल : चुनौती, सचेतना र यसका समाधानका उपायहरु

भानु स्कुललाई फर्केर हेर्दा

के नेपालले सन् २०३५ सम्ममा २८५०० मेगावाट विद्युत् उत्पादन गर्न सक्छ ?

सिरिजंघा, तपाईं अनि म

पृथ्वी जयन्ती र क्रान्तिको सार

ताप्लेजुङको विकासको लागि इन्जिनियर वीरेन्द्रले देखे यस्तो सपना

नेपालका राजनीतिक दलको बिरासत अनि आजको आवश्यकता

नेपालका राजनीतिक दलप्रति जनताको दृष्टिकोण

प्राकृतिक विपद् र नेपालको अवस्था

आकाशिँदो मूल्यवृद्धि भित्रका शालिन नेपाली जनता

स्थानीय निर्वाचनप्रति नागरिकको झुकाव र हाम्रो आवश्यकता

स्थानीय निर्वाचन क्रान्तिको बिगुल कि रोजाइको जनप्रतिनिधि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !