१३ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री ओलीको ‘युवराज मोह’ : अझ शक्तिशाली बनाउँदै नयाँ भूमिका दिदै


केपी शर्मा ओली र डा. युवराज खतिवडा

काठमाडौँ, भदौ २४ । प्रधानमन्त्री केपी शर्मा ओलीको निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा प्रतिको मोह धेरै नै रहेको विगत र वर्तमानका कतिपय दृष्टान्तले प्रष्ट आँकलन गर्न सकिन्छ । पार्टीले बामदेव गौतमलाई राष्ट्रियसभामा लैजानुपर्छ भन्नेको बहुमत हुने संकेत देखेपछि प्रधानमन्त्री ओलीले मन नहुँदा नहुदै पनि आफैले बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने प्रस्ताव गर्न बाध्यभए ।

राष्ट्रियसभाको रिक्त एक पदमा सत्तारुढ दल नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई सरकारले सिफारिस गर्ने निर्णयमा पुगेको जानकारी प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकमा गराएका थिए । नेकपा सचिवालय बैठकले बिहीबार मात्र राष्ट्रियसभामा गौतमलाई सिफारिस गर्ने निर्णय गरेको थियो । नेकपाको यो निर्णयसँगै खतिवडाको संसद बन्ने बाटो बन्द भएको थियो । तत्कालका लागि संसद बन्ने बाटो बन्दै भएसँगै उनले मन्त्री पद समेत राजीनामा दिए । प्रधानमन्त्री केपी ओलीले अहिलेसम्म अप्ठ्यारो बेला सरकारमा बसेर काम गरेकोप्रति अर्थमन्त्री खतिवडालाई धन्यवाद दिएका थिए ।

प्रधानमन्त्री ओलीको युवराज मोह

‘टेक्नोक्र्याट’ खतिवडा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष भइसकेका अनुभवी बिश्वास पात्रको बिज्ञतालाई प्रधानमन्त्री अझै पनि गुमाउन चाहदैनन् । खतिवडाको बहिर्गमन कोरोनाका कारण उत्पन्न देशको अत्यन्त प्रतिकुल आर्थिक अवस्थाका बीच भएकोले देश एउटा गम्भीर आर्थिक समस्यासँग जुध्दैछ ।

खतिवडाले अर्थ मन्त्रालयलाई व्यवसायिक मर्यादामा राख्न जोडबल गरिरहे । खतिवडाले सुरुबाटै नेपालको वैदेशिक व्यापारको असन्तुलनलाई सम्वोधन गर्ने प्रयास गरेका थिए । पहिलो वर्षबाटै उनले विदेशबाट भित्र्याइने बिलासी वस्तुहरुमा उच्च कर लगाउने र स्वदेशबाट बाहिर जाने वस्तुहरुलाई विभिन्न सहुलियत दिने रणनीति लिएका थिए । यो नीतिको असर नेपालको वैदेशिक व्यापार सन्तुलनमा देखिएको छ ।

अर्थमन्त्रीको जिम्मेवारीबाट अलग भएपनि डाक्टर खतिवडा अहिलेको सरकारमा शक्तिशाली भूमिकामा रहने सन्देश प्रधानमन्त्री केपी ओलीले नेकपाका अर्का अध्यक्ष प्रचण्डलाई दिएको स्रोतको दावी छ । प्रधानमन्त्री ओलीको बुझाईमा नेकपामा खतिवडा बाहेक देशको अर्थतन्त्र बुझेको र दात्तृ निकायहरुसँग सम्वन्ध भएको परिपक्क मान्छे अर्को व्यक्ति नै नभएको स्रोतको दावी छ । ‘त्यसो हुँदा खतिवडा नभए अर्थ मन्त्रालयको जिम्मेवारी मै सम्हाल्छु,’ प्रधानमन्त्री ओलीले प्रचण्डलाई दिएको सन्देश यही थियो।

प्रधानमन्त्री ओलीले भदौ २१ गते आइतबार साँझ अर्थमन्त्रीका रुपमा जिम्मेवारी सम्हालेको पर्सिपल्ट बालुवाटारमा उद्योगी व्यवसायीहरुलाई बालुवाटारमा बोलाएका थिए । प्रधानमन्त्रीले बोलाएको भेलामा राजीनामा दिइसकेका निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा समेत उपस्थित थिए । प्रधानमन्त्री ओलीले आइतबार साँझ डा. खतिवडालाई पनि साथैमा राखेर ठूला उद्योगी-व्यवसायीका ३ वटा संगठनका प्रतिनिधिहरुका कुरा सुन्नुको साथै खतिवडाको आगामी भूमिकाका सम्बन्धमा पनि प्रधानमन्त्रीले उद्योगी व्यवसायीहरुलाई नयाँ सूचना दिएको बुझिएको थियो ।

अझ शक्तिशाली बनाउँदै नयाँ भूमिका दिदै

निवर्तमान अर्थमन्त्री खतिवडालाई प्रधानमन्त्री ओलीले आफ्नो प्रमुख सल्लाहकार बनाउन चाहेको चर्चा परिचर्चा शुरु भएको छ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकार भएर प्रधानमन्त्रीलाई हरेक किसिमले सहयोग गर्ने खतिवडाको सचिवालय स्रोतले बताएको थियो । खतिवडा निकट स्रोतका अनुसार केही समय अर्थ मन्त्रालय प्रधानमन्त्रीले नै राख्ने र उनले सल्लाहकारको रूपमा काम गर्ने सम्भावना पनि छ । अर्थमन्त्री निकट स्रोतका अनुसार उनी कुनै पनि देशको राजदूत बनेर नजाने बुझिएको छ ।

प्रधानमन्त्री जसरी पनि खतिवडालाई अर्थ मन्त्रालयको काम हेर्न मिल्ने गरी जिम्मेवारी दिने लगाउने पक्षमा देखिएका छन् । त्यसैले गर्दा प्रधानमन्त्री ओलीले अर्थ मन्त्रालय आफैसँग राखी डा. खतिवडालाई सल्लाहकारका रुपमा राखेर चलाउन योजनामा रहेको बुझिएको छ । खतिवडालाई नै अर्थमन्त्री बनाउने उपायबारे पनि ओलीले छलफल गरेको बुझिएको थियो । यसका लागि उनले कानुनी परामर्श समेत गरेका छन् । अर्थमन्त्रीमा खतिवडा रहन संविधान बाधक भएपनि उनैलाई छायाँ अर्थमन्त्री राखेर चलाएर ओलीले देखाउने बुझिएको पनि छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले खतिवडालाई मुख्य सल्लाहकारका रुपमा नियुक्त गर्न खोजेका छन् । प्रधानमन्त्रीको चाहना केहि दिनमा नै खतिवडालाई आफ्नो मुख्य सल्लाहाकार नियुक्त गर्ने हो । तर तत्कालका लागि त्यसमा एउटा समस्या अहिलेका मुख्य सल्लाहाकार विष्णु रिमाललाई के गर्ने भन्ने विषय आएको स्रोतको दावी छ । रिमाललाई अन्य नियुक्ति लगायतका व्यवस्थापनबाट तत्काल मनाउन सक्दा खतिवडा केही दिनभित्रै अर्थमन्त्री भन्दा अझ बढी शक्तिशाली भएर उदाउने स्रोतको दावी छ ।

प्रधानमन्त्री ओलीलाई पार्टी र सरकारमा अहिले सबैभन्दा ठूलो साथ मुख्य सल्लाहाकारका रुपमा रहेका विष्णु रिमालले दिइरहेका छन्। कतिपय ठाउँ र सन्दर्भमा रिमाललाई छायाँ प्रधानमन्त्रीका रुपमा समेत टिप्पणी गर्ने गरिन्छ । अर्थ मन्त्रालयको जिम्मेवारी समेत वहन गरेका कारण खतिवडालाई आर्थिक सल्लाहाकार मात्र बनाउँदा प्रधानमन्त्रीको चाहना अनुसार खतिवडाको छवि ठूलो नदेखिने हुँदा ओली खतिवडालाई मुख्य सल्लाहकार नै बनाउने मुडमा छन् । त्यसो गर्दा रिमाललाई मुख्य सल्लाहकारबाट हटाउनुपर्ने हुन्छ । रिमाललाई मुख्य राजनीतिक सल्लाहकारका रुपमा व्यवस्थापन गर्न सकिने वा अमेरिकाका लागि राजदूत नियुक्त गर्न सकिने सम्भावना ओली निकट नेताहरु देखाएका छन् ।

बामदेव गौतमलाई उचालेर अर्थमन्त्रीको जिम्मेवारीबाट रातारात हटाउन बाध्य बनाउनेमा बालुवाटार किचेन क्याबिनेटका प्रभावशाली ३ जना कमरेडहरूको हात रहेको खतिवडाको बुझाई रहेको छ । तर खतिवडाको बारेमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली बाहेक बालुवाटारको किचेन क्याबिनेटका अन्य सदस्यहरु नेपालमै कुनै जिम्मेवारी दिन अनिच्छुक देखिएकाले यसै होला भन्न नसकिने स्थिति पनि सिर्जना हुनसक्ने पनि प्रशस्तै सम्भावना पनि रहेको छ ।

आफ्नो अनौपचारिक अभिव्यक्ति सान्त्वना दिएका निकटस्थले नै बालुवाटार पुर्याएपछि खतिवडाले मनस्थिति बदलेको आँकलन गरिएको छ । तर हिजोदेखि झण्डाबिना उनको चाहना बालुवाटारमा भन्दा सात समुन्द्रपारीको जिम्मेवारी राजदुततिर ढल्किएको पनि बताइन्छ । प्रधानमन्त्री ओलीको ‘युवराज मोह’ ले नेकपाको राजनीतिक समीकरणमा कस्तो असर पार्छ त्यसको लागि आगामी दिनका घटनाहरुले बताउने नै छन् ।

यो पनि पढ्नुहोस्

खतिवडा अर्थमन्त्रीवाट बिदाइ भएपछि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बन्ने चर्चा

अर्थमन्त्रीमा डा. युवराज खतिवडा दोहोरिने सम्भावना न्यून

बामदेव गौतम राष्ट्रियसभामा जान तयार : युवराज खतिवडाको पद डेन्जर जोनमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !