२५ बैशाख २०८१, मंगलबार

किसानलाई कृषि मल ढुवानीमा अनुदान


sahayog_help_Support_Money

गोरखा, २ जेठ । यहाँको आरुघाट गाउँपालिकाले किसानलाई राहत दिन कृषि मलको दुवानीमा अनुदान दिने भएको छ । गाउँपालिकाले पालिकाभित्रका कृषि सहकारी संस्थासम्म मल ढुवानीका लागि लाग्ने खर्च रकम अनुदान दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष पूर्ण दाहालले जानकारी दिनुभयो । “वैशाख २९ गते बसेको गाउँ कार्यपालिकाको बैठकले ढुवानीवापतको खर्च गाउँपालिकाले व्यर्होने निर्णय गरेको छ”, उहाँले भन्नुभयो, “गाउँपालिकाले कृषकलाई सदरमुकामकै भाउमा घरघरमा मल उपलब्ध गराउन यस्तो निर्णय गरेको हो ।”

किसानलाई मल ढुवानीमा अनुदान दिएपछि बजारमा हुने मलको कालोबजारीसमेत अन्त्य हुने अध्यक्ष दाहालले बताउनुभयो । “अब आरुघाट गाउँपालिकाका किसानले नारायणघाट वा वीरगञ्जकै भाउमा मल पाउँछन्”, उहाँले भन्नुभयो, “व्यापारीले मल ल्याएर कालोबजारी गर्ने समस्याको अन्त्य गर्न पनि सहकारीलाई मल ढुवानी खर्च दिने निर्णय गरिएको हो ।” अनुदानपछि लुकीछिपी सहकारीहरुले मनोमानी भाउमा मल बिक्री गर्नसमेत नपाउने अध्यक्ष दाहालको भनाइ छ ।

मल दुवानीका लागि पालिकाभित्र आवश्यक पर्ने मलको तथ्याङ्क सङ्कलनको काम शुरु गरिएको उहाँले बताउनुभयो । “सबै वडाध्यक्षलाई आफ्नो वडामा आवश्यक पर्ने मल कति हो त्यसको विवरण सङ्कलन गर्न भनिएको छ”, अध्यक्ष दाहालले भन्नुभयो, “वडाबाट विवरण प्राप्त भएपछि त्यसैका आधारमा कृषि सहकारलाई दुवानीवापतको अनुदान रकम उपलब्ध गराउने छौँ ।” गाउँपालिकाले पालिकाभित्र करिब एक हजार ५०० बोरा मल आवश्यक पर्ने अनुमान गरेको उहाँले बताउनुभयो ।

ढुवानीमा अनुदान दिएपछि कृषकले प्रति अब करिब रु ९५० मा घरघरमै रासायनिक मल पाउने गाउँपालिकाले जनाएको छ । अहिले आरुघाट गाउँपालिका क्षेत्रमा सोही दरको मललाई कृषकले रु एक हजार ६०० सम्म तिर्नुपरेको गुनासो आएको अध्यक्ष दाहालले बताउनुभयो । “ढुवानीमा अनुदान दिएपछि मलको भाउमा एकरुपता कायम हुन्छ, उहाँले भन्नुभयो, “पालिकाभित्रका नागरिकको व्यापक जनगुनासोपछि गाउँपालिकाले कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !