२१ बैशाख २०८१, शुक्रबार

कविता – राजनीतिक वेस्यावृत्तिले नै दलाल जन्माउँछ


रामचन्द्र तिम्सिना

हिजो उसलाई लाल्छना लाग्यो वेस्याको,
आज उसलाई आरोप लाग्यो दलालको !
अनुहार फरक,
पेशा फरक ,
प्रवृती र शैली भने उस्ता उस्तै
त्यसैले त मेरो सानो छोरो प्रश्न गर्छ :-
बाबा बाबा दलाल र बेइमानी एकै होर ?

सामान्यतया यौवन बेच्नेलाई वेस्या भनिन्छ,
त्यही यौवनको सौदा गर्नेलाई दलाल भनिन्छ ।
तर आजभोली जमाना फेरिएको छ,
वेस्याको बरु होला इज्जत,
दलालहरुले इज्जत गुमाएको छ ।
त्यसैले त मेरो सानो छोरो प्रश्न गर्छ:-
बाबा बाबा नेताको अर्को नाम
दलाल पनि होर ?

वेस्याले जवानीको मोल गर्छ,
दलालले आमाको मूल्य तोक्छ ।
वेस्याले बरु आफ्नो घर-परिवार पाल्छ
तर दलालले भाको घर पनि बेच्छ ।
त्यसैले त मेरो सानो छोरो प्रश्न गर्छ :-
बाबा बाबा जुवाडे र जड्याहा भन्दा पनि दलाल तुच्छ होर ?

जड्याहा फरक हुन्छन्
जवानी सुम्पिने वेस्या फरक हुन्छन्
शरीर बेच्ने दलाल फरक हुन्छन्
त्यसैले त मेरो सानो छोरो फेरि प्रश्न गर्छ :-
बाबा बाबा यो राजनीतिक वेस्यावृत्ती भनेको के हो ?

स्वनिर्णय नभएको
इच्छा-आकांक्षा, लक्ष्य र उद्धेश्य अनि दर्शन र सिद्धान्तबाट भड्केको ।
नाफामुलक राजनीति गर्ने
नेतृत्वलाई राजनीतिक वेस्या भनिन्छ ।
यसपटक भने मेरो छोरोले बुझेछ क्यारे :-
कलम कापी फ्याँकेर भुतभुताउँदै बाहिरियो,
राजनितिक वेस्यावृत्तिले नै दलाल जन्माउँछ
राजनीतिक वेस्यावृत्तिले नै दलाल जन्माउँछ ।

रामचन्द्र तिम्सिना
(आवाज)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !