६ पुस २०८१, शनिबार

दशैँको मनोवैज्ञानिक पक्ष : चाडपर्वले मानसिक स्वास्थ्य बनाउछ सबल


दशैँको मनोवैज्ञानिक पक्ष
गोपाल ढकाल
गोपाल ढकाल

काठमाडौँ, कार्तिक ९ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईसरको असर शारीरिक तथा मानसिक स्वास्थ्यमा मात्र होइन आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक, चाडपर्व, रहनसहन लगायतका प्राय: सबै क्षेत्रमा परेको छ ।

कोरोना संक्रमणका कारण यस बर्ष दशैँलाई खुलेर हर्षोल्लासका साथ मनाउने अबस्था छैनौ । तर जस्तोसुकै विषम अवस्थामा पनि हामीले हाम्रो धर्म, संस्कृति र परम्परा भुल्नु हुँदैन । यसको संरक्षणमा जोड दिनुपर्छ । यो वर्ष भने कोरोनाको संक्रमणलाइ ध्यान दिँदै भौतिक दुरी कायम गरेर सुरक्षाका उपायहरू अपनाउँदै जो-जो जहाँ छन्, त्यहीँबाट दशैँ मनाउनु नै उतम हुन्छ ।

दशैँको सबैभन्दा महत्त्वपूर्ण पक्ष आशीर्वाद लिनेदिने र शुभकामनाको आदान-प्रदान गर्ने कार्य भएकाले भौतिक रुपमा भेटघाट हुन नसके पनि वैकल्पिक रुपमा फोन वा सोसियल मिडियाको प्रयोग गर्न सकिन्छ ।

चाडपर्वको धार्मिक रूपमा मात्र होइन, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक रूपमा समेत ठुलो महत्व रहेको हुन्छ । दशैँ-तिहार जस्ता महत्वका चाडपर्वहरुलाई कुनै जातजाति र धर्म सम्प्रदायसँग मात्र सीमित नबनाई परम्परा र संस्कृतिका रूपमा विकसित गर्नुपर्दछ । यस्ता राष्ट्रिय चाडपर्वहरूले नेपालीहरूमा राष्ट्रिय एकता, शान्ति र सद्भाव कायम राख्न मद्दत गरिरहेको हुन्छ । साथै नेपाली हुनुको गौरव र पहिचान गराउँछ ।

दशैँको आध्यात्मिक पक्ष

किंवदन्ति अनुसार पनि विजयादशमी असत्यमाथि सत्यको जितको उत्सवका रुपमा मनाइन्छ । विजयको उत्सवले आत्मबल, आत्मविश्वास, जोश जागर, हौसला बढाउने तथा नैरस्यतालाई हटाउने गर्छ ।

दशैँको बेला विभिन्न शक्तिपिठहरूमा गएर गरिने पूजापाठले व्यक्तिलाई आध्यात्मिक बनाउन मद्दत गर्दछ । आत्मिक शक्ति प्रदान गर्दछ । आत्मिक शक्तिले व्यक्तिलाई मानसिक रूपमा पनि सवल बनाउँछ । आध्यात्मिक स्वास्थ्यले व्यक्तिलाई अनुशासित, नैतिकवान र कर्तव्यनिष्ठ बनाउँछ ।

दशैँ र मानसिक स्वास्थ्य

विश्व स्वास्थ्य संगठनका अनुसार स्वस्थ्य भनेको शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक चारै तवरबाट स्वस्थ हुनु हो । दशैँजस्ता चाडपर्वहरुले मानिसलाई यी चारै किसिमबाट स्वस्थ रहनका लागि मद्दत पुर्याइरहेको हुन्छ ।

दशैँ यस्तो मौसममा पर्छ, जुनबेला खेती किसानी गर्ने व्यक्तिलाई कामको कुनै बोझ हुँदैन । कामको चपेटाबाट मुक्त भएर आराम गर्ने अवसर पनि हो दशैँ । चाडपर्वमा प्रायः सबैले सधैँको भन्दा फरक मीठो मसिनो र पोषिलो खानेकुरा खाने गर्दछन् । दशैँमा विशेष रूपमा खाइने दही, चिउरा, घ्यु, फलफूल, मिठाई, माछामासुजस्ता खानेकुराले शरीरमा शक्ति प्रदान गर्छ, जसले शारीरिक रूपमा स्वस्थ्य रहन मद्दत पुर्याउँछ ।

दशैँमा पिङ्ग खेल्दा शारीरिक व्यायम हुनुका साथै खाएको गरिष्ठ भोजन पचाउन मद्दत गर्छ । पिङ्ग खेल्दा मनोरञ्जन पनि भैरहेको हुन्छ ।
दशैँको बेला ठूलाले सानालाई टिका लगाएर दिइने आशीर्वाद र एक-अर्कामा गरिने शुभकामना आदान-प्रदानले व्यक्तिमा जोश, जाँगर र हौसला बढाउँछ । निराश मनमा पनि आत्मबलको सञ्चार हुन थाल्छ ।

आफन्त र साथीभाइसँगको भेटघाटले निराशा र एक्लोपन हटाउँछ । व्यक्तिलाई सही मार्गमा हिँड्ने प्रेरणा मिल्दछ र सकारात्मक सोचको विकास हुन्छ । यसले व्यक्तिको समग्र स्वास्थ्य प्रवर्द्धनमा मद्दत गर्दछ ।

दशैँ र खुसी

कोरोनाले धेरैलाई निराश बनाएको अहिलेको अवस्थामा आत्मबल, प्रेरणा र सकारात्मक सोचको सञ्चार हुनु अति आवश्यक छ । यसले व्यक्तिमा स्वस्थता प्रदान गर्न सघाउ पुग्छ ।

दशैँको रमझमले खुसियाली र उमङ्ग लिएर आउँछ । अझ केटाकेटीहरू त दशैँ कहिलेआउँला भनेर दुई-चार महिना अगाडिदेखि नै औँला भाँच्न थाल्छन् । दशैँको अवसरमा आफन्त तथा साथीभाइहरूसँग गरिने भेटघाट र शुभकामनाको आदान-प्रदानबाट आत्मीयता, माया, प्रेम, सद्भाव, भाइचारा, मेलमिलाप र निकटता कायम राख्न मद्दत गर्दछ । यसले मानिसलाई सामाजिक रूपमा स्वस्थ्य बनाउछ ।

घर छोडेर विदेशिएका वा टाढा परदेश गएका परिवारका सदस्यहरूलाई एकै ठाउँमा ल्याउने चाड हो दशैँ । विदेशिएका धेरै नेपालीहरू दशैँको अवसरमा स्वदेश फर्किने समय कुरेर बसेका हुन्छन् । तर भलै यो पटक भने धेरै नेपालीहरु दशैमा पनि घर फर्कन पाएनन् ।

नाति नातिनादेखि हजुरबुबा, हजुरआमा एकै ठाउँमा भेला भएर हर्षोल्लासका साथ मनाइने दशैँले बढ्दै गएको जेनेरेसन ग्यापलाई कम गर्न र सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत गर्दछ ।

दशैँकाे मनाेवैज्ञानिक पाटाे

मानसिक स्वास्थ्यका लागि चाडपर्वले थेरापीकै काम गरिरहेको हुन्छ । चाडपपर्वको मनोवैज्ञानिक पक्षलाई बुझी यसलाई धर्मको रुपमा नहेरी चाडपर्वको रूपमा स्वीकार गर्ने र मनाउने हो भने धेरै राम्रो हुन्छ ।

चामलको टीका लगाउनु अन्नको सम्मान गर्नु हो । यसको महत्त्वलाई बुुझ्नु हो । यसले नेपाल कृषिप्रधान देश हो भन्ने कुरा पनि झल्किन्छ । दशैँमा लगाईने रातो रंगमिश्रित चामलको टीकाले मानिसमा उर्जा, जोश-जागर, उत्साह, साहस बढाउँछ । रातो रंग शक्ति, उत्साह, सौभाग्य र विजयको प्रतीक हो ।

दशैँमा टीकासँगै जमरा लगाउनुको पनि अर्थ छ । जमराको जुस जसलाई अमृतरस भनिन्छ । जमराको जुस दैनिक सेवनले धेरै किसिमका रोगहरू लाग्नबाट हामीलाई बचाउँछ र दीर्घ जीवन दिन्छ । दशैँमा जमरा लगाउनुको अर्थ जमराको औषधि गुण र महत्वलाई झल्काउने प्रतीकको रूपमा लिनु पर्छ।

दशैँमा टीका लगाएर दक्षिणा दिनु पनि आफैँमा उत्साववर्धक लाग्छ । चाडपर्वको बेला किनमेल गर्दा पैसा खर्च हुने, ऋण समेत लाग्न सक्ने हुँदा सक्नेले गच्छेअनुसार टीका लगाएर पैसा दिँदा यसले थोरबहुत ऋणबाट मुक्त हुन र आर्थिक अवस्था सुधार गर्न मद्दत गर्दछ ।

यस वर्ष त कोरोनाको कारण अर्थतन्त्र नै तहसनहस भएको छ । धेरैको आर्थिक अवस्था कमजोर भएको छ । तसर्थ ‘घाँटी हेरी हाड निल्नु’ पर्दछ भन्ने मान्यताअनुरुप आफ्नो गच्छेअनुसार बिना तडक भडक चाडपर्व मनाउनु हितकर हुनेछ । “दशैँ आयो, खाउँला पिउँला के खाउँला, चोरी ल्याउँला” अर्थात् जसरी पनि मिठोमसिना खानैपर्छ, जसरी पनि राम्रो लगाउनै पर्छ भन्ने सोचले दशैँलाई बोझिलो र तनावपूर्ण बनाउनु हुँदैन ।

चाडपर्वलाई फजुल खर्च गर्ने बाहनाको रूपमा होइन, आफूलाई उत्साहित गर्ने, आपसी सम्बन्ध प्रगाढ बनाउने, माया प्रेम र सद्भाव बढाउने अवसरको रूपमा लिनु पर्दछ । साथै चाडपर्वको बेला जुवातास खेल्ने, होहल्ला गर्ने, रक्सी खाने, झैझगडा गर्नेजस्ता नकारात्मक पाटोलाई हटाउनुपर्छ ।

बलि कति जायज ?

दशैँको बेला देवीदेवताको नाममा चढाइने बली भने एक किसिमको अन्धविश्वास नै हो । प्राणी हत्या महापाप हो । तर पेटको लागि मानिसहरु जस्तोसुकै पाप गर्न र बाहना बनाउन पछि पर्दैनन् । मान्छेले आफ्नो पापलाई छल्न देवीदेवतालाई बली चढाएको प्रसाद भन्दै खाने निहुँ र बाहना बाहेक अरु केही होइन बलि प्रथा । यदि सबै प्राणी देवीदेवताको सृष्टि हुन् भने आफैले सृष्टि गरेको आफ्नै सन्तानलाई आफ्नै आमाले भोग कहिल्यै माग्दिनन । बलि प्रथाले स्वयम् व्यक्तिलाई हिं’स्रक, मानसिक रूपमा कमजोर, चिटचिटाहट, अस्थिर र रिसाहा बनाउने गर्दछ ।

शाकाहारी व्यक्तिहरूलाई दशैँको बेला हुने मारकाटले अत्यन्तै धेरै तनाव पुर्याउँछ । खसी-बोकाको क्रन्दन, रगत र का’टमारको दृश्यले उनीहरूलाई दुखी र मानसिक रूपमा अस्थिर बनाउने गर्दछ । वास्तवमा बलि चढाउनु भनेको आफ्ना कमी-कमजोरी, खराब आचरण, असुरी र दुर्बल पक्षहरू, पासाविक मनोवृत्ति, काम, क्रोध, लोभ र मोहजस्ता कुरा छोड्ने संकल्प देवीदेवताका सामु राख्नु हो । आफ्नो गलत कार्यको प्रायश्चित्त गर्नु हो । याे बुझ्ने हाे भने पशुबलि दिने क्रम न्यून हुँदै जानेछ ।

दशैमा विशेषगरी शक्तिपिठहरूमा दुर्गा भवानीको पूजा गरिन्छ । दुर्गा माता अर्थात् महिला वा स्त्रीलाई शक्तिको रूपमा पूजा गर्नु, शक्तिको प्रतीकको रूपमा लिनु हाम्रोजस्तो पुरुषप्रधान समाजका लागि अर्थपूर्ण र महत्वपूर्ण रहेको छ ।

लेखक ढकाल मार्क नेपाल मनोसेवा केन्द्रमा कार्यरत मनोविद् हुनुहुन्छ ।
यो पनि पढ्नुहोस्
मानसिक स्वास्थ्यमा प्रर्याप्त लगानी र व्यापक पहुँच अहिलेको आवश्यकता
कस्ता ब्यक्तिले गर्छन् बलात्कार ? बलात्कारका घटना हुनुका मनोबैज्ञानिक कारणहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !