३ बैशाख २०८३, बिहिबार

जलविद्युत् आयोजनाको मुआब्जाप्रति आपत्ति


Nepalpatra

१९ असोज, दमौली । तनहुँ जलविद्युत् आयोजनाले अधिग्रहण गर्ने थप जग्गाको मुआब्जामा स्थानीयवासीले आपत्ति जनाएका छन् । आयोजनाको बाँधमा जाने प्रवेश मार्ग र ठेकेदारका लागि आवश्यक पर्ने व्यास नगरपालिका–५ बेतनीको जग्गाको मुआब्जाप्रति आपत्ति जनाइएको हो ।

आयोजना प्रभावित सङ्घका तर्फबाट अध्यक्ष तेजराज थपलियाले विज्ञप्ति जारी गर्दै मुआब्जा निर्धारण समितिले गरेको निर्णय आफूहरुलाई मान्य नहुने बताउनुभएको छ । जिल्ला मुआब्जा निर्धारण समितिले जग्गाको प्रकृति हेरेर प्रतिरोपनी रु साढे नौ लाखदेखि २० लाखसम्म मूल्य निर्धारण गरेको थियो । पहिरामा परेको जग्गाका लागि प्रतिरोपनी रु दुई लाख ४० हजार निर्धारण भएको थियो ।

विज्ञप्तिमा परापूर्वकालदेखि चलिआएको १५ फुटे बाटोमा पर्ने घडेरीयुक्त जग्गाको वास्तविक मूल्य प्रति आना झण्डै रु १० लाख हुनुपर्नेमा मुआब्जा निर्धारण समितिले हचुवाका भरमा मूल्य निर्धारण गरेको जनाइएको छ । साथै छ वर्ष अगाडि बाटो नभएको साविक काहुँशिवपुर गाविसमा परेको जग्गालाई प्रति आना आयोजनाले रु तीन लाखका दरले खरिद गरेको र अहिले आफूहरुको जग्गाको मूल्य भने एकदमै न्यून निर्धारण गरेको विज्ञप्तिमा भनिएको छ । एक सय ४० मेगावाट क्षमताको आयोजनाका लागि व्यास नगरपालिका– ५ मा थप ५० रोपनी जग्गालाई रु आठ करोड विनियोजन भएको छ ।

बन्दीपुरको गुरुयोजना

पर्यटकीय नगरी बन्दीपुर गाउँपालिकाको दीर्घकालीन गुरुयोजना बन्ने भएको छ । ऐतिहासिक नगरी बन्दीपुरको विकास गर्न गाउँपालिकाले दीर्घकालीन गुरुयोजना बनाउन लागेको हो । त्यसका लागि हेमराज लामिछानेलाई अध्यक्षमा नियुक्त गरिएको छ । गाउँपालिकाका प्रमुख पूर्णसिं थापाले सरोकारवालासँग समन्वय गरी गुरुयोजना बनाइने बताउनुभयो ।

“बन्दीपुर नेपालकै मात्रै नभई विदेशमा समेत प्रख्यात पर्यटकीयस्थल हो”, उहाँले भन्नुभयो । यसको थप विकासका लागि दीर्घकालीन गुरुयोजना बनाउन आवश्यक छ । गाउँपालिकाका प्रमुख थापाका अनुसार बन्दीपुरवासीको सञ्जाललाई सक्रिय बनाई उनीहरुको आर्थिक, भौतिक तथा बौद्धिक क्षमता बन्दीपुरको विकासमा प्रयोग गरिने जानकारी दिनुभयो ।

गाउँपालिकाले बन्दीपुरको पर्यटन विकासका लागि रानीवन क्षेत्रमा दृष्यावलोकन स्तम्भ निर्माणका लागि प्रक्रिया अगाडि बढाइसकेको छ । भ्युटावरबाट धौलागिरिदेखि लाङ्टाङसम्मका आठ हजार उचाइभन्दा माथिका हिमाल देख्न सकिन्छ । बन्दीपुरमा मानव निर्मित तालको निर्माणसमेत अगाडि बढाइएको छ । उक्त तालको विसं २०६८ साउन ४ गते तत्कालीन उपराष्ट्रपति परमानन्द झाले शिलान्यास गर्नुभएको थियो । सो मानवनिर्मित ताल नेपालकै पहिलो ताल हुने बताइएको छ । त्यहाँको गैराबारीमा बन्ने ताल १५ रोपनी क्षेत्रफलमा फैलिनेछ ।

दमौलीमा सभाकक्ष

सदरमुकाम दमौलीमा रु २४ करोडको लागतमा सुविधा सम्पन्न सात सय ५० जना क्षमताको सभाहल बन्ने भएको छ । व्यास नगरपालिका–३ को पुरानो सभागृह भत्काएर सोही ठाउँमा नयाँ सभागृह निर्माण गर्न लागिएको हो ।

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय गोरखाले निर्माण गर्ने भवनको लागत भ्याटबाहेक रु २३ करोड ६२ लाख ४३ हजार ३३१ छ । सभाहल निर्माणको ठेक्का डाँफे÷एमए÷प्रतिष्ठा जेभी काठमाडाँैले पाएको छ । सभाहल विसं २०७७ असार १५ गतेसम्म निर्माण सम्पन्न हुने डिभिजन कार्यालय गोरखाले जनाएको छ । त्यहाँ २० कार तथा ७० वटा मोटरसाइकल पार्किङ गर्न सकिने स्थल बनाइनेछ । मुख्य हलबाहेक १५० क्षमताको सेमिनार कक्ष हुनेछ ।

आदिवासी महोत्सव

आदिवासी जनजातिको कला, संस्कृति, भाषा संरक्षण र उत्थानका लागि आगामी कात्तिक ३० गतेदेखि मङ्सिर १० गतेसम्म दमौलीमा तेस्रो आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव हुने भएको छ ।
नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँले महोत्सव आयोजना गर्न लागेको हो । महोत्सव मूल समारोह समितिका संयोजक अध्यक्ष वसुन्धरा घर्तीले अमूल्य भाषा संस्कृतिको संरक्षण गर्दै पर्यटनको विकास गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको जानकारी दिनुभयो । ६५ प्रतिशत आदिवासी बसोबास गर्ने तनहुँमा आदिवासी महोत्सवको शुरुआत महासङ्घले नै गरेको थियो ।

अध्यक्ष घर्तीले भन्नुभयो, “जनजाति बाहुल्य क्षेत्र भएकाले सांस्कृतिक प्रवद्र्धन गरी पर्यटन व्यवसायको विकास गर्न महोत्सव अवधिभर विविध संस्कृति झल्कने सांस्कृतिक प्रदर्शन गरिनेछ ।” महोत्सवमा विभिन्न २३० प्रदर्शनी कक्ष रहने आयोजकले जनाएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !