१८ बैशाख २०८१, मंगलबार

नोबेल साहित्य पुरस्कार इसिगुरोलाई


असोज २०, स्टकहोम (स्वीडेन) । जापानीमुलका बेलायती साहित्यकार काजुओ इसिगुरोलाई सन् २०१७ को साहित्यतर्फको नोबेल पुरस्कार दिइने भएको नोबेल पुरस्कार छनोट गर्ने स्वीडीस एकेडेमीले बिहीबार जनाएको छ । पुरस्कार घोषणा गर्ने स्वीडीस एकेडेमीले ती उपन्यासकारको प्रशंसा गर्दै उनले ‘आफ्ना बेजोड भावनात्मक शक्ति भएका उपन्यासमा संसारसँगको सम्बन्धबारे हाम्रो भ्रमपूर्ण भावको गहिराइ पत्ता लगाएको’ उल्लेख गरेको छ ।

सन् १९८२ मा ‘अ पेल भ्यू अफ हिल्स’ नामक पुस्तकबाट पूर्णकालीन लेखन सुरु गरेका साहित्यकार इसिगुरोका कृतिमा स्मृति, समय र स्वैरकल्पनासम्बन्धित विषयवस्तु रहने गरेको पाइन्छ । पुरस्कार छनोट समितिकाअनुसार इसिगुरोका लेखनमा शान्त अभिव्यक्ति तथा सांगीतिक प्रभाव रहेको पाइन्छ ।

सन् १९५४ को नोभेम्बर ८ मा जापानको नागासाकी सहरमा जन्मेका इसिगुरो पाँच वर्षको उमेरमा परिवारसहित बेलायत गएका थिए । उनले अंग्रेजी तथा दर्शनशास्त्रमा केन्ट विश्वविद्यालयबाट स्नातक गरेका छन् । उनका सबैभन्दा चर्चित उपन्यासहरु ‘द रिमेन्स अफ द डे’ र ‘नेभर लेट मि गो’मा आधारित रहेर चलचित्र बनाइएका छन् ।

६२ वर्षीय लेखकले आफू नोबेल पुरस्कार विजेता घोषित हुँदा अत्यन्तै खुसी बनेकोे बताए । उनले जम्मा ८ ओटा पुस्तक लेखेका छन् । इस्ट एङलिया विश्वविद्यालयमा सिर्जनात्मक लेखनको अध्ययन गरेका उनले ११ लाख अमेरिकी डलर बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !