१४ बैशाख २०८१, शुक्रबार

भारतबाट नेपालका ३ जिल्लामा सलह किरा गर्‍यो प्रवेश


सलह किरा नेपाल प्रवेश

काठमाडौँ, असार १३ । नेपालमा सलह किरा प्रवेश गरेको छ । भारतसँग सीमा जोडिएका ३ जिल्लाहरु पर्सा, बारा र सर्लाहीका केही ठाउँमा शनिबार बिहान सलह कीराका समूह देखिएको हो । बारा, पर्सा र सर्लाहीमा शनिबार बिहान सहलको झण्ड भारतबाट प्रवेश गरेको कृषि मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुख सहदेव हुमागाईँले जानकारी दिएका छन् ।

बाराको डुमरवाना सहितका २ स्थान, पर्साको पर्सागढी तथा सर्लाहीको नलवपुर क्षेत्रमा शनिबार बिहान ७ देखि ८ बजेको वीचमा सहलको झुण्ड भारतबाट प्रवेश गरेको जानकारी आएको छ । कस्तो खालको सहल हो र संख्या कति छ भन्ने थाहा पाउनका लागि स्थानीय विज्ञहरु सो क्षेत्रमा गएका छन् ।

मरुभूमि सलह हो वा अरु प्रकारको सहल हो भन्ने यकिन नभएको र यसबारे अध्ययन गरेपछि मात्रै थाहा हुने प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रले बताएको छ । नेपाल छिरेका सलहहरु अहिले रुख तथा जमिनमा बसेको जानकारी आएको छ । पश्चिमबाट पूर्वतिर बहेको हावा केही दिनअघि अचानक दक्षिणबाट उत्तरतिर बहेकाले सहलको झुण्ड तितरवितर भएर नेपाल आएको हुन सक्ने केन्द्रले अनुमान गरेको छ ।

सलह प्रवेश गरेको तथा यसपछिको कार्ययोजनाबारे आजै शनिबार दिउँसो मन्त्रालयमा छलफल हुने भएको छ । केही समयअघि अफ्रिका हुँदै भारतसम्म आएको सलहको हुल नेपाल पनि प्रवेश गर्न सक्ने सम्भावना रहेको भन्दै कृषि मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको थियो । सो कार्यदलले बनाएको कार्ययोजना अनुसार नै अब काम हुने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !