७ बैशाख २०८१, शुक्रबार

बामदेव गौतम राष्ट्रियसभामा जान तयार : युवराज खतिवडाको पद डेन्जर जोनमा


वामदेव गौतम र डा. युवराज खतिवडा

काठमाडौं, भदौ १५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफू राष्ट्रियसभामा जान तयार भएको उनको सचिवालयले जानकारी दिएको छ । उनलाई राष्ट्रिय सभामा मनोनित गर्ने नेकपाको पूर्वनिर्णय कार्यान्वयन गर्न उनले प्रधानमन्त्री केपी ओलीसँग आग्रह गरेका छन् ।

नेकपाले गत फागुनमै उनलाई राष्ट्रियसभामा लैजाने निर्णय गरिसकेको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओली भने अर्थमन्त्री डा. युवराज खतिवडालाई राष्ट्रियसभामा पुनः लैजाने सोचमा छन् । प्रधानमन्त्री ओली डा. खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिने पक्षमा देखिएका छन् ।

यसअघि नै गौतम प्रतिनिधि सभामा जाने निश्चित भइसकेकाले खतिवडाले नै निरन्तरता पाउने ओलीको तर्क छ । शनिबार एक टेलिभिजन अन्तर्वार्तामा पनि ओलीले खतिवडाले राम्रो काम गरेको भन्दै उनलाई नै निरन्तरता दिने संकेत गरेका थिए ।

तर, गौतमले फेरि राष्ट्रिय सभामा जाने निर्णय कार्यन्वयन गर्न चेतावनी दिएसंगै प्रधानमन्त्री ओलीको योजनामा धक्का लाग्ने संकेत देखिएको छ भने सरकारका प्रवक्ता एवम् अर्थ र सूचना तथा सञ्चार मन्त्रीको डा. युवराज खतिवडाको पद डेन्जर जोनमा परेको छ ।

नेकपाभित्रको वर्तमान विकसित घटनाक्रमले खतिवडाको पद ‘डेन्जर जोन’ मा परेको छ । संवैधानिक रुपमा भदौ २० भित्र राष्ट्रियसभा सदस्य मनोनित भइसके मात्रै मन्त्रीका रुपमा निरन्तरता दिन सक्ने बाध्यकारी अवस्थामा रहेका खतिवडाको मनोनयन नै अन्योलमा परेपछि उनी ‘डेन्जर जोन’मा परेका हुन् ।

सरकारले राष्ट्रियसभामा रिक्त रहेको एक पदमा भदौ २० भित्र नियुक्ति कसलाई गर्नेछ भन्ने चासोका बीच उपाध्यक्ष बामदेव गौतमको नाम फेरि चर्चामा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई नै निरन्तरता दिन चाहेपनि पार्टीभित्र बामदेव गौतमलाई नै राष्ट्रियसभामा लैजानुपर्ने मत बलियो बन्दै गएको छ ।

पार्टी स्रोतका अनुसार पछिल्लो केही दिनयता कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहित वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालबीच गौतम नै राष्ट्रिय सभामा जानुपर्ने विषयमा छलफल भएको हो । प्रचण्ड, नेपाल र खनालले यस विषयमा गौतमसँग पनि छलफल गरेको र सो क्रममा गौतमले पार्टीले निर्णय गरेको खण्डमा आफू राष्ट्रिय सभामा जान तयार रहेको बताएका छन् ।

गौतमको सचिवालयका अनुसार उनी राष्ट्रियसभामा जान तयार भएका छन् । गत वैशाख २० गते बसेको नेकपा सचिवालय बैठकमा गौतमले उपयुक्त समयमा प्रधानमन्त्री बनाउने आश्वासन पाएपछि राष्ट्रियसभामा नजाने सोच बनाएका थिए ।

उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसमभा उम्मेदवार बनाउने र प्रतिनिधिसभामा प्रवेश गरेपछि प्रधानमन्त्री बनाउने विषयमा सचिवालयमा समझदारी बनेपनि अहिले अवस्था अनुकुल नरहेको निष्कर्षका साथ गौतम फेरि राष्ट्रियसभामा जान तयार भएको बताइएको छ ।

बामदेव जागेपछि नेकपामा फेरि विवाद बढ्ने संकेत देखिएको छ । पछिल्लो समय नेकपाभित्र विवाद चर्किएपछि समस्या समाधान स्वरुप गठन भएको कार्यदलले हालैमात्रै प्रतिवेदन बुझाएको छ । सो प्रतिवेदनमा आन्तरिक सहमति र नयाँ शक्ति सन्तुलनमा जोड दिइएको छ ।

डा. युवराज खतिवडाको कार्याकाल सकिएका कारण विगत ६ महिनादेखि राष्ट्रिय सभामा एक सीट रिक्त छ । नेकपाले सचिवालयको भदौ १८ गतेको बैठक बोलाइएको छ । सो बैठकमा राष्ट्रियसभामा कसलाई लैजाने भन्नेबारे निश्चित गर्नेछ ।

यो पनि पढ्नुहोस्

हात्ती आयो हात्ती आयो फुस्स : वामदेवको थप बिजोग

वामदेवलाई प्रतिनिधि सभामा लैजाने नेकपा सचिवालयको निर्णय

गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन सरकारलाई अनुरोध गरिने

संविधान संशोधन गरेर प्रधानमन्त्री बन्ने योजना बनाएका वामदेव गौतम यस कारण शक्तिशाली !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !