१९ जेष्ठ २०८३, मंगलबार

वर्षा घट्यो, विस्तारै तराईमा तातो बढ्दै


तराईमा तातो

काठमाडौँ । विभिन्न प्रणालीले मौसममा बदली भएपछि पछिल्लो तीन दिन ठाउँठाउँमा वर्षा भएकाले तापक्रम घटेपछि अब विस्तारै फेरि तातो बढ्ने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार तीन दिनको अभिलेखमा नेपालमा अधिकतम तापक्रम ३७ डिग्रीबाट माथि नचढेकामा अब फेरि तापक्रम विस्तारै उकालो लाग्ने भएको छ । आजबाटै वर्षा कम भएकाले तराईका केही क्षेत्रमा तातो लहर बढ्ने बताइएको छ । आज भैरहवामा अधिकतम तापक्रम ३७.५ डिग्री पुगेको छ ।

अहिले राति १०ः०० बजेको ताजा अवस्थामा पछिल्लो एक घण्टामा देशको कुनै पनि ठाउँमा वर्षा भएको छैन । पछिल्लो २४ घण्टामा पनि दैलेखलगायत केही जिल्लामा हल्का वर्षा भए पनि अन्य क्षेत्रमा खास वर्षा रोकिएको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार जेठ १९ गते मधेस प्रदेशमा तथा कोशी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको छ ।

देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने छ । तराई भू–भागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली र पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन-चट्याङसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेको छ । 

बुधबार देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने तथा तराई भू–भागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली र पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन-चट्याङसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेको छ ।

मधेस प्रदेशमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको विभागले आज साँझ बुलेटिन जारी गरी जानकारी दिएको छ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !