२९ माघ २०८२, बिहीबार

एउटा उज्यालो आत्मा : इन्जिनियर वीरेन्द्र श्रेष्ठ


एउटा उज्यालो आत्मा : इन्जिनियर वीरेन्द्र श्रेष्ठ

फुङलिङको बिहान सधैंजसो एउटै हुँदैन।
कहिले कुहिरोले ढाकिएको बजार,
कहिले तमोरको आवाजसँग मिसिएको चहलपहल,
कहिले रेडियो स्टुडियोभित्र बज्ने गीत र खबरबीच
मान्छेहरूको आशा–निराशा मिसिएको समय।

यही समयको साक्षी भएर
म धेरै अनुहारसँग भेटिन्छु,
तर केही अनुहारहरू समयभन्दा गहिरो भएर बस्छन्।
इन्जिनियर वीरेन्द्र श्रेष्ठ त्यस्तै एउटा नाम हो—
जो पदभन्दा ठूलो,
परिचयभन्दा गहिरो,
र जिम्मेवारीभन्दा उज्यालो देखिन्छ।

पहिलो भेट, पहिलो अनुभूति
२०६९ सालको चैत्र महिना।
फुङलिङ बजारको एउटा सानो चियापान कार्यक्रम।
त्यहीँ पहिलो पटक उहाँसँग भेट भयो।
पहिलो भेटमै महसुस भयो—
यो मान्छे बोल्नभन्दा सुन्न जान्दछ,
देखाउनभन्दा बुझ्न खोज्दछ।

सिनाम पञ्चमी बजारमा जन्मिएर
हरन्दी गाउँको खुला बारीमा अक्षर चिनेका
इन्जिनियर वीरेन्द्र श्रेष्ठ
सोभियत संघको इरेभान इन्जिनियरिङ विश्वविद्यालयबाट
इन्जिनियरिङ अध्ययन पूरा गरी
२०५३ साल असोजमा स्वदेश फर्किनुभयो।
त्यसयता उहाँको जीवन
नेपालको जलविद्युत विकाससँग गाँसिएको छ।

नेपाल विद्युत प्राधिकरणदेखि
विभिन्न जलविद्युत आयोजनामा
इन्जिनियर, आयोजना प्रमुख,
जनरल म्यानेजर र प्रबन्ध निर्देशकसम्मको
१७ वर्ष लामो अनुभवपछि
२०७० सालदेखि ताप्लेजुङको पहिलो जलविद्युत आयोजनाको नेतृत्व गर्दै
उहाँ पुनः जन्मभूमिसँग जोडिनुभयो।

सहजता, अनुशासन र मानवीयता
उहाँ उमेर र अनुभवले ठूलो हुनुहुन्छ,
तर स्वभावले अत्यन्त सरल।
अनुशासन उहाँको बानी हो,
तर कठोरता होइन।
म उहाँलाई सधैं
“सहज सन्तुलनमा बाँचेको मान्छे” भनेर सम्झन्छु।

जन्मभूमिप्रतिको गहिरो उत्तरदायित्व
“मेरो घर धनी छ,
तर गाउँ गरिब छ भने
त्यो धनीपन अर्थहीन हुन्छ।”

यो वाक्य मैले उहाँबाट
झन्डै १३ वर्षअघि सुनेको थिएँ।
आज पनि त्यो वाक्य
ताप्लेजुङको विकास बहसमा उस्तै सान्दर्भिक छ।
जलस्रोत, पर्यटन, धार्मिक स्थल र
सिरिजङ्घा सभ्यताका सम्भावनाहरू—
दिकिछ्योलिङ गुम्बा,
सिन्जेमा, टिपताला,
भुतपोखरी, तिम्बुङ पोखरी,
फक्ताङलुङ, पाथीभरा,
कञ्चनजंघा सर्किट—
यी सबै उहाँका लागि केवल नक्सामा चिन्हित ठाउँ होइनन्,
यी उहाँको आत्मगौरवका प्रतीक हुन्।

शिक्षा, संस्कार र भविष्य
शिक्षालाई उहाँ विकासको मूल आधार ठान्नुहुन्छ।
राजनीतिक हस्तक्षेपले बिगारेका विद्यालयहरूलाई
सुधार्दै
शिक्षा, खेलकुद, सीप र संगीतलाई
एकीकृत गर्ने सपना उहाँले बोकेका छन्।

“सत्य बोल्ने र देश माया गर्ने संस्कार
प्राथमिक कक्षाबाटै सुरु हुनुपर्छ।”

२०८२ भदौको आन्दोलनपछि
सरकारी संरचनामा लागेको आगो देख्दा
उहाँको भनाइ अझै गहिरो भएर सम्झिएँ—
“यदि राज्य नागरिकको आफ्नै घर जस्तो लाग्थ्यो भने
कुनै भवन जल्दैनथ्यो।”

कृषि, असफलता र आत्मनिर्भरता
वरिष्ठ इन्जिनियर भएर पनि
उहाँले कृषिलाई जीवनको केन्द्रमा राख्नुभयो।
फलफूल खेती र बोयर बाख्रा पालनमा
ठूलो लगानी गर्नुभयो।
पहिलो प्रयास असफल भयो,
ठूलो घाटा पनि भयो।

तर उहाँले त्यसलाई
असफलता होइन,
पाठ भन्नुभयो।

“असफलता पनि बीउ हो,
जुन एकदिन अवश्य फुल्छ।”

संगीत — आत्माको अर्को भाषा
इन्जिनियर वीरेन्द्र श्रेष्ठको
अर्को सुन्दर परिचय हो— संगीत।

“घर हाम्रो लेकैमा”
देखि लिएर
“पिरिमको बाढी”,
“आउन माया”,
“घुम्न जाऔँ ओलाङचुङ गोला”,
र टंक भट्टराईको शब्दमा
“ताप्लेजुङको शिरैमा सेतो जुहार”—
यी गीतहरू
आज ताप्लेजुङको सामूहिक भावनामा बसिसकेका छन्।

यसै सन्दर्भमा
मेरो आफ्नै लिरिक्समा बनेको
“काबेलीको मिठा असला…”
गीतको सम्झना यहाँ अनिवार्य लाग्छ।
काबेलीको छेउछाउ हुर्किएका हामीजस्तै
उहाँ पनि काबेलीलाई
सिर्फ नदी होइन,
जीवन र सम्भावनाको प्रतीक मान्नुहुन्छ।
त्यही कारण होला—
संगीत, जलविद्युत र पहिचान
उहाँको जीवनमा एउटै धारमा बगेका छन्।

राजनीति: पद होइन, जिम्मेवारी
राजनीतिक पदको मोह उहाँमा कहिल्यै देखिएन।
तर समाज सुधारको आगो
सधैं बलिरह्यो।

नेपाल कांग्रेसको महाधिवेशन प्रतिनिधि भएर पनि
उहाँले आफ्नै पार्टीभित्रका
विकृति र भ्रष्टाचारविरुद्ध
खुला लेख लेख्नुभयो।
आज राष्ट्रिय स्वतन्त्र पार्टी
ताप्लेजुङ जिल्ला सभापतिको भूमिकामा रहँदा पनि
उहाँको धारणा स्पष्ट छ—
राजनीति सेवा हो, सौदा होइन।

उज्यालो बत्तीको सम्झना
३२ रुपैयाँ प्रतियुनिटको
डिजेल सिण्डिकेट अन्त्य गरी
ताप्लेजुङमा पहिलो पटक
ग्रिड बत्ती बल्दा
फुङलिङ साँच्चिकै नाचेको थियो।

धन्यवाद खोज्नु उहाँको स्वभाव होइन,
तर ताप्लेजुङबासी
आज पनि उहाँलाई
“बत्ती बाल्ने मान्छे” भनेर सम्झन्छन्।

अन्त्यमा — उज्यालो आत्मा
त्याग, समर्पण र परिश्रम—
यी तीन शब्द
इन्जिनियर वीरेन्द्र श्रेष्ठको जीवनको सार हुन्।

उहाँजस्ता मान्छे
भीडमा ठूलो आवाज निकाल्दैनन्,
तर समयसँगै
गहिरो उज्यालो छोडेर जान्छन्।

समय कसैको पर्खाइमा रोकिन्न,
तर समाजले
असल आत्मालाई कहिल्यै भुल्दैन।

म विश्वास गर्छु—
ताप्लेजुङको विकास,
युवाको भविष्य,
र जिल्लाको आत्मगौरव
यस्तै उज्यालो आत्माबाट
मात्र प्रज्वलित हुनेछन्।

*नवीन लाम्गादे ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका-८, दोखुका स्थायी बासिन्दा हुन् ।

यो पनि पढ्नुहोस्

जेनजी, रवि, हर्क, बालेन र आम परिवर्तनगामी देशवासीहरुलाई खुला पत्र

युवा राजनीतिक युगको स्वागतमा नेपाल

ब्रह्माण्ड, प्रकृति र चैतन्यका अन्तरभावहरु

जलवायु परिवर्तनको चपेटामा नेपाल : चुनौती, सचेतना र यसका समाधानका उपायहरु

भानु स्कुललाई फर्केर हेर्दा

के नेपालले सन् २०३५ सम्ममा २८५०० मेगावाट विद्युत् उत्पादन गर्न सक्छ ?

सिरिजंघा, तपाईं अनि म

पृथ्वी जयन्ती र क्रान्तिको सार

ताप्लेजुङको विकासको लागि इन्जिनियर वीरेन्द्रले देखे यस्तो सपना

नेपालका राजनीतिक दलको बिरासत अनि आजको आवश्यकता

नेपालका राजनीतिक दलप्रति जनताको दृष्टिकोण

प्राकृतिक विपद् र नेपालको अवस्था

आकाशिँदो मूल्यवृद्धि भित्रका शालिन नेपाली जनता

स्थानीय निर्वाचनप्रति नागरिकको झुकाव र हाम्रो आवश्यकता

स्थानीय निर्वाचन क्रान्तिको बिगुल कि रोजाइको जनप्रतिनिधि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !