काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले अनुसन्धान र नवप्रवर्तनमा लगानी बढाउन हरसम्भव प्रयत्न गरिरहेको बताएका छन्।
यहाँस्थित इजरायली राजदूतावासमा मंगलबार अपराह्न ‘इजरायल साइबर तथा कृत्रिम बौद्धिकता’ विषयमा आयोजित कार्यक्रममा उनले वर्तमान सरकारले नवप्रवर्तन र अनुसन्धानलाई उच्च प्राथमिकता दिएर बेग्लै मन्त्रालयसमेत स्थापना गरेको बताए।
‘सम्माननीय प्रधानमन्त्री अनुसन्धान र नवप्रवर्तनका माध्यमबाट नै राष्ट्रलाई समृद्धिको मार्गमा अग्रसर गराउनुपर्छ भन्नेमा दृढ हुनुहुन्छ,’ सरकारले पहिलोपटक पुँजीगत खर्चको एक प्रतिशत रकम अनुसन्धान तथा नवप्रवर्तनका लागि छुट्याएको जानकारी दिँदै मन्त्री पुनले भने।
कृत्रिम बौद्धिकता, साइबर सुरक्षा, ड्रोन, कृषि तथा जैविक चिकित्सा इन्जिनियरिङलगायत क्षेत्रमा नवप्रवर्तन केन्द्र स्थापना गर्ने सरकारको योजना रहेको उनले बताए।
नेपालका लागि इजरायली राजदूत श्मुलिक एरी बासले साइबर सुरक्षा र कृत्रिम बौद्धिकता क्षेत्रमा इजरायलले हासिल गरेको अनुभव प्रस्तुत गर्दै ज्ञान आदानप्रदान तथा संस्थागत साझेदारीमार्फत नेपालसँग प्रविधि र नवप्रवर्तनको क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ।
त्यस अवसरमा चार सदस्यीय इजरायली प्रतिनिधिमण्डलले इजरायल–नेपाल सम्बन्धबारे चर्चा गर्दै कृत्रिम बौद्धिकता र नवप्रवर्तनका विविध आयामबारे जानकारी दिएको थियो। नेपालको भौगोलिक बनोट र अनुकूल मौसमका कारण नेपाललाई साइबर सुरक्षाको केन्द्रका रूपमा विकास गर्न सकिने प्रतिनिधिमण्डलको भनाइ थियो।















