२६ बैशाख २०८१, बुधबार

एकै मञ्चमा देखिए कविद्वय सरुभक्त र तीर्थ श्रेष्ठ


सरुभक्त र तीर्थ श्रेष्ठ

गण्डकी । कवि सरुभक्त र तीर्थ श्रेष्ठ शनिबार एकै मञ्चमा झुल्किए । पोखरामा जन्मेहुर्केका कविद्वयलाई नेपाली लेखक सङ्घ, गण्डकीले मञ्चस्थ गराएको हो ।

‘दौँतरी’ नाम दिइएको कार्यक्रममा सुरुभक्त र तीर्थले आफ्ना चर्चित कविता सुनाए । सरुभक्तले ‘सपनाले सिसौको बोटमा आत्महत्या गर्दैछ’, ‘चट्टानहरु’, ‘एक किलो अक्षर’, ‘बम खसेको पहाड’ बाटलगायत कविता सुनाए ।

तीर्थले ‘हिउँमा लेखिएका नामहरु’, ‘लाहुरे फूल म तिम्रो नाम फेर्न चाहन्छु’, ‘मातेको बेला’आदि प्रस्तुत गरे । सरुभक्तले तीर्थको कविता ‘आमा’ वाचन गरे । तीर्थले सुरुभक्तको ‘कसरी नाम दिउँ म तिमीलाई’ सुनाए ।

कविता पाठसँगै दुवैले सिर्जन–कर्मका अन्तरकुन्तर पनि खोले । विगततिर फर्किएर आफ्नै कविताका रचना गर्भ कोट्याए । उमेरले चार वर्षले तलमाथि भए पनि सुरुभक्त र तीर्थ पोखराका साहित्यिक दौँतरी हुन् । विसं २०१२ सरुभक्त र २०१६ तीर्थको जन्म वर्ष हो ।

उनीहरुको मित्रता भने ४५ वर्ष लामो छ । विसं २०३५ देखि तीर्थ र आफूबीच सङ्गत सुरु भएको सरुभक्तले बताए । ‘हिउँमा लेखिएका नामहरु’ कविता सुनाउँदै कवि तीर्थले सो कवितालाई सरुभक्तसँगको सम्बन्धको ‘स्मारक’का रुपमा अथ्र्याए ।

सरभक्तले पनि तीर्थको उक्त कवितालाई आफूहरुबीचको मित्रताको निशानीका रुपमा लिए । सरुभक्तसँगै विसं २०५५ तिर पञ्चासे–भञ्ज्याङ पुगेर फर्केपछि तीर्थले उक्त कविता लेखेका थिए ।

“पञ्चासेबाट फर्किँदा हिउँले बाटो सेताम्मे भएको थियो, गाउँलेले टेक्न दिएको लौरोले हिउँमा सुरुभक्तको नाम लेखेँ”, तीर्थले भने, “त्यो यात्राले कविता जन्मायो, कविता लेख्नै मलाई छ महिना लाग्यो ।” कवि तीर्थको उक्त कवितालाई छोटो तर शक्तिशाली मानिन्छ । साहित्यिक मञ्चमा उनले सुनाइरहने कवितामा पर्छ– ‘हिउँमा लेखिएका नामहरु’ ।

हिउँमा रमाउँदै पञ्चासेबाट फर्कँदाको तस्बिर अझै पनि आफूसँग सुरक्षित रहेको सुरुभक्तले बताए । संरक्षण कविता आन्दोलनताका आफूसँगै तीर्थ, विक्रम गुरुङ र अनिल रञ्चितकार पञ्चासे पुगेको उनले सम्झे । सुरुभक्तले तीर्थसँगको मित्रताबारे पोखराबाहिर पनि चर्चा हुने गरेको बताए । “कुनै विषयमा सहमति–असहमति हुनु बेग्लै कुरा भयो, नत्र हामीबीच जहिल्यै निःस्वार्थ र हार्दिक सम्बन्ध छ”, उनले भने ।

कवि तीर्थले सुरुभक्तसँग भेट भएपछि जीवनमा धेरै कुरा भेटिएको बताए । पोखरेली युवा सांस्कृतिक परिवारलाई आकार दिनेदेखि कैँयन साहित्यिक अभियान र सिर्जनात्मक काममा आफूहरु सँगसँगै रहेको उहाँले उल्लेख गरे ।

पोखरेली वाङ्मयिक जगतमा सरुभक्त र तीर्थ पर्यायवाची जस्तै छन् । दुवै पोखरामा रहेर पनि राष्ट्रियस्तरमा छवि उठाएका प्रतिभा हुन् । दुई घण्टा बढी चलेको कार्यक्रमको सहजीकरण सङ्घका अध्यक्ष डा. ईश्वरमणि अधिकारीले गरेका थिए ।

‘दौँतरी’ शृङ्खलाको शुभारम्भ दुई प्रसिद्ध कविबाट गर्न पाउँदा गौरवको अनुभूति भएको अध्यक्ष अधिकारीले बताए । ‘दौँतरी’को आउँदो भागमा दुई मुक्तककारलाई प्रस्तुत गर्ने सङ्घको तयारी छ । “वर्षमा दुई वटा शृङ्खला चलाउने सोचिरहेका छौँ”, अध्यक्ष अधिकारीले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !