७ कार्तिक २०७७, शुक्रबार

मानसिक स्वास्थ्यमा प्रर्याप्त लगानी र व्यापक पहुँच अहिलेको आवश्यकता



मानसिक स्वास्थ्य
गोपाल ढकाल
गोपाल ढकाल

विश्वभरमा नै मानसिक स्वास्थ्य समस्या जटिल र चुनौती पुर्ण बन्दै गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ४५ करोड मानिस यस समस्याबाट प्रभावित छन् । नेपालमा पनि ६० लाख भन्दा बढी नेपालीहरु कुनै न कुनै किसिमको मनोसामाजिक समस्या एवं मानसिक रोगबाट प्रभावित भएको अनुमान गरिएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हालै मात्र सार्वजनिक गरेको मानसिक स्वास्थ्य सर्वेक्षणमा ४.३ प्रतिशत वयस्कहरुमा मानसिक स्वास्थ्य समस्या रहेको पाइएको छ । सर्वेक्षणले १० प्रतिशत वयस्कमा आफ्नो जीवनकालको कुनै न कुनै समयमा मानसिक स्वास्थ्य समस्यामा रहेको देखाएको छ ।

सर्वेक्षणमा किशोर किशोरीमा मानसिक स्वास्थ्यको अवस्था हेर्दा ५ दशमलब २ प्रतिशत किशोर किशोरीमा मानसिक समस्या भएको पाइएको छ । मानसिक स्वास्थ्यका विषयमा जनचेतना फैलाउने, यस क्षेत्रमा भएका समस्या, चुनौती एवं उपलब्धिका विषयमा छलफल तथा पैरवी गर्ने जस्ता विविध उद्धेश्यका साथ प्रत्येक वर्ष १० अक्टुवरका दिन विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै आई रहेको छ ।

विश्व मानसिक स्वास्थ्य संघको अगुवाइमा सन् १९९२ देखि विश्व भरि नै यो दिवस मनाउन थालिएको हो । यो वर्षको विश्व मानसिक दिवसको नारा” सबैको लागि मानसिक स्वास्थ्य : प्रर्याप्त लगानी, व्यापक पहुँच । जसलाई पनि, जहाँ पनि ” रहेको छ ।

नेपालमा मानसिक स्वास्थ्यको अबस्था

नेपालमा मानसिक स्वास्थ्यको क्षेत्र अझैपनि ओझेलमा परेको छ । मानसिक रोगीलाई अपहेलना गर्ने, उपचारबाट बन्चित गराउने , बाँधेर वा थुनेर राख्ने, खान नदिने, काम र जिम्मेवारी तथा अधिकारबाट बञ्चित गराउने, भुत-प्रेत वा बोक्सी लाग्यो भनेर उपचारको नाममा तातो पन्युले डाम्ने जस्ता अमानवीय व्यवहार गर्ने गरेको समेत देखिन्छ ।

हाम्रो समाजमा मानसिक स्वास्थ्यप्रति व्यक्तिको बुझाई, धारणा, सोच बिचार अझै पनि सकारात्मक हुन सकेको छैन । मानसिक स्वास्थ्यलाई कलंकको रुपमा हेरिन्छ । मानसिक स्वास्थ्य समस्या देखा पर्दा कुल विग्रेको, देउता चढेको, माता चढेको, बोक्सी लागेको, धामी उत्रेको भन्दै नजर अन्दाज गर्ने परिपाटी हाम्रो समाजमा अझै पनि बिद्यमान रहेको छ ।

जैविक – रासायनिक, सामाजिक एव मनोबैज्ञानिक कारणले मानसिक समस्या देखापर्ने गर्छ । बदलिदो समाजिक परिवेश, बैदेशिक रोजगारी, वेरोजगारी, गरीबी, आधुनिकरण, सामाजिक सञ्जालको प्रभाव, लागुपदार्थको सेवन, पारिवारिक झमेला, लैङ्गिक हिंसा, घरेलु हिंसा, यौन शोषण, बलत्कार, लाञ्छना, लैङिगक विभेद, अन्धविश्वास, गलत प्रथा, राजनीतिक अस्थिरता जस्ता कारण तत्वले नेपालमा पनि मानसिक स्वास्थ्य समस्या बढ्दै गएको देखिन्छ ।

शिक्षा – चेतनाको कमी, मानसिक स्वास्थ्यका क्षेत्रमा विद्यमान अन्धविश्वास, दक्ष जनशक्तिको कमी, सरकारी उपेक्षा, बजेटको कमि, दातृ निकायको यस क्षेत्रमा आँखा पर्न नसक्नु, राष्ट्रिय मानसिक स्वास्थ्य नीति नहुनु, जस्ता कारणबाट मानसिक स्वास्थ्यको क्षेत्रमा सोचे जस्तो प्रगति हुन सकेको छैन ।

नेपालमा विद्यालय तहमा मानसिक स्वास्थ्यका विषयमा अझैपनि पठन पाठन हुन सकिरहेको छैन । यथापी हालै मात्र प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले विद्यालयस्तरको पाठ्यक्रममा मानसिक स्वास्थ्यलाई समेट्न सरकारलाई निर्देशन दिएकोछ ।

नेपालमा मानसिक स्वास्थ्यको क्षेत्रमा प्रयाप्त लगानी हुन सकिरहेको छैन । मानसिक स्बास्थ्यको क्षेत्रमा काम गर्ने मनोचिकित्सक, मनोविद्, मनोपरामर्शदाता, सामाजिक कार्यकर्ता, साइक्याट्रिक्स नर्स जस्ता जनशक्ति अत्यन्तै न्यन छन । जति पनि जनशक्ति छन ति पनि शहर केन्द्रीत मात्र छन । दुर दराज र स्थानीय तह सम्म यसक‍ो पहुँच पुग्न सकिरहेको छैन । नेपाल जस्तो विकासोन्मूख देशमा त ५ जना मानसिक रोगी मध्ये ४ जनाले उपचार नै नपाउने अबस्था रहेको छ ।

कोरोनाको कहरले निम्त्याएको मानसिक स्वास्थ्य समस्या

कोरोनाको प्रकोपले बिश्व नै अहिले आक्रान्त बनेको छ । कोरोना भाइरसको महामारीले विश्वव्यापी रुपमा गम्भीर मनोसामाजिक असर सिर्जना गरेको छ। महामारी सुरु भएपछि मानसिक स्वास्थ सेवाको माग अत्यधिक बढेको छ। आफन्तसँगको वियोग, आइसोलेसन, आयमा भएको ह्रास र त्रासका कारण मानसिक स्वास्थ्य प्रभावित भएको छ। कतिपय मानिसहरु अध्यधिक मदिरापान, लागु औषध सेवन, अनिद्रा तथा छटपटी जस्ता समस्याले प्रभावित भएका छन् ।

कोभिड-१९ ले विश्वको ९३ प्रतिशत राष्ट्रमा सघन मानसिक स्वास्थ सेवा अवरुद्ध भएको विश्व स्वास्थ्य संगठनको एक सर्वेक्षणले देखाएको छ। विश्वका १ सय ३० राष्ट्रमा गरिएको अध्ययनले महामारीका कारण मानसिक स्वास्थ सेवाको पहुँच नराम्ररी प्रभावित भएको र विश्वले तत्काल थप लगानी गर्नुपर्ने देखाएको छ ।

उक्त सर्वेक्षणमा ६० प्रतिशत राष्ट्रमा मानसिक स्वास्थ सेवा प्रभावित रहेको र विशेषगरी बालबालिका, किशोर र पौढ बढी प्रभावित रहेको देखिएको छ। यसैगरी, ६७ प्रतिशत जनसंख्याले काउन्सिलिङ तथा साइकोथेरपी सेवा नपाएको देखिएको छ । नेपालमा पनि टिपिओ नामक संस्थाले लकडाउनको अबधिमा गरेको सर्वेक्षणमा करिब ५० प्रतिशत मानिसमा कुनै न कुनै प्रकारको मानसिक समस्याको लक्षण देखिएको छ ।

स्वास्थ्य अनुसन्धान परिषद् नेपालले गरेको एक अनुसन्धानमा कोरोना भाइरस महाव्याधिका कारण नेपालमा फ्रन्टलाइनमा खटिने २९ प्रतिशत चिकित्सक, नर्स र ल्याबमा काम गर्ने स्वास्थ्यकर्मीमा डिप्रेसनको लक्षण देखिएक‍‍ो छ । उक्त अनुसन्धानमा ३५.७ प्रतिशतमा एन्जाइटी र १७.१ प्रतिशतमा साइकोलोजिकल डिस्ट्रेस रहेको पाईएको छ ।

मानसिक स्वास्थ्यको सम्बर्द्धन उपायहरु

१. शारीरिक रोग झै मानसिक स्वास्थ्य समस्यालाई पनि सहज रुपमा लिनुपर्छ । मानसिक रोग निको हुने रोग हो। औषधीको सेवन, मनोपरामर्श तथा पूर्नस्थापना जस्ता उपचार विधीद्वारा यो रोगको उपचार सम्भव छ । धर्म परिवर्तन गरेर, भाकल गरेर, धामीझाक्री लगाएर, मानसिक रोग निको हुदैन। बेलैमा यसका विज्ञलाई देखाउनु पर्छ ।

२. मानसिक रोग , आत्माहत्या प्रतिको गलत धारणालाई हटाउन यस विषयमा चेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्नु पर्छ । यस बिषयमा अभियान नै संचालन गर्नु जरुरी देखिन्छ ।

३. मानसिक स्वास्थ्यको बजेट नगन्ने छ यसलाई बृद्धि गर्नु जरुरी छ । मानसिक स्वास्थ्यमा एक अमेरिकी डलर बराबरको लगानीले चार अमेरिकी डलर बराबरको प्रतिफल दिन सक्ने एक अध्ययनले देखाएको छ ।

४. मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने जनशक्तिको कमीलाई बृद्धि गर्नुपर्छ । मानसिक स्वास्थ्य कार्यकर्ता निर्माण गर्नुपर्छ । स्थानीय तहसम्म मानसिक स्वास्थ्य सेवा पुराउन जरुरी देखिन्छ ।

५. प्रकृतिक बिपत्ति आईपर्दा , रोग व्याधि फैलिदा, दूव्यवहार, अन्याय, विभेद र लान्छना जस्तो जीवनमा कठिन अबस्थामा मानसिक समस्यामा पर्ने सम्भावना बढी हुने भएकाले प्रभावित ब्यक्ति र समुदायलाई बेलैमा मनोसामाजिक सेवा – सहयोगको ब्यबस्था राज्यले तत्काल गर्नुपर्छ ।

६. विद्यालय तहमा मानसिक स्वास्थ्यका विषयमा पठन पाठन तत्काल शुरु गर्नुपर्छ । विद्यालयहरु बालमैत्री बनाउनु पर्छ। विद्यार्थीलाई जीवन उपयोगी सीप सिकाएर मनोसामाजिक समस्याको जोखिमलाई कम गर्न सकिन्छ ।

७. वैदेशिक रोजगारीमा जाने युवाहरुको लागि मानसिक स्वास्थ्य तालिम, तनाव व्यवस्थापन सम्बन्धी सिप सिकाउन अत्यन्तै जरुरी देखिन्छ ।

८. आफनो मानसिक स्वास्थ्य अवस्थाप्रति ब्यक्ति स्वयं पनि सचेत र चनाखो हुनुपर्छ । आत्माहत्या र मानसिक रोगको बारेमा खुलेर कुरा गर्नुपर्छ । मानसिक स्वास्थ्यलाई सवल बनाउन आफ्नो दैनिक रहन सहन, खानपान, जीवन शैलीमा सुधार ल्याउनुपर्छ, जीवनमा अप्ठेरो अवस्था आइपर्दा आफन्त, साथीभाइ र विज्ञको आबस्यक सहयोग लिन ढिला गर्नु हुदैन ।

९. मानसिक स्वास्थ्यको सम्बर्द्धन र प्रबर्द्धनका लागि सबै निकायबीच सहकार्य हुनु जरुरी देखिन्छ। सबै सरोकारबाला ब्यक्ति, निकाय संघसंस्थाहरु बिच ऐक्यवद्धताको जरुरत छ ।

१०. मानसिक स्वास्थ्यको सम्बर्धन र प्रवर्धन तथा आत्म हत्याको रोकथाममा सञ्चार माध्यमाको महत्वपूर्ण भुमिका रहन्छ । यसमा सञ्चार माध्यमहरुले संवेदनशील भई सकारात्मक भुमिका खेल्नु पर्छ ।

लेखक गोपाल ढकाल मार्क नेपाल मनोसेवा केन्द्रमा कार्यरत मनोबिद् हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

कस्ता ब्यक्तिले गर्छन् बलात्कार ? बलात्कारका घटना हुनुका मनोबैज्ञानिक कारणहरु



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सुर्खेत, कार्तिक ७ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । आज शुक्रबार बिहान नेपाल

महोत्तरी, ७ कात्तिक । मिथिलामा चाडपर्व विशेषका लोक परम्परा र संस्कृति अब बिरानो बनेका छन् । गाउँ नगर बस्तीमा नौरथ

मोरङ, ७ कात्तिक । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलाई कारोना संक्रमण भएको छ । मन्त्री

चितवन, ७ कात्तिक । चितवन जिल्लाका दुई अस्पतालमा उपचारका क्रममा रहेका तीन कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल