१८ बैशाख २०८१, मंगलबार

जङ्गली जनावरले सखाप पारे हिउँदे बाली


gahuu

जलेश्वर । महोत्तरी जिल्लाका विभिन्न स्थानीय तहमा किसानले लगाएका लाखौँ रुपैयाँ बराबरको हिउँदे बाली जङ्गली जनावरले सखाप पारेको छ । जिल्लाका मटिहानी, भङ्गहा, जलेश्वर, मनरासिस्वा, बलवा, लोहारपट्टि र गौशाला नगरपालिकासहित पिपरा, एकडारा, सम्सी, सोनमा गाउँपालिकामा केही दिनदेखि हुलका हुल जङ्गली जनावर आएर खेतबारीमा लगाइएका हिउँदे बाली सखाप पारेको स्थानीय किसानले जानकारी दिएका छन् ।

ती स्थानीय तहका विभिन्न क्षेत्रका सयौँ बिघा क्षेत्रफलमा लगाइएका तरकारी, दलहन, तेलहन, गहुँ बाली र फलफूल जङ्गलबाट आएका नीलगाई, घोरगद्दर र जङ्गली सुँगुरहरुले सखाप बनाएको मटिहानीका किसान रामबाबु नायकले बताउनुभयो । दिनभरि वन क्षेत्रमा लुकेर बस्ने र राति दर्जनाँैको सङ्ख्यामा आएर ती जनावरले बालीनाली खाइदिने र खेतबारीसमेत खनेर तहसनहस गर्ने गरेको सम्सीका किसान विपीनविहारी यादवले जानकारी दिनुभयो ।

ती जनावरलाई धपाउन स्थानीयवासीले समूह बनाएर राति जाँदा जनावर मानिसको आभास पाउनेबित्तिकै वनतिर भागेर लुक्ने गरेको छ । पछि पुनः किसान फर्किसकेपछि जनावर आएर खेतबारी चर्ने गरेको मनरासिस्वाका किसान रवीन्द्र भगतले बताउनुभयो ।

जङ्गली जनावरको आतङ्कले अहिले जिल्लाका किसानले हिउँदे बालीबाट कमाइ हुने लाखौँ रुपैयाँ गुमाएको गुनासो गरेका छन् । जनावरले एक्लै पाएका खण्डमा आक्रमणसमेत गर्ने गरेकाले एकाबिहानै बालबालिकालाई पनि घरबाहिर निकाल्न नसक्ने भएको एकडाराका किसान नागेन्द्र मण्डलले जानकारी दिनुभयो ।

जिल्लाका विभिन्न वन, जङ्गल र खोला किनारामा रहेका ठूलठूला घाँसपातमा ती जनावर समूह बनाएर बस्ने गरेका छन् । रातिको मौका छोपी हिउँदे बाली चरीचरन गरी सखाप पार्ने गरेकाले किसानलाई वर्षभरिलाई पुग्ने खाद्यान्न जोगाउन हम्मेहम्मे परेको छ ।

आफ्नो लाखौँको बालीको क्षति सहन बाध्य भएको जलेश्वर उद्योग वाणिज्य सङ्घका महासचिव शिवचन्द्र चौधरीले बताउनुभयो । क्षतिका बारेमा स्थानीय तहलाई मौखिक र लिखित जानकारी गराइए पनि सहयोग नपाएको किसानको गुनासो छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !